त्रीदिवसीय साइकल यात्रा भाग- ३

साइकलले गुठीचाैर घमाइलाे बनाएकाे रात

BreaknLinks
BreaknLinks

त्याे दिन सबै कुराकाे व्यवस्थापन टिका जिले गरिरहनुभएकाे थियाे। उहाँकाे कामको तारिफ जति गर्दा पनि कम हुन्छ जस्ताे लाग्छ। रतनसिंह जिलाई हामीले गुठीगाउँ उहाँकाे घरबाटै हामीसँग गइदिन आग्रह गरेका थियाैं। ताकी उहाँकाे सहयोग लिन पाइयाेस्। हामीलाई गुठीचाैरमा बस्न सहज हाेस्। उहाँकाे स्वयंसेवाबारे धेरैलाई थाहा छ। आज पनि उहाँ आफ्नाे बाइकलाई एम्बुलेन्स बनाएर उक्त भेकभरीका बिरामीलाई अस्पतालसम्म पुगाउने गर्नुहुन्छ।

त्याे दिन भानु अंकल गाडी लिएर हामी बसेकाे ठाउँमा आउँदै हुनुहुन्थ्याे। उहाँलाई फाेन गरेर आउन उत्साहित गर्ने काम माधव दाइले गर्नुभएको थियाे। बेलाबेला उहाँहरुकाे फाेन सम्पर्क भइरहेकाे थियाे।

हामी अघिल्लोपल्ट साइकिलिङ गरेकाे दिन राति भानु अंकलसँगै बसेका थियाैं। त्याे दिन हाेटेल कान्जिराेवामा अबेरसम्म गफियाैं। त्याेभन्दा अगाडि उहाँसँग त्यसरी बस्ने अवसर जुरेकाे थिएन। एक सुखद संयाेग थियाे, उहाँसँग नजिकिने।

त्याे दिन साइकिलिङ गएका कृष्ण शाही, तेजेन्द्र जी, माधव दाइ, रामसिंह दाइ र मलाई आफ्नाे टिमका साथीहरुसँग परिचय गराउने काम उहाँले नै गर्नुभएकाे थियाे। हामीलाई साइकिलिङ गरेकाे देखेर वन डिभिजन कार्यालय जुम्लाका प्रमुख दिनेजंग खत्रीले खानपिनकाे व्यवस्थापन गरिदिने वचन दिनुभएकाे थियाे। यत्ति उत्साह दिने मान्छे भएपछि हाम्राे मन त्यसै फुरुङ्ग भइगयाे। अनि त महफिल जम्ने नै भयाे। त्याे महफिलले भानु अंकलसँग नजिक हुने मेसाे मिल्याे।

त्यसबेला भानु अंकलले हामीलाई आफ्ना कयाैं अनुभव सुनाउनुभएकाे थियाे। थाइल्यान्डदेखि चीनसम्म घुमेकाे कुरा सुनेपछि उहाँकाे खुला दिलबारे बुझ्न पाइयाे। उहाँलाई मैले एउटा सामान्य मान्छेकाे रुपमा मात्रै बुझेकाे थिएँ। त्याे दिन उहाँप्रतिकाे मेराे बुझाइ बदलियाे। उहाँसँग धेरै विषयकाे ज्ञान छ। कम्तिमा सामान्य ज्ञान धेरै विषयकाे छ।

यस्ताे मान्छे आफ्नाे टिम लिएर हामी साइकलमा घुम्न गएकाे ठाउँसम्मै आउने भएपछि रात रंगिन हुने नै भयाे। हामी रातकाे तयारीमा जुट्याैं। मैले टिममा काे काे आउँदै हुनुहुन्छ भनेर खासै चासाे राखेकाे थिइनँ। तर पनि बेलाबेला उहाँहरु कहाँ पुग्नुभयाे, टिममा काे काे हुनुहुन्छ भन्ने कुराकाे अपडेट आइरहेकाे हुन्थ्याे।

हामी खाना पकाउने तयारी गर्दै थियौं। मासु पुग्दाे थियाे। चाेताेकाे अचार धेरै नै बनाएका थियाैं। भात र दाल पाकिसकेकाे थियाे। त्याे क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र शाहीकाे उम्दा चर्चा थियाे। उनले उठाएका मुद्दामा एउटा चाेताेकाे ब्रान्डिङ थियाे। उनलाई सम्झिँदै हामी चाेताे खाइरहेका थियाैं। पाचन प्रणालीको अचुक औषधिकाे रुपमा सेवन गरिने चाेतालाई काचै खानेदेखि पकाएर विभिन्न परिकार बनाउन मिल्छ। त्यसकाे सबैभन्दा मिठाे भनेकै असुराे हाे। जाे अनेत्र गुन्द्रुक बनाए जसरी बनाइन्छ।

