जगदीपको निधनले भावुक बनेका धर्मेन्द्रले भने, ‘मलाई आठ आनाको सिक्का दिएको थियो’

बलिउडका हास्य कलाकार जगदीपको निधनलाई लिएर निकै भावुक भएका चर्चित कलाकार धर्मेन्द्रले उनीसँग जोडिएका थुप्रै अनुभव बताएका छन्। जगदीपको ८ जुलाईमा निधन भएको थियो। 

अमिताभ बच्चन र धर्मेन्द्र हिरो रहेको ‘शोले’ फिल्ममा जगदीपले जीवन्त अभिनय गरेका थिए। धर्मेन्द्रले प्रतिज्ञा र सुरमा भोपालीमा पनि जगदीपसँग काम गरेका थिए। जगदीपलाई धर्मेन्द्र हँसिलो मानिसको संज्ञा दिन्छन्। 

निधन हुनुअघि गत महिना मात्र थुप्रै पल्ट जगदीपसँग भेट भएको भन्दै उनले भने, ‘मेरो सिक्का जम्मा गर्ने बानी छ। उनले आठ आनाको पुरानो सिक्का ल्याएर दिएका थिए।’

धर्मेन्द्रले आफ्नो जवानीको दिनमा चार आना र आठ आनाको सिक्काको ठूलो महत्व हुने गरेको भन्दै जगदीपले आफूलाई सिक्का दिएपछि पुरानो दिनमा पुगेको बताए। ‘उनले मलाई भने– पाजी मलाई थाहा छ, तपाईको पुरानो सिक्का जम्मा गर्ने बानी छ। मसँग थियो, कृपया यसलाई राख्नु होस्। यति बेला उनले आठ आना पैसा ल्याएर दिएका थिए,’ धर्मेन्द्रले भावुक हुँदै भने। 

उनले सन् १९८८ मा रिलिज ‘सुरमा भोपाली’ मा काम गरेपछि जगदीपसँग झन् नजिक भएको बताए। त्यति बेला जगदीपको आमा बिरामी भएको र आफू भेट्न धेरै पल्ट उनको घर भएको बताए। ‘उनको केटाकेटी सानो हुँदादेखि नै घरमा आउने जाने थियो,’ धर्मेन्द्रले भने। 

जगदीप खानपीनको पनि निकै सौखिन रहेको उनले बताए। ‘उनी आफै पनि मिठो बनाउँथे,’ धर्मेन्द्रले भने। ‘इश्क पर जोर नही’ फिल्ममा जगदीपले बंगालीको भूमिका निर्वाह गरेका थिए। यति बेला उनी हिन्दी पनि बंगला शैलीमा बोल्थे। क्यारेक्टरमा डुब्ने उनको कलाले आफूलाई निकै प्रभावित तुल्याएको धर्मेन्द्रले बताए। 

‘शोले’ मा सुरमा भोपालीको अभिनयले उनी चर्चित बनेका थिए।

प्रकाशित मिति: : 2020-07-10 14:11:19

प्रतिकृया दिनुहोस्