कांग्रेस महाधिवेशनः 

पोखरा महानगर सभापतिमा चार जनाको दाबी, नेता–कार्यकर्ता रिझाउन दौडधूप 

Breaknlinks
Breaknlinks

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन (भदौ १६–१९ गते) जति नजिकिँदै छ, केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय नगर कमिटीसम्म चुनावी माहोल तातेको छ।

देशकै ठूलो महानगरमध्ये एक पोखरा महानगर समितिको सभापतिका लागि पनि आकांक्षीहरु मैदानमा देखिएका छन्। सभापतिको दाबेदारका रुपमा सुरेन्द्रमान बिजुक्छे, गंगाधर पराजुली, रामराज लामिछाने र मिलन तिवारी अहिले आंकाक्षीको रुपमा देखिएका छन्। 

कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका उनीहरु चुनावी ‘रिङ’मा उत्रिसकेको बताउँछन्। दशकौँदेखि पार्टीमा सक्रिय रुपमा खटिएकाले आफूहरुको दाबी स्वभाविक रहेको उनीहरुको बताउँछन्। 

महानगर सभापतिको दाबी पेश गरि रहेको गंगाधर पराजुली प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति हुन्। पत्रकार–राजनीतिको केन्द्रसम्म पहुँच राख्ने पराजुली यसअघि जिल्ला सभापतिमा लड्ने तयारीमा थिए। ‘जिल्ला सभापतिमा उम्मेदवारी दिने इच्छा त हो, तर पछि पार्टीको जुनसुकै कार्यसमितिको भए पनि नेतृत्वमा रहेर काम गर्ने मनस्थितिमा पुगेँ’, उनले भने।

‘१२ औं महाधिवेशनमा पनि कास्की कांग्रेसको सचिवमा उम्मेदवार थिएँ। पार्टीमा दशकौँ लागिपरेँ, तर पनि नेतृत्वमा रहिनँ,’ उनले भने, ‘तपाईँ नेतृत्वमा आउनुपर्छ भन्ने साथीभाइको आग्रह पनि आइरहेको थियो। जुनसुकै भए पनि कार्यसमितिमा रहेर काम गरौँ भनेर पोखरा महानगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी दिने मनःस्थिति बनाएको हुँ।’ 

अहिलेको कास्की कांग्रेसका सभापति कृष्णबहादुर केसीसँग १२ वर्षअघि सचिवमा प्रतिस्पर्धा गरेका पराजुली त्यसबेला पराजित भएका थिए। पार्टी कमिटीमा रहेर पनि काम नगरे पनि पार्टीसँग सम्बन्धित रहेर दशकौंदेखि काम गरिरहेकाले पनि आफूले चुनाव जित्नेमा विश्वस्त रहेको पराजुलीको दाबी छ। 

आफूलाई अग्रजदेखि अनुजपुस्ताको समेत समर्थन रहेको बताउने पराजुली पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष पनि हुन्। 

महानगर कमिटीका अर्का आकांक्षी रामराज लामिछाने सबैको राय, सल्लाहबमोजिम उम्मेदवारी दिने मनस्थितिमा पुगेको बताउँछन्। पोखरा महानगरपालिका वडा नम्बर ९ को वडाध्यक्षसमेत रहेका लामिछाने नेपाली कांग्रेस कास्कीका वर्तमान जिल्ला सचिव पनि हुन्।

एकपटक पुन सचिवमै दोहोरिने कि भन्ने सोच बनाए पनि महानगरका कमिटीका पदाधिकारीहरुले महानगर कमिटीमा आउन आग्रह गरेपछि उम्मेद्वार बन्ने मनस्थितिमा पुगेको उनले बताए। 

