के म साँच्चै राम्रो छु र!

बसन्त ऋतु आगमनको पूर्व सन्ध्या जसले मेरो मनलाई कताकता पुर्‍याइरहेको हुन्छ। उसै पनि घर जान मन लागिरहेको थियो निहुँ पाएँ होलीको अनि यात्रा तय गरेँ, रुपन्देही भैरहवा रमवापुरको लागि।  विभिन्न किसिमका रङलाई देख्न नसके पनि कहिलेकाही मनन् गरिरहेको हुन्छु आफ्नै जिन्दगीको रङ। देखेरै मात्र पनि कहाँ राम्रा लाग्लान् र रङहरु। राम्रो लाग्नलाई त आत्मसात् गर्न पो सक्नुपर्छ। मन मस्तिष्कले स्वीकार्नु पर्छ। जिन्दगी आफैंमा एउटा रङ न हो रत यसको सौन्दर्य छ। महत्व छ। रङ्गहिन भैदिए त अस्तित्व नै सिद्धिहाल्यो। आँखा नदेख्ने भए पनि सहजै आत्मसाथ गर्छु मैले रङलाई। देख्न चाहन्छु रङ्गीन सपना। तर, देखाउनु नदेखाउनु त्यो सबै  नियतिको खेल न हो। 

यसवर्ष पनि फागु नआउँदै सम्झिएको थिएँ साथिहरुसँगको भेटघाट अनि दृष्टिविहिन आमाले पकाउने मिठा परिकार खीर, गोझिया गुल्गुला। सानो सानो कुरामा औधि खुसि हुने मलाई सम्झिन एउटा निहुँ चाहिन्छ। त्यति पाए अरु के नै चाहियो र। बाटोमा मानिसहरुको बाक्लो भीड भएकाले २५ गतेको दिन सहकर्मी साथी प्रसान्तलाई नयाँ बस्पार्कसम्म छोडिदिन अनुरोध गरेँ। बाटोमा हामी नेपाली पत्रकारिताको बारेमा गफिँदै धुम्बाराइस्थित प्रसान्तको बेकरीमा पुग्यौं जहाँ उनको बाबाले पकाएको मिठो चिया अनि केक खाई पुनः हिँड्यौं धुलो धुवालाई छिचोल्दै बसपार्कतिर। मानिसको भीडमा ओहोरदोहोर गरिरहेको खलासिले घोक्रो फुट्ने गरी बुटवल-भैरहवा-गुल्मी कपिलबस्तु के के नाम फलाक्दै चिच्याइरहेको थियो।

साँझको साढे ६ बजेको थियो हामी बस्पार्क पुग्दा। प्रशान्तले  भैरहवाको लागि आठ बजेको डिलक्स बसको टिकट काटिदिएर मेरो हातमा टिकट थमाउँदै भने – शुभयात्रा। अपाङ्ग सिट खालि नभएकोले म बाह्र नम्बर सिटमा बसेर यात्रा गर्ने पक्का थियो। साढे सात बजे तिर मात्र गाडी आउँछ तबसम्म तपाइँ यही कुर्चिमा बस्नोस् गाडि आएमा मैले चढाइदिउँला भनेर खलासि अरु यात्रु खोज्न तिर लाग्यो।

 घाँटीमा अफिसको आइडी कार्ड झुण्ड्याई हातमा सेतो छडी लिएर त्यो बेञ्चमा नितान्त एक्लो मान्छे बनेर बसिरहेँ। मानिसहरुको कोलाहाल गाडिहरुको पेपे पुँपुँ  सुन्दा सुन्दै वाक्क लागिसकेको थियो। ओहोरदोर गर्ने मानिसहरुले सोधिरहन्थे कहाँ जाने? कसलाई कुरेको सबैलाई दिने मेरो एउटै जवाफ हुन्थ्यो भैरहवा। मोबाइलमा समय हेरेँ गाडी आउन आधा घन्टा बाँकी नै थियो। समय बिताउन के गर्ने कसो गर्ने भन्नेमा उकुसमुकुस भयो। गोजीमा छामे एयरफोन पनि होस्टेलमै छोडेको रहेछु। बोल्नको लागि थिएन मैले चिनेको कोहि पनि। कहिले हातमा भएको सेतो छडि त कहिले घाटीमा भिरेको कार्ड चलाउँथे। कार्डमा राखिएको फोटो हेरेर साथीहरुले भन्ने गर्थे –यस कार्डमा तेरो फोटो क्या राम्रो आएको छ।  कार्डलाई एकछिनसम्म सुम्सुमाइरहेँ आफैंसँग प्रश्न गरेँ– के म साँच्चै राम्रो छु। ऐना हेर्न सक्ने भए पो। अरूले त खुसी तुल्याउन नि भन्देलान्।  यस्तै कल्पनाको जहाजमा सयर गरिरहेँ।  आधा घन्टा त्यतिकैमा बित्यो।

गाडी जाममा परेकोले आउन अझैं दस मिनेट लाग्ने कुरा थाहा पाएपछि काउन्टरमा गएर सोधिहालेँ –दाइ यहाँ शौचालय कता छ? एक जना दाइले  शौचालयसम्म लगिदिएर पुनः म बसेको ठाउँमा पुर्‍याइदिए। म बसेको सिटमा कस्तो व्यक्ति बस्छ होला यात्रा कसरी सहज बनाउने गाडिमा अघिको जस्तै सुसु आयो भने कसलाई भन्ने होला भनेर मनमा चलिरहदा आइपुग्यो भैरहवा जाने बस। हतार हतार गर्दै कन्डक्टरले गाडिको ढोकासम्म पुर्‍यायो। म गाडीमा के चढेको थे हत्तनपत्त ड्राइभरले गाडि ह्वविकायो, अनि  जोडले ब्रेक हान्यो। मेरो हातको छडी भुँइमा खस्यो पहिलो सिटको डन्डीमा टाउको बजारियो । मर्ने गरी पीडा भए पनि मुखबाट भने ऐया निस्किएन। हतार हतार उठ्न खोज्दा पछाडिबाट एक अपरिचितले हात समात्दै कडा स्वरले भनिन् – आँखा नदेख्ने भएपछि एक्लै किन हिँडेको? हात नरम भए पनि उनको कडा आवाज सुनेर मैले मुस्कुराउँदै भनेँ– एक्लै हिँड्ने बानिपरिसक्यो। त्यति बेला गाडिको गति कम भैसकेको थियो उनले भनिन्, ‘कति नम्बर सिट हो?’   ‘ए को बाह्र’, बिस्तारै भने। उनीबाट फेरि जवाफ आयो, ‘म पनि त्यही सिटमा हो। डोर्‍याएर हिँड्दै गर्दा अपरिचित महिलाको मनमा खै के आयो? उनले फेरि सोधिन् ‘तपाईको कोही छैन?’ उनको प्रश्न सुन्दा भन्न मन थियो के म टुहुरो जस्तो देखिन्छु र? तर कुनै  प्रतिवाद गरिनँ। ‘हालसम्म सँगै हिड्ने कोही बनाएको छैन,’ भन्दै देखावटी हाँसो निकाल्दै जवाफ दिएँ। त्यसपछि एकछिन उनी मौन रहिन्।

गाडीको अन्तिम तिर भएको हाम्रो सिट आइपुग्दा नपुग्दै उनको आवाज नरम भइसकेको थियो। सिट छेउमा पुग्दा उनले भनिन्, ‘कता बस्नु हुन्छ, झ्यालतिर बस्ने कि यता?’ ‘जता भए पनि हुन्छ’, मैले भने। उनी आफैं झ्यालतिर बसिन्।

