बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।
चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमणको उच्च जोखिम वृद्धवृद्धामा बढी हुुन्छ। यही कारण देखाउँदै मुम्बईको महाराष्ट्र सरकारले पनि ६५ वर्ष उमेर बढीका कलाकारलाई सुरक्षाका दृष्टिकोणले सुटिङमा रोक लगाउने निर्णय गरेको हो।
बलिउडमा अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्। अहिले कोरोना कहरमा उनीहरुको गाँस खोसिने अवस्था आइपरेको छ।
६५ वर्षभन्दा बढीका पाका कलाकारले यो निर्णय उपयुक्त नभएको चरित्र अभिनेता राजा मुरादले बताएका छन्। , ‘यो निर्णय व्यावहारिक छैन। फिल्ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ,’ उनले भने।
राजा मुरादले के अब अमिताभलाई पनि काम नगर भन्ने भनेर प्रश्नसमेत तेस्र्याएका छन्। उमेरलाई लिएर भेदभाव गरिएकाले यो निर्णय संविधानविपरीत भएको भन्दै मुरादले आक्रोश पोखेका छन्।
स्मरण रहोस्, महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ।