चीनमा सिनेमा हल खुल्दै, ‘फुड आइटम’ बेच्न नपाइने

चीनमा कोरोना भाइरसको संक्रमणमा देखिएको कमिका कारण सिनेमा हलहरू पुनः खुल्न थालेका छन्। कोभिड–१९ महामारीका कारण चीनमा ६ महिनादेखि सिनेमा हल बन्द थियो। 

चिनियाँ फिल्म प्रशासनले यसको जानकारी दिँदै भन्यो, कोरोनाको प्रभाव कम भएको ठाउँमा सिनेमा हल खोल्न सकिन्छ। तर, यसका लागि केही सरकारी नियमको पालना गर्नुपर्ने छ। 

जसअनुसार स्क्रिनिङको बेला ३० प्रतिशत दर्शकलाई मात्र हलभित्र प्रवेश दिइनेछ। फिल्म हेर्न आउने दर्शकको सबैभन्दा पहिले तापक्रम चेकजाँच गरिनेछ। यस्तै, फिल्म हेर्दा सबै दर्शकले अनिवार्य मास्क लगाउनु पर्नेछ। 

फिल्मको सबै टिकट अनलाइनबाट मात्र उपलब्ध हुनेछ भने हलभित्र दर्शकलाई एक मिटरको दुरीमा बस्न निर्देशन दिइएको छ। 

फिल्म हलमा कुनै किसिमको ‘फुड आइटम’ बेच्न मनाही गरिएको छ। यसको अर्थ हो, कुनै पनि दर्शकले पपकर्न, कोल्डड्रिंक वा अन्य खाने कुरा हलभित्र लान पाउने छैनन्। 

चीन फिल्मका लागि विश्वकै सबैभन्दा ठूलो बजार हो। यहाँको बक्स अफिसले २०१९ मा ९ दशमलव २ विलियन डलरको कारोबार गरेको थियो।

प्रकाशित मिति: : 2020-07-20 12:13:55

प्रतिकृया दिनुहोस्