एसीसी प्रिमियर कप

नेपालको एक खेलमा तीन कीर्तिमान

एसियन क्रिकेट काउन्सिल (एसीसी) मेन्स् प्रिमियर कप नेपालको राजधानी काठमाडौँमा जारी छ। यही वैशाख ५ गतेदेखि सुरु भएको प्रतिस्पर्धामा हालसम्म १६ खेल भइसकेका छन्। जसमध्ये नेपालले आफ्ना तीन खेलमध्ये दुई खेलमा जित निकालेको छ। भने, एक खेल वर्षाको कारण रद्द हुँदा अंक बाँडेको छ।

एसियाका १० देश सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल सो नतिजासहित समूहको शीर्षस्थानमा रहेको छ। यस समूहमा नेपाल ५ अंकसहित पहिलो स्थानमा छ। भने, ४ अंकसहित ओमान दोस्रो तथा ३ अंकसहित साउदी अरबिया तेस्रो स्थानमा रहेको छ। त्यसैगरी २ अंक रहेको मलेसिया चौंथो र कतार अंकविहीन रहँदै पुछारमा छ।

समूह ‘ए’मा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको थियो। भने, सोमबार साउदी अरबियासँगको खेल वर्षाको कारण रद्द भएको थियो। उक्त नतिजासहित नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले वैशाख १४ गते कतारसँग प्रतिस्पर्धा गर्नेछ।

एक खेल, तीन रेकर्ड

कुशल मल्लको ओडिआईमा पहिलो शतक

नेपालका ब्याटस् म्यान कुशल मल्लले एसीसी प्रिमियर कपमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा पहिलो पटक शतक प्रहार गरेका छन्। मल्लले शुक्रबार ओमानविरुद्वको खेलमा शतक प्रहार गरेका थिए।

उनले ओमनविरुद्वको खेलमा ५९ बलमा ९ चौका र ९ छक्का सहारमा १ सय ८ रन बनाएका थिए। ओपनर र भरपर्दा खेलाडीहरुले राम्रो प्रर्दशन गर्न नसकेको सो खेलमा उनले बिस्फोटक प्रहार गर्दा नेपाले ओडिआईमा उच्च स्कोर बनाएको थियो। सो खेलमा नेपालले पूरा ५० ओभर खेलेर ८ विकेट गुमाएर ३ सय १० बनाएको थियो।

सो खेलको छैठौँ नम्बरमा क्रिजमा आएका १९ वर्षीय कुशल ओडिआईमा शतक प्रहार गर्ने नेपालको छैठौँ खेलाडी बनेका छन्।

कुशलले २०२० मा विश्वकप लिग टु अन्तर्गत अमेरिकाविरुद्वको खेलबाट डेव्यु गरेका थिए।

ओडिआईमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपमार्फत ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन्।

सन्दीपले ४२ खेलमा १०० विकेट लिन सफल भए। सन्दीपले शुक्रबार ओमानविरुद्व पहिलो बलमै विकेट लिँदै सो रेकर्ड बनाएका थिए। उनले अफगानिस्तानका राशिद खानको रेकर्ड ब्रेक गरेका हुन्। खानले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए।

ओडिआईमा अहिलेसम्मकै उच्च स्कोर

नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्वको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा अहिलेसम्मकै उच्च स्कोर  ३१० रन बनायो । कुशल मल्लको शतकीय र सोमपाल कामीको अर्धशतीय इनिङको सहायतामा कीर्तिमानी स्कोर बनेको हो ।  

प्रकाशित मिति: : 2023-04-25 17:25:00

प्रतिकृया दिनुहोस्