किन चाहियो 'परिबन्दमा पार्ने' शीतल निबास ? 

'मलाई परिवन्दमा पारेर शीतल निबास लगियो' । 
यो भनाइ हो, सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको । उनले यति मात्र भनेनन्, आफू त्यहाँ पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेकपा अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा बैठकमा थिए। उनीहरूले दुबै अध्यक्षबीच सहमति हुनुपर्छ भनेर दबाब दिए, मैले मानिन।फर्कदा बाटैबाट छोरीलाई ओलीसँग कुनै सहमति नभएको भनाइ सार्वजनिक गर्न लगाएँ।'

नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेकपाका अध्यक्ष प्रचण्डको यो भनाइ चानचुने होइन। यसको सिधा अर्थ हुन्छ, शीतलनिबास अब राष्ट्रपति निबासभन्दा पनि परिबन्दमा पार्ने थलो बढी भएको छ। र, परिवन्दमा पार्ने खेलमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं संलग्न छिन्। यो असंवैधानिक त हो नै, नैतिक मूल्य, मान्यता र आचरणविपरित पनि हो। प्रकारान्तरमा यसले नेपाल, नेपाली र यहाँको शासनप्रणालीका लागि महंगो पर्ने खालका दुष्प्रभाव निम्त्याउने छ।

हुन त विद्यादेवीको शीतलनिवासमा बास भएदेखि नै स्थापित 'ओपन सिक्रेट' जस्तै हो यो। तर, यसका विरूद्ध कहिलै प्रभावकारी आवाज उठेन। संवैधानिक राष्ट्रपतिका बारेमा यस्तो प्रश्न उठाउन संविधानले नै निरूत्साहित गरेको तर्क दिएर आवाज उठाउनुपर्ने तर्किरहे। यद्यपि यो एक निम्सरो तर्क हो, राष्ट्रपतिले गैरसंवैधानिक काम गर्दा विरोध गर्न नपाइने भन्ने कहाँ हुन्छ र ? यस बीचमा उनको विलासी जीवनशैलीका बारेमा भने पटकपटक प्रश्न उठे। प्रधानमन्त्री ओलीले ती प्रश्नलाई गणतन्त्रविरूद्धको आवाज भनेर विषयान्तर गर्दै आए। उनले किन त्यसो गरे?, त्यसको उत्तर हरेक नेपालीलाई कसैलाई सिधा र कसैलाई लाक्षणिक अर्थमा थाहा नै छ। 

हुँदाहुँदा त केही सयमयता शीतलनिवास नेपालको संवैधानिक राष्ट्रपति कार्यालय र निबास हो भन्ने हेक्का राख्न पनि छोडियो। राति ११-१२ बजे पनि शीतलनिबासको ढोका प्रधानमन्त्री ओलीलाई भन्दा पनि नेकपाका अध्यक्ष ओलीका लागि खुल्लै हुन थाल्यो। उनका लागि मात्र हैन, उनका गुटका नेता कार्यकर्ताका लागि समेत शीतल निबास खुल्लै भयो। उनको गुटका गतिविधिका बिरूद्धमा उजुरी गर्नुपर्दा अर्का गुटका अध्यक्ष प्रचण्ड र नेता पनि त्यहीँ जान थाले। ओली गुटलाई अप्ठ्यारो पर्दा विद्यादेवीले अर्को गुटका अध्यक्षलाई बोलाएर सम्झाउने काम पनि त्यही हुन थाल्यो, विद्यादेवी आफैं सहमति गराउने र किनारामा साक्षी बस्ने काममा संलग्न हुन थालिन् । 

अब प्रश्न थपिएका छन् -  
शीतल निबास राष्ट्रपति कार्यालय हो कि नेकपाको ओली गुटको हेडक्वार्टर ?
शीतल निबासमा राष्ट्रपति बस्छिन् कि नेकपाकी सुप्रिमो ?
विद्यादेवी नेपालकी राष्ट्रपति हुन् कि नेकपाकी सुप्रिमो ? 
शीतल निबास राष्ट्रपति कार्यालय कि परिबन्दमा पार्ने ठाउँ ?
विद्यादेवी अब परिबन्दमा पार्न थालिन ?
राष्ट्रपतिको काम परिबन्दमा पार्ने हो ? 

