प्रेमिकाको सहयोगमा डीआईजीले यसरी गरेका थिए पत्नीहत्या

डिल्ली पाण्डे

काठमाडाैं

आफ्नै श्रीमतीको हत्यामा सर्वस्वसहित जन्मकैद सजायपाएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन्।

सर्वोच्च अदालतले पूर्वडिआइजी कोइरालालाई थुनामुक्त गर्न आदेश दिएसँगैबिहिबार कोइराला जेलमुक्त भएका हुन्।

तत्कालीन समयमा सशस्त्र प्रहरी बलको डिआइजी रञ्जनप्रसाद कोइरालाले ‘आफ्नै श्रीमती गीता ढकालको हत्या गरी प्रमाणसमेत नष्ट गर्ने कोशिश गरेको’ आरोप लागेको थियो।

श्रीमती गीता ढकालको हत्या गरेपछि उनी २०६८ साल माघमा पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते ‘रञ्जन कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरेको’ ठहर गर्दै उनलाईसर्वश्वसहित जन्मकैदकोफैसला सुनाएको थियो। तर, जिल्ला अदालत काठमाडौंको फैसलामा रञ्जन सन्तुष्ट भएनन् र उनले तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दाको पुनरावेदन गरे। पुनरावेदन अदालत पाटनले पनि २०७२ मंसिर २३ गते काठमाडौं जिल्ला अदालतकै फैसला सदर गरिदियो।

सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे ८ वर्ष मात्रै कैद गर्दा पनि 'सजायको मकसद पूरा हुने' भन्दै कैद घटाउने निर्णय गरे अनुसार उनी ८ वर्ष ६ महीना कैदमा बसेर बिहिबार (साउन ८ गते) रिहा भएका हुन्।

यस्ताे थियो घटना

पूर्वडीआईजी कोइरालाले प्रेमिका तारा रेग्मीको लहलहैमा लागेर बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए।

घरमा हत्या गरी मकवानपुरमा लगेर जलाएर काठमाडौं फर्केका कोईराला फेरिभोलिपल्ट उतै गएर जलाएको ठाँउमा यता-उता हेर्दै गरेका बेला स्थानीयले देखेर प्रहरीलाई सूचना दिएका थिए।

त्यही सूचनालाई आधार मान्दै प्रहरीले अनुसन्धान गर्दा ढकाललेजलाएको स्थानमा उनले लगाउँदै आएको औठी र घडी देखेपछि हत्याकोईरालाले गरेको पुष्टि भएको थियो।

सशस्त्रले सुविधाले दिएको गाडीमा शव जलाउन उनले काठमाडौँबाट पेट्रोल र डिजेल लगेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

माघ ७ मा शवको अवस्था बुझ्न रञ्जन टिष्टुङ पुगेपछि उनको अपराध पटाक्षेप भयो। त्यसपछि लगत्तै त्यहाँबाट उनी ‘डीआइजी हुँ’ भन्दै नारायणगढतर्फ लागे।

डीएनए परीक्षण र हड्डीमा बाँधिएको घडीबाट गीताको शव पहिचान भएको थियो।

कोइराला ८ माघमा काठमाडौँ आउँदै थिए। आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।

**

बि.स. २०५० सालमा रञ्जन र गीताको मागी विवाह भएको थियो। विवाहपश्चात गीता र रञ्जनको दुई सन्तान जन्मिएका थिए। तर पछि रञ्जन र गीताको सम्बन्धमा खटपट आएको थियो। खटपटपछि रञ्जन जेठा छोरा आयुषलाई लिएर नागार्जुन नगरपालिकामा रहेको घरमा बस्थे भने गीता बुढानिलकण्ठस्थित आफ्नै नाममा रहेको घरमा कान्छो छोरा आर्यनसँग बस्ने गरेकी थिइन्।

बुढानिलकण्ठमा गीता बसेको घर उनकै नाममा थियो। रन्जनले छोडपत्र चाहेका थिए। तर, गीताले मानाचामल मुद्दा हालिन्। त्यो बिचमा कोईरालाको प्रेमिका तारा रेग्मीसँग सम्बन्ध बढाएका थिए।

यसैबिच नेपाल सरकारको उच्चपदस्थ अधिकारी कोइरालालाई सरकारले नेशन डिफेन्स कोर्स अध्ययनका लागि २०६८ भदौमा चीन पठाएको थियो। तर उनी चीनमै रहेको समयमा नेपाल सरकार र आफ्नो संगठन (सशस्त्र प्रहरी)लाई समेत कुनै जानकारी नदिइ २०६८ पुसको २१ गते नेपाल आउँछन्।

नेपाल आएको पहिलो दिन कोइराला प्रेमिका तारा रेग्मीको फ्ल्याटमा गएर बस्छन्। ३ दिन रञ्जन र तारासँगै बस्छन्।पुस २६ गते जब रञ्जनकी प्रेमिका तारा मलेसिया जान्छिन्। तब उनीपुस २७ गते श्रीमती गीता ढकाल बस्दै आएको बुढानिलकण्ठको घर जान्छन्।

गीता बस्ने गरेको घरमा रञ्जन आफ्ना ड्राइभर र जेठो छोरा आयुषसँगै गएको देखिन्छ। त्यसपछि आफूले चीनबाट ल्याइदिएको कपडा कान्छो छोरा आर्यनलाई दिएर केही समय बसेपछि कान्छो छोरालाई लिएर फर्किएका थिए। त्यसपछि दुबै छोराहरुलाई टेनिस खेल्न हल्चोकमा छाडेर रञ्जन बाहिर निस्किन्छन्।

