विश्व नम्बर एक टेनिस स्टार जोकोविचलाई कोरोना

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई कोरोना भाइरसको संक्रमण भएको छ।

गत साता सर्वियामा प्रदर्शनी प्रतियोगिताको रुपमा रहेको एड्रिया टुर खेलेका जोकोविचलाई कोरोना लागेको हो।

टुरअन्तर्गत दोस्रो लेगका लागि सर्वियन स्टार जोकोविच गत साता क्रोएसिया पुगेका थिए। तर प्रतियोगिता फाइनलअघि स्थगित भएको थियो।

एक खेलाडीलाई कोरोना भएपछि प्रतियोगिता स्थगित हुँदा फाइनलमा पुगेका जोकोविचले क्रोएसिया छाडेका थिए।

प्रतियोगिता खेलेका ग्रिगोर दिमित्रोभलाई सुरुमा कोरोनाको संक्रमण भएको थियो। त्यसपछि बोर्ना कोरिक र भिक्टोर ट्रोइकी पनि कोरोनाबाट संक्रमित बन्न पुगेका थिए।

३३ वर्षीय जोकोविचले सर्वियाका भिक्टोरसँग पहिलो खेल खेलेका थिए।

कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि टेनिसको आधिकारिक प्रतियोगिता एटिपी टुर भएको छैन। त्यसैले जोकोविचले कोरोनाबाट फ्रेस हुनका लागि एड्रिया टुर खेलेका थिए। जुन एटिपी टुरको इभेन्ट होइन।

टुरको पहिलो लेग सर्वियामा हुँदा ४ हजार फ्यान हेर्न आएका थिए।

टुर भएकै बखत खेलाडीहरु बेलग्रेडको नाइटक्लबमा रमाएको तस्बिर सार्वजनिक भएको थियो।

प्रकाशित मिति: : 2020-06-23 18:35:37

प्रतिकृया दिनुहोस्