स्कटल्याण्डमा नेपालले खेल्न लागेकाे ट्राइ सिरिज स्थगित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा आगामी जुलाईमा तय भएको ट्राइ सिरिज स्थगित भएको छ। आईसीसीसँग स्कटल्याण्ड क्रिकेटले आग्रह गरेपछि यो सिरिज स्थगित गरिएको हो। 

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीको संकटका कारण तीन राष्ट्र सहभागी सिरिज स्थगित गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ।

आईसीसीको इभेन्ट्स हेड क्रिस टेट्लेले ट्राभल रेस्ट्रिकसन र ग्लोबल हेल्थ अहिले मुख्य चासोको विषय रहेकोले कोभिड-१९ को बारेमा जनस्वास्थ्य अधिकारीको सुझावसहित सदस्यहरुसँग सल्ला गरेर सिरिज स्थगित गरिएको जनाएका छन्।

स्कटल्याण्ड नेपाल र पपुवा न्युगिनी सम्मिलित यो सिरिज ४ देखि ११ जुलाईसम्म हुने तालिका थियो।

स्कटल्याण्ड क्रिकेटले सिरिजको अर्को मिति तय गर्न सहभागी अन्य राष्ट्रसँग र आईसीसीसँग सहकार्य गर्ने जनाएको छ।

महामारीकै कारण आईसीसीले यसअघि तीनवटा विश्वकप लिग २ को सिरिज स्थगित गरिसकेको छ। जसमा नेपालले खेल्ने तय भएको दुई सिरिजसमेत स्थगित भएको छ। यस्तै अमेरिकामा हुने तय भएको ट्राई सिरिज पनि स्थगित भइसकेको छ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ मा नेपालले अहिलेसम्म एउटा मात्र सिरिज खेलेको छ।

प्रकाशित मिति: : 2020-06-11 19:52:54

प्रतिकृया दिनुहोस्