त्यही दिन दिउँसो गीताले रञ्जनलाई फोन गरी केही काम छ भनी बोलाइपछि गीता बस्ने गरेको घरमा गएको रञ्जनले तत्कालिन समयमा बयान दिएका थिए। त्यहाँ गीताले ‘व्यापारका लागि भन्दै ५ लाख रकम मागेको र आफूले छैन भन्दा हात हालाहालको अवस्था आएको’ रञ्जनको दाबी छ। त्यही हात हालाहालाको अवस्थामा आफूले धकेल्दा गीताको टाउको भित्तामा ठोक्किएको थियो। त्यसपछि ‘उनी बेहोस भएको र करीव १० मिनेटसम्म पनि नउठेपछि हेर्दा गीताको मृत्यु भएको’ रञ्जनले अधिकारप्राप्त अधिकारीसमक्ष (सरकारी वकिल) समक्ष तत्कालिन समयमा गरेको बयानमा उल्लेख छ।

‘गीताको मृत्यु भएपछि आफू आत्तिएको र गीताको शवलाई नष्ट गराउने र प्रमाण नष्ट गराउने क्रममा मकवानपुरको टिष्टुङमा लागि शव नष्ट गर्ने प्रयास गरेको’ उनले बताएका छन्।

सरकारी वकिलसमक्ष रञ्जनले गरेको बयानमा ‘गीताको योजनावद्ध हत्या नभई भवितव्य मृत्यु वा आवेशप्रेरित मृत्यु भएको’ बयान दिएका थिए।

गीताको हत्या ‘योजनाबद्ध’

सरकारी अधिकारीका अनुसार पूर्वडीआहईजी कोइरालले प्रेमिका तारा रेग्मीको लहैलहैमा लागेर २७ पुस २०६८ मा बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङमा लगेर पेट्रोल छर्केर जलाएका थिए।

गीताको हत्यामा रञ्जनको संलग्नता हेर्ने हो भने उक्त हत्या भवितव्य वा आवेशप्रेरित नभएर ‘योजनावद्ध हत्या (प्लान्ड मर्डर)’ नै भएको तथ्य प्रमाणहरु केलाउँदा देखिन आउँछ।

रञ्जनले पुस २७ गते बिहानै डिजेल र पेट्रोल किन्नका लागि दुईवटा ग्यालिन खरिद गरेका छन्। उक्त ग्यालिनमा रञ्जनका बडिगार्ड तथा ड्राइभरले पेट्रोल र डिजल खरिद गरेका थिए।

त्यसैगरी पुष २७ गते कान्छो छोरालाई गीता बस्ने घरबाट आफू बस्ने घरमा ल्याउनु पर्ने कारणले पनि रञ्जनले गीताको हत्याको योजना बनाएका थिए भन्ने बुझिन्छ।

रञ्जनले घटना हुनुभन्दा धेरै पहिले नै गीतासँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेका थिए भने उनी तारा रेग्मीसँगै बस्न थालेका थिए।

तर गीताले सम्बन्धबिच्छेद गर्न नमानी मानाचामलको मुद्दा दायर गरेकी थिइन्। यी विविध कारणहरुबाट पनि रञ्जन गीतालाई आफ्नो बाटोबाट हटाउन चाहन्थे  भन्ने शंका गर्ने आधारहरु देखिन्छ।

रञ्जनकी प्रेमिका तारा रेग्मीले पनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा ‘रञ्जनले आफूसँग भएको कुराकानीका क्रममा गीता ढकालको हत्या गरेको अपराध स्वीकार गरेको’ बताएकी थिइन्।

रञ्जनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा कसुर स्वीकार गरे। भएपनि अदालतमा गरेको बयानमा भने अपराध स्वीकार गरेनन्।

यद्यपि जिल्ला अदालत काठमाडौंले प्राप्त प्रमाणका आधारमा कोइरालाले अपराध गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गरेका रञ्जनलाई पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै सजाय सुनायो।

तर त्यसविरुद्ध रञ्जन सर्वोच्च अदालत पुगे। अदालतमा लामो समयदेखि पेशीमा चढ्दै आएको रञ्जनको मुद्दामा अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेज बहादुर केसीको संयुक्त इजलाशबाट रञ्जनले सजाय कटौती पाए।

गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशबाट कोइरालाको सजायमा व्यापक कटौती गरेका हुन्।

विवादास्पद सर्वोच्चको फैसला

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन्।

‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको सजाय घटाउने फैसला गरेको थियो।

प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन्।

‘मृतक गीता ढकाल र कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ। साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो। साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ,’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ।

फैसला खण्डको बुँदा नम्बर ८२ मा यस्तो लेखिएको छ :

‘निजको मृत्यु पश्चात् नाबालक छोराहरुको हेरचाह, संरक्षण शिक्षा, दीक्षा लगायतका कार्यहरु अभिभावक विहिनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पुरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।’

कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन्।यता रञ्जन र गीता ढकालका दुई छोराहरु भए पनिआमाको हत्या गरेर जेल परेका बाबु रिहा हुँदा रिसिभ गर्न गएनन्।

प्रकाशित मिति: : 2020-07-23 15:21:13

प्रतिकृया दिनुहोस्