७ मिनेटभित्रै भारतीय टिमको प्रशिक्षक भएको ग्यारी क्रस्र्टनको खुलासा

दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान ग्यारी क्रस्र्टनले आफू ७ मिनेटभित्रै भारतीय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको रहस्य खोलेका छन्। 

प्रशिक्षणको कुनै अनुभव नभएका क्रस्र्टनले पूर्व कप्तान तथा छनोट समितिका सदस्य सुनिल गावस्करको इमेलबाट अन्तर्वार्ताका लागि सुझाव पाएपछि आफू गएको बताए। क्रस्र्टनकै प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्व कप जितेको थियो। 

महेन्द्रसिंह धोनी त्यति बेला कप्तान थिए। उनको प्रशिक्षणमै २००९ मा भारत टेस्टको नम्बर १ टिम भएको थियो। क्रस्र्टन भारतको सबैभन्दा सफल प्रशिक्षक मानिन्छन्। उनी २००८ मा दुई वर्षका लागि प्रशिक्षक बनेका थिए। यसपछि उनको कार्यकाल एक वर्षलाई थप गरिएको थियो।
 
उनले भने, ‘मलाई सुनिल गावस्करले इमेलबाट जानकारी दिएका थिए। उनले मलाई के तिमी भारतीय टिमको प्रशिक्षक बन्न चाहन्छौं भनेर सोधेका थिए। मैले सुरुमा यसलाई झुटो इमेल सोचे। उनले दोस्रो पल्ट पनि इमेल पठाएर अन्तर्वार्ताका लागि बोलाए। मैले आफ्नो श्रीमतीलाई देखाए। उनले पनि गल्तीले आएको होला भनिन्। मैले यसलाई ठट्टा सोचे, किनभने यति बेला मसँग प्रशिक्षणको कुनै अनुभव थिएन।’

कस्र्टनले अन्तर्वार्ताका लागि भारत आउँदा सबैभन्दा पहिले अनिल कुम्बलेलाई भेटेको बताए। यति बेला कुम्बले कप्तान थिए। ‘उनले मलाई भारत आउनु पर्ने कारण सोेधे। मैले प्रशिक्षकका लागि अन्तर्वार्ता दिन आएको बताए। यति भनेर हामी दुबै हास्यौं। १० मिनेटपछि म अन्तर्वार्ताका लागि भित्र गए,’ उनले भने, ‘भित्र गम्भीर माहौल थियो। मलाई सोधियो–भारतीय टिमको भविष्यका लागि मेरो योजना के छ?’

उनले त्यति बेला आफू हतारमा आएको हुनाले कुनै योजना नबनाएको बताए। यति बेला छनोट समितिका अर्का सदस्य तथा हाल भारतीय टिमका मुख्य प्रशिक्षक रवी शास्त्रीले सोेधेका थिए, ‘भारतीय टिमलाई पराजित गर्न दक्षिण अफ्रिकाले कस्तो रणनीति बनाउने गर्छ?’

यो प्रश्नको उत्तर आफूले २–३ मिनेटभित्रै दिएको तर रणनीतिको खुलासा नगरेको स्पष्ट पारे। ‘छनोट समितिका सदस्य मसँग प्रभावित थिए। त्यसैले अन्तर्वार्ता दिएको ७ मिनेटभित्रै मलाई सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो। मैले पहिलो पन्ना हेर्दा, आफ्नो नाम देखिन। यसमा पूर्व प्रशिक्षक ग्रेग च्यापलको नाम थियो। मैले सम्झौता पत्र फर्काइदिए। यसपछि उनीहरूले पेन निकालेर च्यापलको नाम काटे र मेरो नाम लेखे,’ उनले भने।

प्रकाशित मिति: : 2020-06-15 19:57:39

प्रतिकृया दिनुहोस्