सुन्दर र व्यवस्थित वीरगञ्ज बनाउने अभियान सुरु, बजार अनुगमनदेखि सडकमा डिभाइडर लगाउने काम गरिँदै

व्यवस्थित वीरगञ्ज अभियानले घण्टाघर चाेकदेखी माइस्थान जाने बाटोसम्म राेड डिभाइडर लगाउन थालेकाे छ। अस्तव्यस्त रहेको वीरगञ्ज बजारको ट्राफिक व्यवस्थापनका दुईतर्फी बाटो बनाउने अभियान स्वरुप पहिलो चरण अन्तर्गत घण्टाघरमा डिभाइर लगाउने कामको सुरुवात गरेकाे हाे।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा उपलब्ध भएको ४० पिस प्लाष्टिकको डिभाइडर महानगरका मेयर विजय सरावगीले बुधबार बिहान दमकलको सहायताले पानि राखेर उद्घाटन गरेका हुन् ।

वीरगञ्ज महानगरलाई सुन्दर र व्यवस्थित बनाउने दायित्व महानगरपालिका र प्रहरी प्रशासनको मात्र नभइ सबैको भएकाले सम्पूर्ण नगरवासी मिलेर यस अभियानलाई सफल बनाउन मेयर सरावगीले अह्वान गरे।
 
वीरगञ्जको मुख्य सडकमा सवारीसाधनको चाप बढि हुने तर सडक साघुँरो भएको हुदाँ ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको बेला डिभाइडरले केही राहत दिएकाे पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। ‘सडक साघुँरा र सवारीको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा असहज भइरहेको थियो। यसलाई नै मध्यनजर गर्दै आम नागरिकको सुरक्षार्थ प्लास्टिकको डिभाइडर लगाइएको हो,’ एसपी पन्तले भनिन्। 

व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत यस्ता डिभाइडरको आउँदो दिनमा बढि सवारी चापहुने मुख्य चोकहरुमा समेत बिस्तारै व्यवस्था गरिँदै जाने  उनले बताइन्।

ग्रीनसिटि सामुदायीक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज नगरलाई हराभरा बनाउने कार्य कसैको एक्लाे प्रयासमा सफल नहुने भएकाले यसतर्फ सबै जिम्मेवार हुनुपर्ने बताए। 

‘यसअघि पनि यस्ता अभियान भएको हो। तर अहिले हरेक संस्था यसमा सहयोगीको भूमिका निर्वाह गरेका  छन्। यसरी नै सहयोग गरे यस वर्षको अभियान अवस्य सफल हुन्छ,’ उनले भने ।

नेपालको मुख्य प्रवेशद्धारको रुपमा रहेको वीरगञ्ज महानगरलाई सुन्दर र हाराभरा बनाउने हरेक निकाय एकजुट हुनपर्ने व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिप राज कार्किले बताए । 

‘यहाँको मुख्य समस्या छाडा चौपाया फोहोर व्यवस्थापनदेखि अन्य समस्याको समाधानमा यो अभियानले प्रभावकारी काम गर्दे आएको छ,’ उनले भने,‘अब बजार व्यवस्थापन भएदेखि ट्राफिक पनि व्यवस्थापन हुन्छ। साथै कोरोनाको संक्रमणलाइ समेत नियन्त्रण गर्न सकिन्छ।’

यता अभियानले आज बिहान बजारको अनुगमन समेत गरेको छ । कोरोनाको संक्रमणकालमा सामाजिक दुरी कायम नै नगरी अव्यवस्थित रुपमा पसल संचालन गरेको तथा जथाभावि फोहोर फाल्ने पसलहरुको समेत अनुगमन गरेको हो। 

अभियानले मंगलबार नगर क्षेत्रको फोहोर व्यवस्थापन, सडक अतिक्रमण गरेर राखिएको गिटी बालुवा नियन्त्रणका साथै छाडा चौपाय नियन्त्रण, व्यवस्थित रुपमा सवारी पार्किङ्कका लागि आवश्यक पहल, अव्यवस्थित पार्किङ्ग हटाउने कार्यलाई अगाडि बढाएको थियो ।

समुदाय साझेदारी कार्यक्रम अन्तर्गत आज भएको सो अभियानमा ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरिक्ष कमलराज पण्डित, पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने ,जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत पर्सा प्रहरी तथा समाजसेवीहरुकाे उपस्थिति थियाे।

यता विश्वभरी फैलिएको कोरोना भाइरसबाट सबै सुरक्षित र सचेत रही अरुलाई पनि सचेत बनाउने उद्देश्यले सुरुवात गरिएको सो अभियान अन्तर्गत आज दिउसो प्रहरीको टोली खटाइ मास्क नलगाई खुलेआम बजारमा हिँड्डुल गर्नेहरुलाई २/३ घण्टा उभाएर दण्डित गरिने एसपी पन्तले बताइन् ।  

प्रकाशित मिति: : 2020-07-01 13:25:00

प्रतिकृया दिनुहोस्