झापामा प्रधानमन्त्री कृषि परियोजनाको करीब साढे चार करोड खर्च भएन

कोभिड-१९ महामारी र लकडाउनको कारण कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन।
     
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा चारवटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सात करोड ७० लाख ७५ हजार रूपैयाँ बजेट निकासा भएको थियो। 

तर, कोभिड-१९ र बन्दाबन्दीका कारण चार करोड ४३ लाख २६ हजार खर्च हुन सकेन। परियोजनाले कार्यक्रमका लागि आएको तीन करोड २७ लाख ४९ हजार मात्र खर्च गरेको छ। कतिपय रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै फिर्ता भएको छ।

झापामा चालु आवमा परियोजना एकाइअन्तर्गत धान सुपरजोन, मकैजोन, सुपारीजोन र रबरजोन गरी चार कार्यक्रम सञ्चालनमा छन्। 

परियोजनाले जोनका कृषक, सहकारी र कृषिफार्मलाई कृषि उपकरण, सौर्य ऊर्जालगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापा प्रमुख रवीन्द्र सुवेदीले बताए। रासस

प्रकाशित मिति: : 2020-07-15 11:54:54

प्रतिकृया दिनुहोस्