अमिताभ वच्चन र अभिषेकलाई कोरोना संक्रमण, दुबै अस्पताल भर्ना, बलिउड स्तब्ध

बिएल संवाददाता

मुम्बै, भारत

बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टी भएको १२ घण्टा पनि नबित्दै उनका छोरा नायक अभिषेक वच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ। यो समाचार बाहिरिएसँगै बलिउड र उनीहरूका शुभचिन्तक स्तव्ध भएका छन्। 

अमिताभ र अभिषेक दुबैलाई मुम्बैको नानावती अस्पतालमा भर्ना गरिएको छ। वच्चन परिवारका अन्य सदस्य जया वच्चन, ऐेश्वर्या राय वच्चन, आराध्याको पनि कोरोना परीक्षण गरिएकोमा उनीहरूमा नेगेटिभ देखिएको छ। अहिले वच्चन परिवारका सबै सदस्य नानवती अस्पतालमै रहेको पनि भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

७७ वर्षीय महानायक अमिताभले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोेजेटिभ देखिएको खबर आफैं सार्वजनिक गरेका थिए। उनले आफू नानावती अस्पतालमा उपचारार्थ भर्ना भएको र परिवारका सदस्य तथा कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको र परिणामको प्रतीक्षा गरिरहेको जनाएका थिए।

उनले आफ्नो उपचार भैरहेको नानावती अस्पतालले स्वास्थ्य बुलेटिन जानकारी गर्ने जनाउँदै त्यही सूचनालाई मात्र आधिकारिक मान्न पनि सबैलाई आग्रह गरेका छन्। 

केही समययता बलिउडका धेरै सिताराहरूको मृत्यु भैरहेको छ। उनीहरूको मृत्यु अन्य रोगकै कारण भएको भनिए पनि त्यसमा धेरैले आशंका गरेका छन् । मृतक परिवारले मृत्युको वास्तविक कारण नदिएको हुनसक्ने अनुमानका साथ उनीहरूको मृत्युमा कोरोनाको कतै न कतै साइनो भएको उनीहरूको आशंका रहेको छ। 

तर, महानायक अमिताभले भने आफैं कोरोना संक्रमण भएको सूचना सार्वजनिक गरेर जनताको सुसूचित हुने अधिकारको सम्मान गरेका छन्। संसारमा कोरोना संक्रमणको सूचना लुकाउने र सार्वजनिक गर्ने दुईथरि मानिस छन्, त्यसमा अमिताभ  सूचना सार्वजनिक गर्नुपर्ने पक्षमा उभिएका छन्। 

प्रकाशित मिति: : 2020-07-12 01:09:00

प्रतिकृया दिनुहोस्