निर्वाचन विशेष

अबकाे ४० वर्षपछि याे देश कस्ताे बनाउने भन्ने याेजना बनाएर बसेकाे छु: रवीन्द्र मिश्र (भिडियाे)

ममता आचार्य

काठमाडौं

पत्रकारिता छाडेर २०७३ फागुनमा राजनीतिमा हेमिएका रवीन्द्र मिश्रले छोटो समयमै उल्लेख्य चर्चा कमाएका छन्। साझा पार्टी खाेलेर राजनीतिक यात्रा सुरु गरेका उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष हुन।

मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यकाे लागि उनले काठमाडाैँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन्। उनी दाेस्राे पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

उनै रवीन्द्र मिश्रसँग निर्वाचनकाे विषयमा रहेर बिएल नेपाली सेवाकाे लागि ममता आचार्यले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?

हामी अहिले घरदैलो अभियानमा लागिरहेका छौँ। घरदैलो अभियानमा हिँड्दा धेरैले चिन्ने अवसर पाइराख्नुभएको छ। निकै नै उत्साहजनक भइरहेको छ।

तपाईं अघिल्लो निर्वाचनमा पराजित हुनुभएकाे थियाे, फेरि किन उम्मेदवारी दिनुभएकाे त ?

अघिल्लो निर्वाचनमा मैले जम्मा ८ सय १९ मतले मात्र हारेको थिएँ। त्यो समयमा मतगणनाको अन्तिम दुई दिन बाँकी थियो। त्यहाँ के–के चलखेल गरेर मलाई हराए। त्यतिबेला ४ सय १० मत आएको भए मैले जित्ने नै थिएँ। धेरै मतान्तरले हारेको थिइन्। सिङ्गो देश बनाउने लक्ष्य लिएर हिँडेको मान्छेले फेरि निर्वाचन नलड्ने भन्ने हुँदैन। त्यसैले नै उम्मेदवारी दिएको हुँ।

तपाईंका एजेण्डाहरु के-के छन् ?

हाम्रा एजेण्डा तीन/चार खण्डमा विभाजन छ। देशको दुर्गामी हित, जुन सांसद र विधायकको रुपमा निर्वाह गर्ने भूमिकासँग सम्बन्धित छ। पहिलो खण्ड: देशको अर्थतन्त्र, विकास, कानुनको निमार्ण, सुरक्षा, कुटनीति, दीर्घकानीन शान्ति, स्थिरता, स्वाधीनता, अखण्डतासँग सम्बन्धित छ।

दोस्रो खण्ड: काठमाडौं क्षेत्र नं. १ को समस्या (पानी, बत्ती, बाटो र ढल) र यहाँका जनताको आकांक्षाहरुसँग सम्बन्धित छ।

तेस्रो खण्ड (अर्थ राजनितीक) : यो देशको भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह प्रमुख मुद्दा हो। यो सँग सँगै नि:शुल्क र गुणस्तरिय सार्वजनिक शिक्षा र स्वास्थ्य, यो देशका हरेक नागरिकको नैसर्गिक मानव अधिकार हो।

तपाईंको प्रतिद्वन्द्वीकाे रुपमा गठबन्धनका प्रकाशमान सिंह, एमालेका किरण पौडेललगायत अन्य दलका बलिया उम्मेदवार छन्, तपाईं चुनाव जित्नेमा कत्तिकाे ढुक्क हुनुहुन्छ ?

जित्छु मात्र होइन, यो पटक हामीले ८ हजार मतले जित्छौँ नै भनेर हिँडेका छौँ। किनभने, जतिले उम्मेदवारी दिएका छन्, मतदाताले सबैलाई कहाँ जिताउनु हुन्छ र ? जो उम्मेदवार ठिक छ उसलाई दिनुहुन्छ। त्यो मत हामीलाई नै आउँछ। त्यसलैले हामी ढुक्क छौँ।

चुनावी प्रचारप्रसारसँगै तपाईंले अन्य दलका नेताहरुलाई गालीगलौज गरेको आरोप छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

चुनावमा मात्र नभई अरु समयमा पनि सत्तामा धेरै पटक बसिसकेका नेताहरु प्रतिपक्षबाट आलोचित हुन्छन्। त्यो आलोचना मैले पनि गरेको छु। तर, मेरो आलोचना सबै भद्र हन्छन्। मैले तथानाम गाली गरदिनँ।

क्षेत्र नं. १ का मतदाताले हलोमा किन भाेट हाल्ने ?

हरेक क्षेत्रका जो कोही व्यक्तिले म अरुभन्दा अब्बल छु, भन्ने प्रचलन नै छ। तर, म साँच्चै इमान्दार, योग्य र क्षमतावान छु। मैले यो देशलाई शिरमा राखेर हिँडेको छु। धेरै पहिला देश र समाजको लागि परोपकारी काम गरेको पनि छु। अबको ३०/४० वर्षपछि यो देश कस्तो बनाउन पर्छ ? सोचेको छु, लेखेको छु र बुझेको छु। देशको अर्थतन्त्र, राजनीतिलाई नजिकबाट नियालेको छु। यो देशको विकासका विषयलाई बुझ्छु भन्ने धारणा राख्छु। यी सबै विषय, मेरो एजेण्डा र पृष्टभूमिलाई ध्यानमा राखेर मत दिने हो।

मतदाताबाट कस्तो प्रकारको प्रतिक्रिया आइरहेको छ ?

यो पटकको भोट तपाईंलाई नै हो भन्नु भएको छ। हामी पुरानाबाट वाक्क भइसक्यौं, यिनीहरूले देश बार्वाद पारे भनेका छन्। यो पटक चाहिँ हामीलाई हलोमा भोट दिने भनेर यत्रतत्र सर्वत्र भएको छ।

अन्तिममा, के भन्न चाहनुहुन्छ ?

फेरि पनि नेतालाई सुखी बनाउने, आफू दुखी हुने, स्कुटरमा मास्क लागाएर धुलो खाँदै दौडिने, घरमा गम्भीर बिरामी पर्दा ऋण लिने र छोराछोरी पढाउन स्कुल कस्तो छ भन्दा पहिले बिलको तनाव लिने हो भने फेरि पनि सूर्य र रुखमा भोट हाल्नुस् होइन भने हलोबाहेक विकल्प छैन।

प्रकाशित मिति: : 2022-11-15 21:40:00

प्रतिकृया दिनुहोस्