पश्चिम बंगालमा रक्सी डेलिभरी गर्न अमेजनले पायाे स्वीकृति

विश्वकै सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले भारतको पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबार गर्ने भएको छ। यस कम्पनीले गत वर्ष नै भारतमा साढे ६ अर्ब लगानी गर्ने जनाएकाे थियाे।

गत शुक्रबार पश्चिम बंगाल राज्य पेय पदार्थ निगमले एक सूचना जारी गरेको थियो। उक्त सूचनाअनुसार पश्चिम बंगालमा पेय पदार्थको अनलाइन खुद्रा कारोबारका लागि दर्ता हुन योग्य कम्पनीहरूमा अमेजन समेत परेको छ।

यसवाहेक चिनियाँ कम्पनी अलिबाबाको लगानी रहेको भारतीय कम्पनी बीग बास्केटले पनि पश्चिम बंगालका विभिन्न सहरमा अनलाइन मदिरा कारोबारको अनुमति पाएको छ।  

भारतमा खाद्यान्नको अनलाइन कारोबार गर्ने अन्य दुई कम्पनी स्विग्गी र जोमाटोले गत महिनादेखि नै केही सहरहरूमा मदिराको अनलाइन कारोबार सुरु गरिसकेका छन्।

भारतको चौथो ठूलो जनसंख्या छ। पश्चिम बंगाललाई मदिराजन्य पदार्थ खपतका हिसाबले ठूलो बजार भएको क्षेत्रको रुपमा पनि लिइन्छ। भारतमा वर्षेनी २७ अर्ब २० करोड डलर बराबरको मदिराको कारोबार हुने गर्दछ। 

भारतमा गत मार्चमा कोरोना भाइरसका कारण भएको लकडाउनसँगै विभिन्न राज्यमा मदिराको कारोबारमा रोक लगाइएको थियो। तर धेरै राज्यहरूमा लकडाउन खुलेसँगै मदिराको कारोबार पनि आकासिएको छ।

मदिरामाथि बन्देजलाई केही खुकुलो पारिएसँगै गत मे महिनामै भारतमा मदिरा पसलहरूमा ग्राहकहरूको ठूलो भिड लागेको देखिएको थियो।

तथापि कोरोना भाइरसको महामारी बढिरहेको सन्दर्भमा सबै उपभोक्ताहरु अझै पनि मदिरा खरिदका लागि पसलसम्म जान हिच्किचाइरहेको सन्दर्भमा मदिरा उद्योगहरुले मदिराको अनलाइन कारोबारलाई खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-27 18:52:47

प्रतिकृया दिनुहोस्