त्यति बेलासम्म पग्लिदै गरेको मैनझैं भैसकेकि थिइन् उनी। मेरो हात समाउँदाको कडा आवाज र सिटमा पुगिसक्दाको आवाज नित्तान्त नरम भैसकेको आभास मैले पाइरहेको  थिएँ। गाडीमा टाउको बजारिएर म मुडो जस्तै पल्टिँदाको पल मायाको नजरले मलाई उठाउन आएकी थिइन् अथवा दयाको भावले। म आफ्नै मनसँग सम्वाद गर्न थालेँ। बसपार्कबाट बाहिर निस्केर बस आफ्नो गतिमा गुडिरहेको थियो।

पानीको बोतल बोक्न बिर्सेछु। तिर्खाले ओठ सुकेर प्याकप्याक भइसकेको थियो।  गाडी नरोएिकोले पानी किन्ने अवस्था नै थिएन। उनीतिर फर्किएँ उनको फोनको बत्ती बलिरहेको थाहा पाएँ, राम्ररी देख्न नसके पनि बत्ती बलेको भने उज्यालो थाहा पाउनसक्छु। एकछिन पानी माग्ने जाँगर चलेन, एकदमै गाह्रो भएपछि भने, ‘पानी छ?’ लिनुहोस् भन्दै पानी दिइन्। त्यति बेलासम्म उनीसँग बोल्ने बाहानाहरु प्रसस्त पाइसकेको थिएँ, पानी पिइसकेपछि धन्यवाद दिनखोज्दा भनिन्, ‘राख्नुहोस्, तिर्खा लाग्दा फेरि चाहिन्छ।’ अनि तपाइँले के खाने त? मैले भनेँ। उनले त्यहीँ बोतलबाट दुवै जनाले लिने मनसाय व्यक्त गर्दा मलाई झन सहज भयो उनीसँग बोल्न। मैले सोधेँ –तपाई कहाँ जान लाग्नुभएको? उनले जवाफ दिइन्,‘भैरहवा।’ फेरि अर्को प्रश्न तेस्र्याएँ,‘तपाई के गर्नुहुन्छ? ‘बी ए तेस्रो वर्षमा बुटवल बहुमुखी क्याम्पसमा पढिरहेको छु साथै फेन्सीमा पनि काम गर्छु,’ उनले बताइन्। रात छिप्पिदै थियो, काठमाडौं खाल्डो छुटिसकेको थियो। बाटोमा गफगाफ चलिरह्यो। हामीले आ-आफ्नो परिचय दिइसकेका थियौं। उनको नाम सलिना नेपाल रहेछ। विश्वमा फैलिदै गैरहेको कोरोनाको बारेमा वहस गरिरह्यौं। यत्तिकैमा मोबाइलको घण्टि बज्यो फोन थियो अफिसको सरले गर्नु भएको रहेछ। हलो भन्न नपाउँदै सोध्नुभयो, ‘कहाँ पुग्यौ? राम्रोसँग जाउ ल। घर पुगिसकेपछि फोन गर्नु है।’ फोन राखेपछि डाटा अन गरेर एकछिन च्याटमा साथीहरुसँग च्याटिएँ। सलिनाले हेरिरहेकी रहिछन्। उनले आश्चर्य मान्दै मेरो आँखामा आफ्नो मोबाइलको टर्च बाल्दै आश्चर्यको भावले सोधिन्, ‘तपाइँले आँखा देख्न सक्नुहुन्न तर च्याट कसरि गर्न सक्नुभयो? फेसबुक मात्र हैन मिस मैले त कम्प्युटर पनि चलाउँछु भनेको के थिएँ, गाडीको झ्यालमा टाँस्सिएर बसिरहेकि उनी मेरो नजिक आई भन्न थालिन्, ‘तपाई पढाइबाहेक अरु के गर्नु हुन्छ? ‘पेशाले पत्रकार हुँ,अनि पत्रकारिताको औपचारिक कक्षा लिइरहेको विद्यार्थी पनि। घाँटीमा झुण्डाइएको मेरो कार्ड राम्ररी हेरी पुनः प्रश्न गरिन्–फिल्डमा गएर रिपोटिङ् गर्न, अन्तर्वार्ता लिन गाह्रो हुँदैन? मैले जवाफ दिएँ, ‘अहँ गाह्रो हुँदैन।’ त्यति सुनिसकेपछि, उनी आश्चर्यचकित बनेर भन्न थलिन्, ‘दृष्टिविहिनहरु पनि अवसर पाएमा केही न केही गर्न सक्दा रहेछन्।’ म थोरै मुस्कुराएँ, मैले यो टाइपको मुस्कान खोज्न महिनौ कुर्नुपर्छ कहिलेकाही।