गुठीचाैरकाे किनाराकाे गाउँमा काेदाेकाे लाेकल रक्सी पाइन्थ्यो। रतन जीकाे सम्पर्कले पाँच लिटरकाे एक जर्किन रक्सी आइसकेकाे थियाे। भानु अंकलकाे टाेली आउन्जेल महफिल जमाउनलाई झाेल र सितन दुबै थियाे। चाहेजति खाएर मात्न पाइने स्वतन्त्रता थियाे। काेदाेकाे झाेलले दिएकाे जाेसमा गाग्री बजाएर गीत गाउँदा मिठाे सुनिने रहेछ। हामी नामी गायक हुने धुनमा थियाैं।

उहाँहरु नजिकै आउँदा हामी ठूलाे स्वरले करायाैं। जंगलमा हराएका यात्रीले बाटाे भेटाएजस्ता हाम्रा अनुहार थिए। उस्तै मुहार उहाँहरुकाे पनि थियाे। वर्षाैं भेट नभएका आफन्तकाे जस्ताे असिम आत्मियता गुठीचाैरकाे बीच भागमा देखियाे।

भानु अंकल नेतृत्वकाे टाेलीमा एन्फा अध्यक्ष भरत बुढथापा, स्टेसनरी व्यवसायी गणेश राेकाया र समिट एयर जुम्ला म्यानेजर सन्तोषजंग शाही हुनुहुन्थ्यो। उसाे त हामी दुई दिन अगाडि मात्रै बजारबाटै छुट्टिएका थियाैं। तर गुठीचाैरमा भेट हुँदा हामी बर्साैंपछि भेट भएका सुदमा र कृष्ण जस्ता भयाैं।

उहाँहरुले बजारबाट बन्दाेबस्तीका सबै सामान लिएर आउनुभएकाे थियाे। केही क्यान वियर, सगरमाथा नामकाे ब्रान्डेड रक्सी र पाँच लिटरकै एक जर्किन चामलकाे लाेकल रक्सी। त्यस अलबा ठूलाे त्रिपाल, टेन्ट, खानेकुराहरु सबै थियाे।

सब थाेककाे बन्दाेबस्त भएपछि स्वादअनुसारको पिउन पाइने थियाे। चियाकाे चुस्कीमा हुने गफमा कयाैं सूचनाहरु भेटिन्थे। त्याे त हरेक दिन भाेगिएकै थियाे। चियर्ससँगै सुरु हुने गफ पनि दमदार हुन्छन् भन्ने कुरा त्याे दिन थाहा पाइयाे।

त्याे साँझ मैले मेरा सहयात्री सबै साथीहरुलाई भूलेर भानु अंकललाई मात्रै ध्यान दिएकाे थिएँ। उहाँले दिने सूचनाहरु स्वादिला र रसिला थिए। जाे लेख्नलाई पछिसम्म पनि काम लाग्ने खालका लाग्थे। त्यसैले कतिपय मैले नाेट गरिराखेकाे छु। केही सूचनाकाे पूर्ण जानकारीका लागि बेलाबेला उहाँलाई फाेन गरिरहेकाे हुन्छु।

भानु अंकलले बेरी सी बिसप, प्राेफेसर टुचीदेखि पाइलट हार्डी फेररसम्मका कहानी सुनाउनुभयाे। उनीहरु काे कहाँ बसे? के के काम गरे भन्ने एकसराे जानकारी दिनुभयाे। मानवशास्त्री डाेरबहादुर विष्टका कयाैं किस्साहरु उहाँसँग छन्। त्यसमध्ये विष्टले देशकाे पहिलाे देउडा गायक महाशंकर देवकोटालाई बीच बजारमा लात्तीले हानेकाे प्रसंग एक थियाे। त्याे लात्ती हनाइ झगडाकाे नभइ एउटा सन्देशमूलक उदाहरण दिनलाई थियाे।

महाशंकर देवकाेटा कर्णालीका एक नामी समाजसेवी हुनुहुन्थ्यो। नामी देउडा गायक। कर्णालीकाे जुम्लाबाट काठमाडौं रेडियाे नेपालमा गएर गाउने एक चर्चित सर्जक आज हामीमाझ हुनुहुन्न। उहाँकै छाेरा हुनुहुन्छ भानु अंकल। आफ्ना बुबालाई विष्टले किन लात्तीले हान्नुभयाे भनेर सुनाउनुभएकाे थियाे।

