ज्वालासिहं नेतृत्वको जनतान्त्रिक छाडे, नेकपा छिरेर गाउँ विकासमा लागे

राजेश सिहं (राजु) महोत्तरीको चर्चित नाम हो। युवामाझ राजु लोकप्रिय छन्। विद्रोही श्वभावका राजु आफ्नै नेता र प्रहरी प्रशासनको भने तारो बनेका छन्।

किन त? ‘नेता र प्रहरी प्रशासनको गैरकानुनी कामको विरोध गर्छु त्यसैले उनीहरूको तारो बनेको हुँ’, जवाफमा राजुले भने।

राजुका अनुसार महोत्तरीमा हुने अधिकांश नदी उत्खननमा उनकै पार्टी नेकपा र कांग्रेस नेताको सलंग्नता छ र उनीहरूको उत्खननलाई प्रहरी प्रशासनलेसमेत सहयोग गरिरहेको छ। त्यसैले राजु उनीहरूको विरोध गर्छन्।

वन मुद्दा पनि चलिरहेको भएरै गएको स्थानीय चुनावमा पार्टीले उनलाई वडाध्यक्षको टिकट दिने तयारी गरे पनि कानुनी उल्झनले मिलेन। राजुलाई टिकट दिन नमिल्ने भएपछि पार्टीले उनकी श्रीमती मञ्जुलाई महिला वडासदस्यको टिकट दियो।

मञ्जुले आफ्नै पार्टी नेकपाका वडाध्यक्षका उम्मेदवार पदम बहादुर आलेभन्दा ७८ मत बढी ल्याएर चुनाव जितिन्। राजुको लोकप्रियताले मञ्जुलाई वडाध्यक्ष भन्दा बढी मत आएको हो ।

राजु घरमा उति बस्दैनन्। साह्रो गाह्रोमा परेकालाई सम्झाई बुझाई गर्नदेखि लिएर सबैखालको सहयोग गर्न ब्यस्त हुन्छन् 

तिनै राजु यतिबेला चर्चामा छन्। कारण भर्खरै रातुखोलाबाट किसाननगर गाउँ छिर्ने बाटो बनाएपछि उनको चर्चा चुलिएको हो। बर्दिवास नगरपालिकाको ६ लाख लगानीमा उनी आफैं खटेर सडक बनाए। सबै चकित भए।

राजुको विकास प्रेम

भर्खरै बनेको सडक मात्रै होईन, उनले बिगतदेखि नै किसाननगर गाउँको समग्र विकासमा सक्रिय भूमिका खेल्दै आएका छन्।

बर्दिवास २ मा रहेको ऐलानी जग्गामा १६ घर दलित भूमीहिनको बस्ती बसाले। कृष्णपुर ग्रामिण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष बनेर रतौली युवा क्लवको सहयोग र फन वोर्ड नामक संस्था, विश्व बैंक र नेपाल सरकारको करीव १ करोड १२ लाख रुपैयाँको संयुक्त लगानीमा गाउँभरी ४२ वटा खानेपानीको ईनार बनाए। गाउँलेहरू अहिले उनैको पहलमा बनेको ईनारको पानी खान्छन्।

केयर नेपालको सहयोगमा युवा वन समूह गठन भयो। उनी उपाध्यक्ष बने। गाउँ छिर्ने ठाउँको प्रति जग्गामा युवा बन नाम दिएर वृक्षारोपण गरियो। अहिले त्यसले बनको आकार लिएको छ ।

नजिकै रहेको रातु खोलाले गाउँलेको गरिखाने जग्गा बगाउन थालेपछि तत्कालिन स्वस्थ्य मन्त्री तथा हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई स्थलगत निरीक्षण गराएर तटबन्ध बनाउन भूमिका खेले।

तर यीनै राजुलाई १६ घर दलित भूमीहिनको बस्ती बसालेकाले बन फडानीको आरोपमा पक्राउ गरियो। १२ दिन जिल्ला वन कार्यालयको थुनामा राखियो। बन मुद्दा चलाईयो। २६ हजार धरौटी राखेर गिरिराजमणी पोखरेलको सहयोगमा छोडियो।

‘त्यही मुद्दाले मेरो राजनीतिक भविष्य चौपट बनायो’, राजुले भावुक हुँदै भने, ‘मेरो पार्टी नेकपाले बर्दिवास ६ को वडाध्यक्षको टिकट दिने भने पनि मुद्दा परेकाले मिलेन।’

राजुको राजनीतिक यात्रा

२०३४ सालमा जन्मिएका उनले एसएलसी पास गरेपछि तरूण दलको गाँउकमिटि, ईकाईहुँदै महोत्तरी जिल्ला कमिटी सदस्य बने। भारतबाट ईलेक्ट्रीक सवओभरसियर गरेपछि उनी मधेश मुक्तिको नारा दिएको ज्वाला सिहं नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा लागे।

जनतान्त्रिक टुक्रैटुक्रा बनेपछि बनेको मधेश मुक्ति टाईगरमा लागे। ब्यूरो ईञ्चार्ज बनाउन भारतको मधुवनी बोलाईएका उनी त्यहाँबाट भागे ।

‘मधेश मुक्तिको आवरणमा पैसा असुल गर्ने महाअभियानमा शसस्त्र समूह खोल्ने गरिएको मैले मधुवनीमा थाहा पाएँ’, उनले विगत सम्झिए, ‘त्यसपछि भागेर घर आएँ।’

केही समय त्यतीकै बसेका उनलाई गाउँलेले गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षक बनाए। २०६५ देखि २०७५ सम्म १० वर्ष शिक्षण पेशा गरेका उनी शिक्षण छाडेर राजनीतिमा लागे। उनका गुरू समेत रहेका पुराना कम्युनिष्ट नेता बलबहादुर सिलवाल र तेज प्रसाद अधिकारीको सल्लाहमा अहिलेको सतारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरे अनि लागे गाउँको विकास निर्माणमा।

एक छोरा एक छोरीका पिता राजु भन्छन्, ‘अब राजनीतिको विकल्प छैन, नेकपाको सक्रिय राजनीति गर्दै गाउँ विकासमा लागिरहन्छु।’

प्रकाशित मिति: : 2020-06-23 08:24:46

प्रतिकृया दिनुहोस्