सलिनासँग यस्तै कुराहरुमा गफिँदै चितवन आइपुगेको थाहै भएन। चितवनमा खाना खानको लागि गाडी रोक्यो।  सलिनाले खाना खाने होटेलसम्म मलाई लगिन्। हामीले गफ गर्दै सँगै बसेर खाना खायौं। म खानाको पैसा तिर्न खोज्दै थिएँ, उनले मानिरहेकी थिइनन्। मैले दिएको तपाईले खानु हुँदैन भन्ने कुन शास्त्रमा लेखेको छ के भनेको थिएँ उनीसँग रहेन बोल्ने कुनै शब्द। सकिनन् केही बोल्न। पैसा तिरिसकेपछि हामी गाडीमा बस्यौं। चालकले अघिको जस्तै गाडि हाक्न थाले।

सलिनालाई निद्रादेवीले छुन थालिसकेकी थिइन्। क्षणभरमै उनको टाउको मेरो काँधमा अनियन्त्रित भएर आइपुग्यो। एक मनले भन्यो यो केटी कस्ती होली? अर्को मनले भन्यो हुँइकिरहेको गाडिमा यस्तै हो। मनमा यतिकुरा खेलाउन के थालेको थिएँ उनी बान्ता गर्न थालिन्। उनी कन्डक्टरसँग प्लास्टिक माग्न सक्ने अवस्थामा थिइनन्।  झ्यालबाटै गरिन्। मैले उनको पिठीमा मुसार्दे सघाएँ। उनले बोमिट गरिसकेपछि बोत्तलको बिर्को खोलेर पानी दिएँ। पानी पिएर थोरै सहज भावमा उनी बोलिन्, ‘किन यति धेरै माया गरेको?’  बिरामी भएपछि के गर्नु त?,’ मैले अलि संकोच मान्दै भने।

गाडीका बत्तीहरू निभाइएका थिए। सलिनाले अघिझैं मेरो शरीरमा टाउको राखेकि थिइन्। उनले सास फेरिरहँदा तातो प्रेमिल हावा आएको मैले सजिलै महसुस गर्न सक्थेँ। घुम्तीहरूमा गाडीले जब घचक्क गर्दै ब्रेक हान्थ्यो उनी डराएको भावले मलाई समात्ने गर्थिन्, मलाई पनि निद लागेर झुपुझुपु गराइरहेको थियो, उनको निदारमा मेरा ओठ कति बेला पुगेछन् थाहै भएन यी सबै  कुरालाई उनले सामान्य रुपमा लिइरहेकी थिइन् भने मलाई डर लागिरहेको थियो। बसले फेरि ब्रेक हान्यो उनी पुनः नजिक आइन्, उनका ओठले मेरो गालामा स्पर्ष गरे। आफैंलाई अचम्म लाग्थ्यो त्यो फिल्मी पारा जस्तो लाग्ने घटना। जेहोस् त्यो सबै यथार्थ थियो।

