मङ्गलबार, १६ सेप्टेम्बर २०२५

फाँक नाँच संरक्षण गर्न भूमेबासी अग्रसर, मौलिक संस्कृति संरक्षणको पहल

Breaknlinks
• • •

रोल्पा र रुकुमका मगर समुदायमा प्रचलित परम्परागत फाँक गीतको संरक्षणमा रुकुम (पूर्व) को भूमे गाउँपालिकाका कलाकार जुटेका छन्।

कलाकार तिलक रोका मगर र बिमला रोका मगरले फाँक गीतलाई म्युजिक भिडियो निर्माण गरी बुधबार काठमाडौंमा सार्वजनिक गरेका छन्।

लोपोन्मुख गीत रेकर्ड गरेर संरक्षणको प्रयास गरिएको गायक तिलक रोका मगरले बताए। करिब २० मिनेट लामो म्युजिक भिडियोको निर्माण गायक तथा गायिका स्वयंले गरेका हुन् भने यसको निर्देशन तथा छायाँकन विशाल रोकामगरले गरेका छन्। भूमेमा छायाङ्कन गरिएको गीतमा ग्रामीण जनजीवनको चित्रण गरिएको छ।

विशेषत रुकुम-रोल्पाका भूमे र थबाङ गाउँपालिकाका मगर बाहुल्य गाउँ बस्तितिर फाँक नाँच प्रचलितमा थियो। तर अहिले यो नाँच लोपोन्मुख अवस्थामा रहेको कलाकर तथा निर्माता तिलक रोका मगरले बताए। यसरी लोप हुन लागेका गीत र नाँचप्रति उनको चिन्ता रहेको र यसैलाई पुनर्जीवित गर्नलाई उनी जुटेका बताए।

'चैते दशैँको दिन नाँच सुरु हुन्छ र नाच तिहार र मंसीरे पुन्नी सम्म नाच्छन्' उनले भने। बूढापाकाका अनुसार फाँक भनेको पखेटा पखेटा जोडेर नाचिने नाँच हो। फाँक गीतमा तालमा ताल मिलाएर महिला पुरूष नाच्ने गर्दछ। 

यसको चालहरुमा एकधर्के, दुईधर्के, तीनधर्के, दोहोरे आदि हुन्। गीतमा थर्किमाता , सिनि माता, भूमे मातालाई पुजेर अनुमति माग्ने चलन छ। त्यस्तै सृष्टि, अग्रज र गुरुहरुलाई मान्ने चलन पनि छ।

गीतमा मानव जातिको सृष्टि र जीवनशैली गीतको रुपमा गाउँदै विभिन्न चालामा मादलको तालमा नाच्ने गरिन्छ।

सानैदेखि मौलिक गीत संगीतमा रुचि रहेका कलाकर रोका मगर पेशाका कारण पूर्णकालीन यस क्षेत्रमा निरन्तरता दिन सकेनन्। मौलिक संस्कृति जगेर्ना र  योगदान कसरी पुर्‍याउने भन्ने उनको मनमा सधैँ खट्किरहेको उनि वताउछन। आफ्नो व्यस्त पेशागत समय बचाएर गाउँघरका लोक संगीतलाई पुनर्जीवन दिन उनि लागिपरेका छन्।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्यतामा भूमे समाज काठमाडौंले नेपाल पर्यटन बोर्डको सभाहलमा म्युजिक भिडियो विमोचन कार्यक्रम आयोजना गरेको हो।

'हामी मगर समयदायको आफ्नै मौलिक भेषभुषा र संस्कृति छ। हाम्रो मौलिक संस्कृति फाँक गीत रेकर्ड गरेर म्युजिक भिडियो बनाएर भूमेका कलाकारले उदाहरणीय काम गरेका छन्’, प्रमुख अतिथि मगरले भने। गाउँघरमा सिमित गीतसंगीतलाई युट्युवमार्फत विश्वमा प्रचार गरेकामा उनले सबैलाई धन्यवाद दिए।

कार्यक्रममा सबैले मन्त्रमुग्ध भएर म्युजिक भिडियोको अंश अवलोकन गरेका थिए। 'संस्कृति नै हाम्रो पहिचान हो’ कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका उपाध्यक्ष चन्द्र रिजालले भने, ’फाँक गीत जस्ता सम्पदालाई पर्यटन प्रोडक्टका रुपमा पनि विकास गर्न सकिन्छ।’

भूमे गाउँपालिकाले समेत स्थानीय लोक संस्कृति संरक्षण र संवर्द्धन गर्न सांस्कृतिक प्रतियोगितासमेत आयोजना गर्दै आएको उनले बताए। नचारु,  झोलेनि,  मयुर,  भूमे , फाँकजस्ता पारम्परिक नाँचहरुको प्रतियोगितामा गाउँपालिकाद्वारा सहयोग गरिरहेको छ।

४२ वर्षे भूमेका क्याङसी निवासी कलाकार तिलक रोका मगर पेशाले स्वस्थकर्मी हुन्। हाल उनी भूमे-२ , काँक्रीस्थित स्वस्थ्य चौकीमा इञ्चार्जको रुपमा कार्यरत छन्।

रोका मगरले यसअघि श्याम साँईला , साँइला जी जस्ता म्युजिक भिडियो निर्माण गरिसकेका छन्।

रुकुम (पूर्व), भूमेका काँक्री गाउँमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा मगर भेषभूषामा सुसज्जित कलाकरहरु तिलक रोका मगर, विमता घर्ती मगर, शिखर बिक , वीरजङ्ग बुढा मगर सहित दर्जनौँ कलाकारले जिवन्त अभिनय गरेका छन्।

म्युजिक भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!