कर्णाली प्रदेशको आशा केन्द्र चीन सीमा हिल्सा पुग्यो शसस्त्र

श्याम भट्ट

डडेल्धुरा

हुम्लाको नारालेकमा बदलिँदो मौसमबीच शुक्रबार पनि हिमपात भयो। पञ्चमुखी हिमाल र रलिङ हिमाल सेताम्मे भएका छन्। सदरमुकाम सिमीकोटमा चिसो त बढ्ने नै भयो, उसो त बाह्रै महिना चिसोको सामना गर्ने बानी परिसकेको छ यो हिमाली सदरमुकामलाई।

सिमीकोट विमानस्थल धावनमार्गको उत्तर हिमाली भीरमा दाँया बाँया तन्केको सदरमुकामबाट बाँयातीर एउटा हिमाली राजमार्ग चीनको सीमाना हिल्सातिर लम्कीन्छ। दुई वर्षअघि हिल्सा पुगेको यो कर्णाली करिडोर अहिले नारालेकको हिमपातले बन्द छ।

हुम्ला लगायत समग्र कर्णालीको आशलाग्दो भविष्यसँग जोडिएको यो करिडोरको अहिलेसम्म औपचारिक  उद्घाटन भने भएको छैन। नाराको हिँउ सफा गर्ने हो भने हिल्सासम्मै  जिप, ट्रयाक्टर र टिपर पुग्ने गरेका छन्।

सदरमुकामबाट १ दिनको पैदल दुरीमा पर्ने क्याथरा भीरमा काम बाँकी छ भने यारी गाउँ मााथि रहेको नारा तिर हिँउले अहिले बाटो पुरेको छ।

कुरो आएको छ सीमा सुरक्षाको त यी अप्ठ्यारा भीर र लेकले रोक्ने कुरै भएन। सरकारको चीन र भारत सीमामा बोर्डर आउट पोष्ट बनाउने योजनामा एक डफ्फा शसस्त्र प्रहरी पहिलो पटक गत साता ४ हजार ५ सय ३० मीटर उचाँईको नारालेक काटेर नेपाल चीन सीमा हिल्सा पुगेको छ । यसै साता बोर्डर आउट पोष्ट उद्‌घाटन गर्ने कार्यक्रम शसस्त्र प्रहरीको रहेको छ ।

शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हिल्सामा  रहने बोर्डर आउट पोष्टमा ३५ जना रहने छन्। पहिलो दिन क्याथरा र अर्को दिन यारी गाँउमा बास बसी तीन दिनमा शसस्त्रको टोली हिल्सा पुगेको हो।

दुई वर्षअघि सिमीकोट पुगेको शसस्त्र प्रहरी वल नेपाल नम्बर ४४ गुल्मका गुल्मपति डिएसपी मोहन बिष्टको नेतृत्वमा हिल्सा पुगेको शसस्त्रले हाललाई कुन्साङ लामाको घर भाडामा लिएर काम शुरु गर्नेछ। ५० जति घर रहेको हिल्सा हुम्लाको अन्तिम सीमा रहेको गाँउ पनि हो। यो साताबाट स्थायी रुपमा अब चीन सीमामा शसस्त्रको पहरा हुने छ। आफ्नै नयाँ भवनका लागि पनि हिल्सामा जमीन समेत खोजिएको छ।

दुई दशक अघि सडक बन्न शुरु भएको सिमीकोट-हिल्साको सडक दुरी ९६ किलोमीटर मात्र हो। हिल्सामा चीन तिर व्यवस्थित भन्सार, भवन र सुरक्षाकर्मीलगायत सानो सेरी गाँउ  छ। हिल्साबाट ३० किलोमीटर पश्चिम प्रमुख शहर ताक्लाकोटसम्म चार लेनको सडक बनेको छ १५ किलोमीटरमा बझाङको नाका उरैलेक र चीन तिर खोचर गुम्बा पर्छ।

नाम्का गाउँपालिका अन्तर्गत क्याथरा भीर, यारी गाउँ नारा लेकदेखि हिल्सासम्मको भूभाग पर्छ। यारी गाँउबाट तीन घण्टा उकालो काटेपछि पुगीने नारा भञ्ज्याङ पछि हिल्सा सम्मै ओह्रालो सजिलो बाटो बाटो छ।

काठमाण्डौ–नेपालगञ्ज र सिमीकोट हुँदै हेलिकोप्टरबाट सजिलै मानसरोवर जाने भारतीय तिर्थालुका लागि हिल्सा परिचित गन्तब्य हो। यसका लागि यहाँ नेपाली सेनाले पक्की हेलिप्याड पनि बानाएको छ। राज्यले साँच्चै नै हिल्सालाई प्राथमिकता दिने हो भने कर्णालीको मुहार फेरिन समय लाग्ने छैन।

गुल्मपति बिष्टका अनुसार शसस्स्त्रका लागि आवश्यक बन्दोबस्तीका समान पुर्‍याईसकिएको छ भने औपचारिक उदघाटनका लागि सेनाको हेलिकोप्टर एम आई –१७ सँग समन्वय  गरिएको छ।

सरकारको चीन सीमाका  ७ ठाँउमा शसस्त्र प्रहरीको अवस्थिति गराउने योजना अन्तर्गत कर्णालीको हिल्सा पनि एक हो। विष्ट भन्छन्,‘नारालेकको हिँउ पन्छाउन पनि सरोकारवालाई अनुरोध गरेका छौं।’

हेर्नुहोस् हिउँ पनछाउँदै हिल्सा पुगेको सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली।

यो पनि हेर्नुहोस्

४५०० मिटर उचाइमा रहेको सीमा नाकामा सशस्त्रको गस्ती {तस्बिरहरू}

प्रकाशित मिति: : 2020-06-07 08:50:23

प्रतिकृया दिनुहोस्