ठाकुरद्वारा डा. भट्टराईलाई 'एक नम्बर' मान्न इन्कार, भट्टराई 'दुई नम्बर' नबसेपछि लगाइयो 'टिपेक्स'

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई महन्थ ठाकुरले पहिलो मर्यादाक्रमका नेता मान्न अस्वीकार गरेपछि उनी 'स्वेच्छाले' टिपेक्स लगाएर चौथो नम्बरका नेता बनेका छन् । 
साविक समाजवादी पार्टीका पहिलो वरियताका नेता सहित संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले दोस्रो मर्यादाक्रम अस्वीकार गरी टिपेक्स लगाएर मेटी निर्वाचन आयोगमा बुझाएको कागजमा चौथो नम्बरमा नाम राखेका हुन् ।  ‘राम्रो सन्देश जाने’ भन्दै डा. भट्टराईले आफैं नाम झारेको बताए पनि यसलाई राजनीतिक रुपमा उनको असन्तुष्टिका रुपमा लिइएको छ । साथै, उनी राजनीतिक रुपमा ‘सकिएको’ भन्दै चिन्ता पनि व्यक्त भएको छ ।

पार्टी एकताको घोषणा गरेको ४५औं दिन शनिबार परेकाले आइतबार ४६औं दिन निर्वाचन आयोजमा जानै पर्ने कानूनी बाध्यता थियो । यही कारण राजपा संसदीय दलका नेता ठाकुर, समाजवादीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव बसेर नेतृत्व टुंग्याउने कोशिशमा थिए ।

पहिलो मर्यादाक्रमसहित उक्त पार्टीमा रहेका एकमात्र पूर्व प्रधानमन्त्री भट्टराई संघीय परिषद् अध्यक्ष बन्न चाहन्थे तर साविक राजपा नेताहरुले ‘पूर्व प्रधानमन्त्री मात्र हो, वर्तमान होइन’ भन्दै महन्थ ठाकुर नै पहिलो मर्यादाक्रम हुनुपर्ने बताउँदै आएका थिए ।

ठाकुर स्वयम् पनि डा. भट्टराईलाई पहिलो मर्यादामा मान्न तयार भएनन् । अनि भट्टराईले त्याग देखाउँदै आफूलाई अशोक राईभन्दा पछिल्लो मर्यादामा राखेका हुन् । अब उक्त पार्टीमा ठाकुर र यादव दुई जना कार्यकारी अध्यक्ष भएका छन् भने तेस्रो नम्बरमा वरिष्ठ नेतासहित अशोक राई छन् । चौथो नम्बरमा भटटराई र पाँचौं नम्बरमा राजेन्द्र महतो भएका छन् । महतोलाई संसदीय दलकाे नेता दिने आश्वासन दिइएकाे बताइएकाे छ ।

डा. भट्टराई चौथो वरियतामा झरेपछि सामाजिक सञ्चालमा उनीमाथि व्यङ्ग्य र चिन्ता पनि सुरु भएको छ । डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १ र १ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्रीराय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।'

टिपेक्स ठाकुरप्रति भट्टराईको मौन कटाक्ष

डेढ महिनालामो अवधिमा पनि नेतृत्व टुंगो लगाउन नसकेका नवगठित जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको सूची बुझाएर दल दर्ताका लागि आइतबार निवेदन दिए । यो कानूनी बाध्यता पनि थियो । अन्यथा कानूनी रुपमा पार्टी एकता प्रक्रिया अन्त्य हुन्थ्यो । 
आयोगमा दर्ता गर्न तयार पारिएको निवेदनको मस्यौदामा तीनजना अध्यक्ष र दुईजना वरिष्ठ नेता रहने गरी तयार पारिएको थियो । पहिलो नम्बरमा महन्थ ठाकुर कार्यकारी अध्यक्ष र दोस्रोमा डा। बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष र तेस्रोमा उपेन्द्र यादव कार्यकारी अध्यक्ष, चौथोमा वरिष्ठ नेता अशोक राई र पाँचौमा वरिष्ठ नेता राजेन्द्र महतो रहने उल्लेख थियो । 

तर, आयोगमा दर्ता हुँदा भने भट्टराईको नाममा टिपेक्स लगाएर उनको नाम चौथो नम्बरमा झारिएको छ । अनि उनको पद पनि संघीय परिषद् अध्यक्ष नराखेर वरिष्ठ नेता मात्र राखिएको छ । आयोग जानुअघि साविक  राजपाको बबरमहलस्थित कार्यालयमा बसेको बैठकले भट्टराईको नाम र पदमा टिपेक्स लगाएर मेटायो । अनि कलमले चौथो नम्बरमा राख्यो । यो भट्टराईले सहज भने पनि उनले ठाकुरले उनलाई नेता अस्वीकार गरेकोप्रतिको कटाक्षका रुपमा बुझिएको छ ।

केन्द्रीय समितिभन्दा माथिल्लो कमिटी संघीय परिषदको अध्यक्ष भएकाले आफू पहिलो वरियतामा हुनुपर्ने अडान भट्टराई पक्षका नेताले राखेका थिए तर ठाकुरले यो तर्कपछि अनुहार अँध्यारो बनाएपछि पार्टी एकताका लागि सन्देश दिएको भन्दै आफूलाई अशोक राईभन्दा तल झारे । यसअघि समाजवादी पार्टीमा पनि भट्टराई संघीय परिषद् अध्यक्ष र यादव कार्यकारी अध्यक्ष भए पनि पहिलो वरियतामा भट्टराई र दोस्रोमा यादव थिए । जुन ठाकुरले स्वीकारेनन् । अनि भट्टराई पनि दोस्रोमा बसेनन् ।

केन्द्रीय समिति ५१ जनाको, राजपाका २६, समाजवादीका २५

दुई पार्टीबीच समानताको आधारमा एकता गर्ने सहमति १० वैशाखमा गरिएको थियो । त्यसको ४६ दिनपछि ५१ नाम निर्वाचन आयोगमा बुझाइएको छ ।

साविक राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रकुमार सोनार, डा। विजयकुमार सिंह, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह, मनिषकुमार सुमन, राजकुमार लेखी, अमृता अग्रहरी, रेशमलाल चौधरी, रामनरेश यादव, केशवकुमार झा, एकबल अहमद शाह, निर्जला राउत, रमेशप्रसाद यादव र रामकुमार ओझा छन् ।

साविक समाजवादीबाट उपेन्द्र यादव, अशोक राई, डा।बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्बरबल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ र विजयकुमार यादव छन् ।
 

प्रकाशित मिति: : 2020-06-08 01:12:09

प्रतिकृया दिनुहोस्