‘महानगर कमिटीका पदाधिकारीहरुले एकपटक महानगरको नेतृत्वमा आउनुपर्याे भनेर भन्नुभयो। मैले त्यो मनस्थिति बनाएको थिइनँ। पछि नेताहरु, अरु अरुसँग बुझ्दा तपाईँले गर्नुपर्याे भनेर भनिसकेपछि मलाई पनि लाग्यो– एकचोटी महानगरको संगठन गरेर देखाइदिनुपर्याे भन्ने लाग्यो,’ उनले भने। 

अर्का अकांक्षी मिलन तिवारी पार्टीको जिम्मेवारीमा नरहे पनि पारिवारिक रुपमै प्रजातान्त्रिक विचारधारा बोकेर हिँडेको बताउछन्। तरुण दलको जिल्ला समितिमा १४ वर्ष सदस्य भइसकेका तिवारी व्यवसायी हुन्। 

अघिल्लो महाधिवेशनमा सचिवमा उम्मेदवारी दिएका तिवारी अब नेतृत्वमा युवापुस्ता आउनुपर्छ भन्ने मान्यता बोकेर आफूले उम्मेदवारी दिएको बताउँछन्। ‘मेरो चुनावी प्रचार नै रुपान्तरणका लागि युवा अभियान हो। युवाहरु नेतृत्वमा आउनुपर्छ भन्ने मुल्य र मान्यता अनुसार मैले उम्मेदवारी दिएको हुँ। उमेरले पनि ४० पुगिसकियो, ६०–६५ पुगेपछि जोश पनि हराउँछ,’ उनले भने।

‘अहिलेको यही जोशिलो उमेरमा समाजको लागि केही गर्न सकिन्छ कि भनेर नेतृत्वको लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेको छु’, उनले भने, ‘मेरो चाहना भनेको नै समाज सेवा हो। नेपाली कांग्रेस जस्तो विशाल पार्टीमा युवाहरुको पनि भविष्य छ भन्ने सुनिश्चित गर्न उम्मेदवारी दिएको छु।’

महानगर कमिटीका आंकाक्षीमध्येका अर्का सुरेन्द्रमान बिजुक्छे महानगर कमिटीको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेको हुनाले आफ्नो दाबेदारी स्वभाविक रहेको बताउँछन्। अहिले बिजुक्छे महानगर कमिटीको उपसभापति हुन्। 

‘के छ भने म महानगर कमिटीको सदस्य भएँ, कोषाध्यक्ष भएँ, उपसभापति भएँ। त्यो हिसाले पनि दाबेदारी गरेको हुँ। महानगर कमिटीको बारे मलाई जानकारी पनि धेरै छ। उपसभापति भई सकेपछि सभापतिमा दाबी गर्नु स्वभाविक हो,’ उनले भने। बिजुक्छे पोखरा उद्योग वाणिज्य महासंघका महासचिव पनि हुन्। 

यसअघि कांग्रेसको पोखरा नगर–सभापति भइसकेका बजिरमान श्रेष्ठ र लेखनाथ नगर सभापति भइसकेका राजेन्द्रमणि लामिछाने दुवैले फेरि सभापति बन्ने आकांक्षा राखेका छैनन्। 

जिल्लामा दर्जन आंकाक्षी सुनिदा महानगरमा ४ जना मात्रै आंकाक्षी चुनावी दौडाहामा छन्। कास्मीमा २० हजार हाराहारीका क्रियाशील सदस्यमध्ये पोखरामा मात्रै १४ हजार सात सय ११ सदस्य पोखरा महानगरभित्रकै छन्। 

अघिल्लो वर्ष कोरोना महाव्याधिले सरेको महाधिवेशन यस वर्ष भदौभित्र सक्नुपर्छ। नत्र काँग्रेसको वैधानिकता नै सकिने कानुनी व्यवस्था छ। सोही बाध्यकारी व्यवस्थाले पनि कांग्रेसीहरु चुनावको दौडाहामा लागेका छन्। 

प्रकाशित मिति: : 2021-07-14 19:14:00

प्रतिकृया दिनुहोस्