वीरगञ्ज बजार तीन दिन नबित्दै बन्द, लकडाउनलाई पुनः कडाई गराइने

वीरगञ्ज बजार तीन दिन नबित्दै पुनः बन्द भएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी तोकिएको मापदण्ड पालना नगरिएको भन्दै शुक्रबारदेखि खुलेको बजार आइतबारबाट बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबारदेखि अत्यावश्यक खाद्यान्न, तरकारी, औषधि पसलका साथै बैंक तथा वित्तिय संस्था बाहेकका सम्पूर्ण पसल बन्द गरिएको जनाइएको छ । 

शुक्रबारदेखि बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोर/बिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिकाे थियाे। तर बजारमा सर्वसाधारणको चहलपहल बढेर भिड थेग्न अप्ठ्यारो भएको भन्दै पुनः अत्यावश्यक सेवा बाहेकका पसलहरुलाई बन्द गरिएको छ ।

‘शुक्रबारदेखि जोर/विजोर प्रणालीको आधारमा स्थानीय प्रशासनको अनुमतिले बजार खुला भएपछि आम सर्वसाधारणलाई राहत भएपनि थामिनसक्नु भिडभाड भयो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले भने,‘कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएपछि अत्यावश्यक बाहेकका अन्य व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेका छौं।’ 

यसअघि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर/विजोर प्रणालीको आधारमा जोर गते रेडिमेड कपडा, कस्मेटिक, ईलेक्ट्रिकल तथा  इलेक्ट्रिोनिक्स पसलहरु सञ्चालन हुने र बिजोर गते हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाडा/बर्तन, सुनचाँदी फर्निचर लगायतका पसलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बजारमा भिड बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय फिर्ता लिएको बताएकाे छ। अटेरी गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तरगत कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजार खुला भएसँगै वीरगञ्जको मेनरोडमा भिडभाड बढेपछि प्रहरीले नियम विपरित सञ्चालित सवारी साधनहरु नियन्त्रणमा लिएको छ । तोकिएको मापदण्ड विपरित बजार सञ्चालनमा आएपछि पसलहरु बन्दसमेत गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

‘लकडाउन जारी रहेको अवस्थामा यसलाई केही खुकुलो मात्र बनाइएको हुँदा दुरुपयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। अटेरी गर्नेलाई कारवाही गर्छौं,’ उनल भनिन्,'अत्यावश्यक सेवा बाहेकका ठूलो संख्यामा सवारी साधनहरु आइतबार सञ्चालनमा आएपछि प्रहरीले मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।' 

प्रहरी उपरीक्षक पन्तले औषधी पसलहरु चौबिसै घण्टा, बैंक तथा वित्तिय संस्थाहरु नियमितरुपले सञ्चालन गर्ने तथा खाद्यान्न, किराना तरकारी, दुध पसलहरु प्रत्येक दिन बिहान ५ बजेदेखी ९ बजेसम्म सञ्चालन गर्न दिने बताइन्। त्यस्तै तरकारी तथा फलफुल सटरभित्र राखेर बिक्री/वितरण गर्ने र घरघरमा बिहान पुर्‍याउनका लागि उनले बिक्रेताहरुलाई आग्रहसमेत गरेकी छिन् । 

यता कृषिसँग सम्बन्धित व्यवसाय, उद्योगसँग सम्बन्धित माल वस्तुको ढुवानी, विक्री वितरण प्रत्येक दिन साँझ ७ बजे पछि गर्न व्यवसायीहरुलाई आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: : 2020-06-07 17:14:41

प्रतिकृया दिनुहोस्