'मानवशास्त्री डाेरबहादुर विष्ट बाहुनवादकाे विराेध गर्नुहुन्थ्यो। त्यसकाे विराेध र शिक्षाकाे चेतनाले समाजमा समानता कायम गर्न सकिने उहाँकाे विचार थियाे। बीच बजारमा उहाँले म क्षेत्री, उहाँ बाहुन भन्दै मेराे बुबालाई लात हान्नुभयाे र मैले लात हान्दा उहाँ सानाे हुनुभएन। म ठूलो भइन भन्नुभयो।'

राजाले गठन गरेकाे दुर्गम क्षेत्र विकास समितिमार्फत नै पहिलाेचाेटी डाेरबहादुर विष्ट जुम्ला पुगेका थिए। बेरी सी बिसपले तलिचाैरमा भिमबहादुर बुढाकाे घर बसी कर्णालीबारे अध्ययन गरेका थिए। पछि उनी नेशनल जियाेग्राफीकाे चियरम्यान पनि भए।

युएनडीपीले नेलालाई डाेनेसन स्वरुप एउटा स्वीस जहास प्ल्याटर पीसी सिक्स पाेर्टर नामकाे जहाज सहयोग गरेकाे थियाे। त्याे जहाज सर्ट टेकअप र सर्ट ल्याण्डिङ गर्न सक्थ्यो। त्यसका पाइलट थिए, हार्डी फेरर। युएनडीपीले दिएकाे खाद्यान्न कर्णालीमा सार्ने काम ट्वीनेटर जहाजले गर्थ्याे भने त्यसलाई गुठीचाैरसम्म सार्ने काम हार्डी फेररले प्ल्याटर पीसी सिक्स पाेर्टरबाट गर्थे। यी सबै जानकारी भानु अंकलले नै दिनुभएको थियाे।

– हार्डी फेररले गुठीचाैरमा हिउँ परेकाे बेला ल्याण्ड गरेकाे प्ल्याटर पीसी सिक्स पाेर्टर जहाज। तस्बिर ः हार्डी फेरर

हाम्रा लागि नयाँ लाग्ने जानकारीसहित गुठीचाैर घमाइलाे हुने गरी उदितनारायण झादेखि नारायण गाेपालसम्मका गीत गुञ्जिए। तला मंगाेश्वरदेखि तारादेवीकाे स्वरकाे कपी हुँदा गुठीचाैरमा सांगीतिक राैनक छाएकाे थियाे। समाजकाे दुरुस्तै चित्रण हुने देउडादेखि आधुनिक गीत गाउन माहिर कृष्ण शाही र तेजेन्द्र रावलले सबैकाे ध्यान खिच्नुभयाे।

काली पाेइला कदमपुर, शाेभा पाेइला कुनी।
मायाले माम खायाँ तर, गाला टाेक्याे भनी।।

त्यस रातका धेरै गीतहरुमध्ये मलाई याद भएकाे याे गीत जस्तै अरु धेरै गीत गाइएका थिए। कर्णाली क्षेत्रमा विकास भएकाे साहित्यमा आशा निराशा, विद्राेही चेत, माया-प्रेम सबै भेट्न सकिन्छ। जहाँ बिम्ब, प्रतिक र अतिरञ्जनाकाे खानी नै छ भन्दा हुन्छ।

रमाइलो आधा रात नसुती गयाे। आधा रात हामी गुठीचाैरलाई चिरेर बगेकाे खाेलाकाे सुसाहटसँगै गयाे। बिहान गुठीचाैर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा हामी बसेकै ठाउँमा आउनुभयाे। साहसिक पर्यटनमा साइकिलिङ र रक क्लाइम्बिङकाे सम्भावना रहेकाे अनि त्यसका लागि पूर्वाधार विकासमा लाग्ने बचन दिनुभयाे।

बिहानकाे खाना खाइसकेपछि हामी फर्किने तयारीमा लाग्यौं। साइकलमा गएका हामी साइकलमै र बाँकी सबै जना भानु अंकलकाे गाडीमा फर्कियाैं। ओरालाेमा साइकल चलाउँदा डाउनहिल साइकिलसङ जस्ताे अनुभूति भइरहेकाे थियाे। अरुलाई भन्न सजिलो, ओरालाे हिँड्न सजिलो भनेजस्तो।

गर्ज्याङ्काेटमा गुठीचाैर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाकाे घरमा काेदाकाे राेटी र पिराे अचार खायाैं। फर्किने बेला उहाँले साइकललाई स्तरिकरणकाे सवारीसाधनकाे रुपमा नजाेडी स्वास्थ्यसँग जाेड्नुपर्ने विषयमा आफू सचेत रहेकाे बताउनुभयाे। हामी तुफानी बेगमा बजार हुँइकियाैं र तीन दिनकाे साइकल यात्रा सकियो।

प्रकाशित मिति: : 2023-05-28 19:30:00

प्रतिकृया दिनुहोस्