नाना पाटेकर सुशान्त सिंह राजपुतको घरमा

बलिउडका चर्चित अभिनेता नाना पाटेकर केही समयअघि आत्महत्या गरेका सुशान्त राजपुतको घर पुगेका छन्। 

आइतबार बिहारको पटनास्थित सुशान्तको घरमा एक्कासी पुगेका नाना परिवारका अन्य सदस्यसँग भेट्दा भावुक भएका थिए। 

उनले सुशान्तलाई राम्रो व्यक्तित्व भएको मानिसको रूपमा स्मरण गरे र भने, ‘उनले न्याय पाउने छन्। सुशान्तको निधनले देश दुःखी भएको छ।’
नाना दुई दिनको बिहार भ्रमणका क्रममा सुशान्तको परिवारलाई संवेदना दिन घर पुगेका हुन्। 

उनी एउटा एनजीओको कार्यक्रममा बिहार पुगेका थिए। उनले राजीव नगरस्थित सुशान्तको घरमा बुवा तथा परिवारका अन्य सदस्यलाई भेटेको बताइएको छ। 

१४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नो फ्ल्याटमा फासी लगाएको अवस्थामा भेटिएका थिए। शनिबार उनको १३ औं दिनको काम सकिएको थियो। सुशान्तको आत्महत्याको तथ्य पत्ता लगाउन मुम्बई पुलिस जुटेको छ। 

उनको आत्महत्यापछि घरमा अभिनेता तथा नेताहरूको आउने क्रम जारी छ। केही दिनअघि भोजपुरी गायक तथा भारतीय जनता पार्टीका सांसद मनोज तिवारी, खेसारी लाल यादव, अक्षरा सिंह सुशान्तको घर पुगेका थिए। बिहारका उप मुख्यमन्त्री सुशील कुमार मोदी तथा विपक्षी नेता तेजस्वी यादवले पनि परिवारका सदस्यलाई भेटेर संवेदना दिएका थिए।
 

प्रकाशित मिति: : 2020-06-29 08:29:29

प्रतिकृया दिनुहोस्