जुन रुखमुनि सुतेथे मदन भण्डारी

 

भरत खड्का

‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर) दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन रातभर सुत्नुहुन्थ्यो र दिनभर बैठकका लागि मेरो घरमा आउनुहुन्थ्यो।’

सिरहाको तत्कालीन विष्णुपुरकट्टी गाविस ३, हालको धनगढीमाई नगरपालिका १४ राईरैनी गाउँ र उदयपुरको कटारी नगरपालिका ६ सर्रेआम्बासीको सीमा क्षेत्र का ८१ वर्षीय बलबहादुरको घरदेखि हर्रोको रुख ५० मिटर पर छ। ‘त्यतिबेला कहाँ यस्तो सरसफाई र खुल्ला थियो र ? जताततै वनमारा र अन्य बोटविरुवाको घारी थियो’, उनले विगत सम्झिए, ‘ओढ्ने ओच्छ्याउने पनि थिएन, सेउला ओच्छ्याएर एक्लै सुत्नु हुन्थ्यो।’ उनले त्यतिबेला भूमिगत हिँडेका नेतालाई सेल्टर दिएको थाहा पाएको भए प्रशासनले आफ्नो परिवार नै सिध्याउन सक्ने उनको भनाइ छ। तर, पनि जोखिम मोलेर आफूले पनि परिवर्तनका खातिर देश र जनताका लागि सहयोग गरेको उनले स्मरण गरे। ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी नेपाली राजनीति वृत्तमा निकै लोकप्रिय नाम हो। सादा जीवन उच्च विचारका साथ राजनीति यात्रामा प्रवेश गरेका उनको राजनीति यात्रा लामो रहे पनि नेतृत्वदायी भूमिका सिरहा र उदयपुरको सीमास्थलबाट सुरु भएको इतिहास भेटिन्छ।

प्रकाशित मिति: : 2020-06-29 08:28:11

प्रतिकृया दिनुहोस्