युक्रेनका खनिजमाथि अब अमेरिकी ‘स्वामित्व’

लामो विवाद र छलफलपछि युक्रेनका दुर्लभ खनिजमाथि अमेरिकाले आफ्नो स्वामित्व स्थापित गरेको छ। अमेका र युक्रेनबीच भएको ‘रिकन्स्ट्रक्शन इनभेस्टमेन्ट फण्ड’ सम्झौताअनुसार अब युक्रेनी भू-भागमा भएका खनिज उत्खनन् गर्न अमेरिकाले अधिकार पाएको हो। 

यो सम्झौतामा अमेरिकी बित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी उपप्रधानमन्त्री युलिया स्विरीडेन्टले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि अमेरिकी वित्त विभागले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक सम्झौता भएको र यसबाट दुबै देशलाई ठूलो आर्थिक लाभ हुने बताएको छ। 

‘यसअघि नै बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिइसकेका छन्। अब हामीले युक्रेनसँग एउटा यस्तो सम्झौता गरेका छौं जसबाट अमेरिकलाई थुप्रै आर्थिक लाभ प्राप्त हुनेछ’ अमेरिकाले भनेको छ। 

युक्रेनमा भएका दुर्लभ खानीमा आफ्नो पहुँच स्थापित गर्नका लागि ट्रम्पले लामो समयदेखि कसरत गर्दै आएका थिए। सुरुमा आफ्नो देश नबेच्ने बताएको युक्रेन अमेरिकाको लगातार धम्की र रुसलाई हुनसक्ने सहयोगबाट गलेको थियो। 

त्यहीबीचमा ट्रम्पले युक्रेनका राष्ट्रपति भोदोमीर जेलेन्स्कीलाई ह्वाइट हाउसमा पनि बोलाएका थिए। तर त्यहाँ ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई निकै अपमान गरेर फर्काएका थिए। त्यसपछि पनि लामो छलफल पछि दुबै देशबीच सम्झौता भएको हो। 

युक्रेनसँग केही दुर्लभ खनिज पदार्थको विशाल भण्डार छ। जसमाथि अमेरिकाले कैयौं वर्षदेखि नजर लगाइरहेको थियो। ३ वर्षदेखि रुससँग लडिरहेको युक्रेनलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएसँगै डोनाल्ड ट्रम्पले त्यहाँको खनिजमा अमेरिकी स्वामित्व मागेका थिए। 
 

प्रकाशित मिति: : 2025-05-01 10:41:00

प्रतिकृया दिनुहोस्