उनी कहिलेकाही अझ जोडले मेरो मसिनो पाखुरा अठ्याउँदै लामो स्वास फेर्थिन् र भन्थिन्, ‘दृष्टिविहिनप्रतिको मेरो हेराई र बुझाई अलि फरक थियो। हामीले गर्ने काम दृष्टिविहिनले गर्न सक्दैनन् जस्तो लाग्थ्यो तर तपाई कम्प्युटर पनि चलाउन सक्नु हुँदोरहेछ,’ उनको कुरा नसिद्धिदै बीचमै मैले भनिहालेँ, ‘कम्प्युटर मात्र होइन मिस तपाई बिरामी भएको अवस्थामा पानी तताउन र ज्वानो बनाएर खुवाइदिन पनि सक्छु।’  मैले यसो भनिरहँदा उनी खित्का छोडेर हासिन्। मानौं म कमेडि च्याम्पियनको कुनै रोस्ट हुँ। काँधमा टाउको राखेर निदाउन थालेकि सलिना क्षणभरमै काखमा निदाउन पुगिन्। अनि म पनि उनको कपाल सुम्सुमाउन थालेँ।

अड्किदै अड्किदै उनी बोलिन्, ‘यो यात्रा सधैंभरि यस्तै भयो भने तपाइँले के गर्नु हुन्छ नि?’ मेरो जवाफ थियो, ‘यथार्थ र कल्पना धेरै फरक हुन्छ।’ उनले चिमोट्दै फेरि भनिन्, ‘यदि यथार्थ भयो भने नि?’ म मौन बनेर कपाल मुसारीरहेँ। गाडी आफ्नै गतिमा गुडिरहेको थियो। गफ गर्दा गर्दै उनी मेरो काखमा कति बेला निदाइन् र म पनि कति बेला निदाउन पुगेँ थाहा भएन।

बिहान चिया खाने बेलामा अरू यात्रीको गाइगुइले निद्रा भंग भयो। हतार हतार हामी उठ्यौँ र चिया पसलतिर लाग्यौं। 

चिया खाजा खाएर पुन हामी चढ्यौं गाडीमा। गाडीमा आँखा देख्ने र नदेख्नेको बिचमा भएको फरकको बारेमा कुरा गर्न थाल्यौँ मैले बेलाबेलामा भनिरहन्थेँ कसैकसैले माया गरेर जीवन साथी बनाउन सके पनि सबैमा त्यो आँट कहाँ हुनू। आँखाले देख्नेहरु इमोसनमा आएर माया गर्छन् जब असमानताको दूरि भेट्टाउछन् अनि साइड लाग्छन्। मैले यस्ता कुरा गरिरहँदा मलाई मायालु पाराले प्याट्ट प्याट्ट पिटिरहन्थिन्। गफ गर्दा गर्दै भैरहवा आइपुगेको थाहै भएन, मलाई बुद्ध चोक झरेर लुम्बिनीको बाटो तय गर्नुपर्ने थियो भने सलिनालाई कान्छी बजार जानुपर्ने थियो।

भैरहवा आउँदै गर्दा उनको बाबाले आफू रिसिब गर्न आएको कुरा सलिनालाई जानकारी गराए, त्यसको केही मिनेट पछि बुद्धचोक आयो। मसँग हात मिलाएर  हतारहतार उनी बसबाट बाहिरिइन्। उनी गए लगत्तै सम्झिएँ फोन नम्बर र फेसबुक आइडि लिन भुलेछु अनि दिन पनि भुलेछु। सोचेँ आँखा देख्ने हुँदो हुँ त  फेसबुकमा उनको नाम सर्च गर्दा फोटो बाटै चिन्न सक्थे हुँला। फेरि सोच्न थालेँ, ‘के उनले पनि साच्चै फोन नम्बर माग्न बिर्सेकि हुन् या मलाई यात्राभरी खेलौना बनाएर गएकि हुन्? के यो सबै नियतिकै खेलबाड हो?’

प्रकाशित मिति: : 2020-06-27 07:31:00

प्रतिकृया दिनुहोस्