सुरूका प्रश्न अलि साधारण थिए । उनी नेकपा एमालेकी उपाध्यक्ष हुँदै राष्ट्रपति भएकीले आफूलाई राष्ट्रपति बनाउने दलसँग भावनात्मक सम्बन्ध हुनु स्वभाविक हो भन्ने धेरैलाई लागेको थियो। यद्यपि, नेकपामा पनि उनको भावनात्मक सम्बन्ध ओली गुटसँग मात्र भएको सत्य कसैबाट छिपेको थिएन। र, अर्को पक्षले उनको त्यो पक्षधरतालाई लिएर प्रश्न पनि उठाएका थिए, विरोध पनि गरेका थिए।

केही समययता नेकपा अध्यक्ष ओलीले शीतलनिबासलाई पानीको पधेरोजस्तै बनाएका छन्। नेकपाका अर्का अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरूको दोहोरीलत्ता पनि उतै चल्दै आएको छ। यो देख्दा लाग्छ, शीतल निबास राष्ट्रपति भवनभन्दा पनि पनि नेकपाको हेडक्वार्टर हो। के यसरी नेपालमा राजतन्त्र ढालेर ल्याएको गणतन्त्रको औचित्य पुष्टि हुन्छ?

तर, अबका प्रश्न साधारण हैनन्। उनका पछिल्ला गतिविधिले अन्तत: नेपालको लोकतन्त्र र गणतन्त्रको चरित्रमाथि नै प्रश्न उठ्न थालेको छ। आलांकारिक राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठेको छ। यसले आम मानिसलाई राजतन्त्र र गणतन्त्रमा के फरक भयो ? हिजोका राजा र आजका राष्ट्रपतिमा के फरक भयो ? लगायतका प्रश्न सोध्ने मौका दियो। मानिसले यो पनि तुलना गर्न थाले कि हिजो राजाको जेठो छोरा राजा हुन्थ्यो आज मदन भण्डारीकी श्रीमती राष्ट्रपति भइन्। के फरक भयो त ? भन्नेले भन्लान् यी त जनताले चुनेकी राष्ट्रपति ? कसरी उम्मेद्वार भइन्, कसरी जितिन् ? त्यो सबै नजान्नेका लागि यो प्रश्नको अर्थ होला तर जान्नेका लागि यो एक नाङ्गो प्रश्न मात्र हो। रह्यो 'क्वालिटी'को कुरा, के यही हो त राष्ट्रपतिको 'क्वालिटी'। अब त ... लाई भन्दा पनि देख्नेलाई लाज भन्ने खालको अवस्था सिर्जना भैसक्यो। 

आजकी विद्यादेवी त शीतल निबासबाट एक दिन विदा हुन्छिन् नै । तर, उनको व्यवहारले स्थापित हुने नजीरले भने भोलिलाई पनि गलत बाटोतिर डोहोर्याउने छ। अब उप्रान्त बन्ने राष्ट्रपतिले पनि शीतल निबासलाई परिवन्दमा पार्ने अखाडाका रूपमा सञ्चालन गरिरहने सम्भावना रहन्छ। त्यो भने झनै डरलाग्दो हुनेछ।

शीतल निबासकी विद्यादेवीको पछिल्लो भूमिकाले पनि अव प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बाटोमा नेपाललाई लैजान बल मिलेको छ। किन पालिरहने यो सेतो हात्ती ? प्रधानमन्त्रीको कुर्सी जोगाइ दिने परिबन्दमा पार्ने संस्थाका रूपमा शीतल निबासलाई राख्नुको अर्थ के ? बरू शीतल निबास धाइरहने कार्यकारी प्रधानमन्त्री र शीतल निबासको आलांकारिक राष्ट्रपति भन्ने सेता हात्ती हटाएर अमेरिकाको जस्तो प्रत्यक्ष राष्ट्रपति निर्वाचनमा जाने हो भने त्यसले अहिलको बेथितिलाई धेरै हदसम्म सम्बोधन गर्न सक्छ। 

प्रकाशित मिति: : 2020-07-20 01:48:40

प्रतिकृया दिनुहोस्