नेपाली कामदार स्वदेश फर्किएपछि सिमलाका स्याउ किसानहरु समस्यामा

बिएल संवाददाता

सिमला, भारत

भारतकाे सिमलामा स्याउ टिप्ने सिजनमा कामदार नहुँदा कृषकहरु समस्यामा परेका छन्। 

कोरोना भाइरसकाे महामारीका कारण लकडाउन सुरु भएसँगै नेपाल–भारतकाे सीमा बन्द हुँदा किसानहरु मर्कामा परेका हुन्।  

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार चालु लकडाउनका कारण नेपाल फर्किएका नेपाली कामदार भारत फर्किन नसकेका कारण स्याउ टिप्ने समयमा संकट उत्पन्न भएकाे हाे। 

स्याउ उत्पादक दिग्विजयका अनुसार धेरै संख्यामा नेपाली कामदारहरु यहाँ आउने गरेका छन्।

‘कोभिड–१९ काे कारण श्रमिकको अभाव भएकाे हाे। एक प्रदेशबाट अर्कोमा जानसमेत पास चाहिन्छ जुन लिन निक्कै झन्झट पनि छ। यस्तो अवस्थामा सीमा पार रहेका नेपाली मजदुरहरु यहाँ आइपुग्ने अवस्था छैन,’ उनले भने।  

उनले नेपालबाट आउने श्रमिकहरुलाई सीमा नाकामा केही सहज गर्दिन पनि भारतीय सरकार समक्ष आग्रह गरेका छन्। दिग्विजयले समयमा नै स्याउ संकलन गर्न नसकेमा ठूलो क्षति बेहोर्न पर्ने अवस्था आउने बताए। 

सिमलामा स्याउ मात्रै नभएर अन्य बगानमा काम गर्ने नेपालीकाे संख्या पनि उत्तिकै रहेकाे छ। यहाँ खासगरी नेपालीहरु बढी मात्रामा कृषि क्षेत्रमा काम गर्न आउने गर्छन्। यहाँका धेरै किसान नेपाली कामदारमा निर्भर हुने गरेका छन्। तर नेपाली भारत फर्किन नपाउँदा स्याउमात्रै नभएर तरकारी बाली भित्र्याउन पनि समस्या परेको छ।

‘हामीलाई नेपालका किसान मजदुर दाजुभाइबाट दिनहुँजसो फोन आइरहन्छ। तर, उनीहरुलाई यहाँसम्म पुग्ने कुनै उपाय छैन,’ यहाँका श्रमिक नरेश शाहीले भने।

हिमाञ्चल प्रदेशको कृषि कार्यालयका प्रिन्सिपल सेक्रेटरी तथा चिफ नोडल अफिसर अंकर चन्द शर्मा नेपाली कामदार भित्र्याउन सरकारले सहयोगी भूमिका खेलको बताउँछन्। उनका अनुसार यस्ता कामदारलाई क्वारेन्टाइनमा नै नराखी काममा खटाइने सुविधा दिइएको छ।

‘यस्ता कामदारलाई क्वारेन्टाइन विना नै काममा जान अनुमति दिइएको छ तर उनीहरुलाई जसले ल्याउने हो उनीहरुले बस्ने व्यवस्था भने अरुभन्दा अलग हिसाबले गर्नुपर्ने छ,’ उनले भने। उनीहरुमा कोरोना भए/नभएको परीक्षण भने अनिवार्य गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2020-06-28 22:44:37

प्रतिकृया दिनुहोस्