पार्टी एकता भत्काउन दुष्प्रचार भइरहेको शर्माकाे दाबी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन दुष्प्रचार भइरहेको दाबी गरेका छन्।

पार्टी एकताका कुरालाई कतिपयले नरुचाएको भन्दै उनले उक्त कुराकाे दाबी गरेका हुन्। 

सामाजिक सञ्जाल ट्वीटरमा नेता शर्माले लेखेका छन्,‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति।’

उनले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्देलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल समेत गरेका छन्।

‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, उनले लेखेका छन्।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद बढेपछि १७ असारयता स्थायी कमिटी बैठक बस्न सकेको छैन। 

१६ असारको बैठकमा दाहाल र वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको छ। 

१७ वैशाखयता पटक-पटक दुई अध्यक्षबीच 'वान अन वान' वार्ता भएपछि हिजो बसेको सचिवालय बैठकमा केही सहमतिका आधार तयार भएको जनाइएको छ। 

ओलीलाई दुवै पदबाट मुक्त नगरी समाधान निकालिने बताइएको छ। 

अस्ति सचिवालय बैठकमा मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव आएको थियो। तर याेबारे हिजाे राखिएको स्थायी कमिटि बैठकमा थप छलफल गर्ने जनाइएको थियो। तर, हिजाेको बैठक पनि स्थगित गरिएको थियाे।  

सुरुमा ओलीको प्रस्तावमा प्रचण्ड पनि सहमत भएको बताइएको थियो, तर प्रचण्डले आइतबार आफूले त्यस्तो कुनै सहमति नगरेको बताए।

प्रकाशित मिति: : 2020-07-20 09:52:01

प्रतिकृया दिनुहोस्