‘दशा हैन नशा हो’

लघुकथा

शनिबारको दिन बिहान करीब ११ बजे। चर्कने घाम छ। गीता र अञ्जली बजार जान भनि घरबाट निस्किएँ। जेठको महिना रातभरि पानी परेकाले बाटोको अवस्था त्यति ठिक छैन।

गाडीले अलि ढिला गर्‍यो उनीहरू साढे १२ बजे मात्र बजार पुगे। उनीहरू दुबैलाई अति प्यास लागेको थियो र त्यहाँ पुग्नासाथ नजिकैको होटेलमा पानी पिउन पसे।  त्यहाँ आफ्नै गाउँको एउटा फुच्चे भाइले मदिरा सेवन गरिरहेको देखे। उनीहरुले त्यो दृश्य हेर्न सक्दैनन्। नजिक गएर दुवै जनाले धेरै सम्झाउने कोशिस गरे। तर ऊ कुनै पनि हालतमा मान्ने पक्षमा छैन। उल्टै उसले भन्यो, ‘तिमीहरूको खाएँ कि, तिमीहरूको बाउको खाए? खान्छौं भने बस पैसा सबै मै दिउँला। तर मैले खाको आरिस नगर।’

त्यति सुनेपछि गीता र अञ्जली त्यहाँबाट चुपचाप निस्किए। उनीहरूले घरमा अभिभावकलाई जानकारी र सचेत गराउने निर्णय गरे। बेलुका गीता र अञ्जली दुबै त्यो फुच्चे भाइका घरमा जान्छन् र दिउँसो भएका कुरा सबै सुनाउँदै भन्छन्, ‘भाइ हाम्रो हो। हामीले नै उसलाई सुधार्नु पर्छ। त्यसरी जथाभावी हिँड्न दिनुहुँदैन। नशामा हुन्छ उसलाई बाइकमा खतरा छ, बाइक चलाउन नदिनू’, फुच्चेका बाबुलाई सम्झाइरहेका थिए। एक्कासी उसकी आमा भित्रबाट बुरूक्क उफ्रिँदै, पाखुरा सुर्कदै निस्किन्।

‘कति रिस गरेको हँ! गर्न चाहिँ के खोजेको तिमीहरूले? कति हत्ते गरेर बल्ल बल्ल किनिदिएको त्यसलाई बाइक किन नदिनु चलाउन हँ? बरू त्यसले बाइक चलाको हेर्न सकेनौं, हाम्रो नेत्र जले भन न, किन अर्काको देउता जस्तो छोराको बदनाम गर्छौ? हाम्रो छोरो कस्तो छ, कहाँ जान्छ के गर्छ, हामीलाई थाहा हुँदैन? तिमीहरूले हामीलाई भन्न सुनाउन केही पर्दैन र अर्को कुरा याद राख हामी आमा बाबु हुँदाहुँदै  हाम्रो छोराको लागि कसैले टाउको दुखाउनुपर्दैन, 'घर भाड्न पल्केका' त्यति अबुज छैन म तिमीहरूको कुरा सुनेर आफ्नो घर बिगार्ने!’ उसकी आमाका त्यस्ता अवाञ्छित शब्द सुन्न नसकेर गीता र अञ्जली त्यहाँबाट जुरुक्क उठेर आफ्नो घर आए।

त्यसको ठिक चार दिन पछि त्यो फुच्चे नराम्रो गरि सडक दुर्घटनामा पर्‍यो। उसले आफ्ना दुबै गोडा र एउटा हातसम्म गुमाउन पुग्यो। यो विषयमा गीता र अञ्जली धेरै दुःखी छन्। पुरा एक महिना पछि जब अस्पतालबाट उसलाई घर ल्याए त्यहाँ गीता र अञ्जली साथै धेरै जना भेला थिए। त्यस समय फुच्चेकी आमा जोर जोरले चिच्याउँदै रूँदै थिइन्,  ‘मेरो बाबुलाई दशा लागेको, मलाई दशा लागेको’ त्यो दृश्य गीताले चुपचाप हेरिरहेकी थिइन् भने पनि अञ्जलीले चुपचाप हेरिरहन सकिनन् र उनले भनिन्, ‘काकी यो दशा लागेको होइन नशा लागेको हो। अस्ति हामीले भनेको कुरालाई बुझ्ने कोशिस गर्नुहुन्थ्यो र हाम्रो कुरा सुन्नुहुन्थ्यो भने आज यो दिन देख्नुपर्ने थिएन।’

अञ्जलीलाई लाग्यो फुच्चेकी आमाको दिमागमा लागेको  कालो हट्यो त्यसैले त्यति भनिन्। तर के थाहा फुच्चेकी आमाको  दिमागमा कालो लागेको होइन दिमागनै कालो छ भन्ने ।

सबै आ-आफ्ना घर जान लागे। गीता र अञ्जली पनि दुःखी मन गर्दै घर फर्किए । भोलिपल्ट गिता र अञ्जलीलाई फुच्चेको हत्या गर्ने प्रयासको आरोपमा प्रहरीले लिएर जान्छ।

प्रकाशित मिति: : 2020-06-27 10:35:16

प्रतिकृया दिनुहोस्