पौरखी नारी

दाङमा खुल्यो हिमानीको चिया पसल (भिडियोसहित)

एउटाले जे गरेको छ त्यस्तै काम फेरि अर्कोले गर्ने चलन भएको हामी पाउँछौँ। बजारमा कसैको तरकारी पसल राम्रो चलेको छ भने अर्को जनाले सँगै तरकारीकै व्यवसाय गरेको देखिन्छ।

तर, अलि नयाँ काम गरौँ न भन्ने विषय जो कोहीले सोचिहाल्ने गरेको पाइदैन। गर्न खोजे पनि हौसल्लाहभन्दा बढी निराशाका कुराहरु सुन्न पाइन्छ। नेपालमा अझ रोजगार, व्यापार व्यबसाय महिलाले होइन पुरुषले गर्ने हो भन्ने मान्यता छ।

जनचेतना बढ्दै गएपछि पछिल्लो दिनहरुमा यस्ता मान्यताहरुमा केही परिवर्तन आएपनि महिलाले चुलोचौको नै गर्नुपर्छ भन्ने धारणा अझै कामयमै छ।

यस्तै, मान्यतालाई चिर्दै पछिल्लो दिनहरुमा महिलाहरुमा सशक्तिकरण बढ्दै गएको छ। घरमा मात्र होइन घरबाहिर पनि निस्कनुपर्छ भन्ने धारणा बढेर गएको छ। पुरुषले मात्र होइन महिलाले पनि हरेक काम गर्न सक्छन् भन्ने उदाहरण थुप्रै भेटिन थालेको छ। उदाहरण मध्येकी एक हुन दाङ घोराही–१८ कि हिमानी डिसी। जसले घरमा मात्र बस्नुपर्छ भन्ने परम्परालाई तोड्दै आफू एक्लैले व्यवसाय सञ्चालन गरेकी छिन्। हिमानीले परम्परागत होइन जिल्लामा नै पृथक व्यवसायमा हात हालेकी छन्।

जसले जिल्लामा नै ५० भन्दा बढी प्रकारका चिया मात्र पाइने चिया घर सञ्चालन गरेर बसेकी छिन्। दुई वर्षअघि निजि कम्पनीमा काम गर्दै गर्दा केही नयाँ गरौँ भन्ने सोचेर दाङमै चिया मात्र पाउने चिया पसल सञ्चालनमा ल्याएको उनले बताइन्।

घोराही १५ मेनरोडस्थित नेत्रलाल चोकको दक्षिणतर्फ ‘किट्ली टि टाउन’ नामक चिया पसल सञ्चालन गरेकी हिमानी अहिले स्वरोजगार मात्र भएकी छैनन् एक जनालाई रोजगार समेत दिएकी छिन।

सुरुमा नयाँ काममा हात हाल्दा सफल नहुने हो कि भन्ने चिन्ताले सताएको बताउँदै उनले चिया पसल सञ्चालनमा आएपछि राम्रो भएको बताइन्। ‘पहिले त डर थियो नि, जिल्लामा नै नयाँ थियो। त्यसमा महिलाले सञ्चालन गरे भन्ने हुन कि भन्ने अर्को डर पनि,’ उनले भनिन्, ‘पसल चलेन र घर फर्कनु पर्ने हो कि भन्ने चिन्ता थियो।’

तर, पसल सञ्चालनमा आएपछि राम्रै चलेको भन्दै हौसल्लाह पाएको हिमानीले बताइन्। अहिले हिमानीले सञ्चालनमा ल्याएको ‘किट्ली टि टाउन’मा ५० बढी चियाहरु पाइन्छन्। जसमा दंगाली चिया भनेर छुट्टै चियाका प्रकारह छन्। मट्का, मिल्क, हन्नी, ग्रिन, मसला, आइस, रेड, खयर आदि चिया पाइने हिमानीले बताइन्। 

व्यस्त बन्ने इच्छाले नयाँ कामको सोच

दुई वर्षअघि हिमानी एक निजि क्षेत्रमा काम गर्थिन। निश्चित समयमा अफिस जाने। काम गर्ने। अनि निश्चित समयमा घर फर्कने दैनिकी थियो। काम गर्दै गर्दा सधै उनको मनमा भने अझ व्यस्त बन्ने इच्छा पलायो। अनि केही नयाँ काम गरौँ भन्ने सोच भइरह्यो। तर, के गर्ने भन्ने अन्याेल अझ बढी थियो।

यस्तैमा उनको सोचमा आयो चिया मात्र पाइने चिया घर। तर, आँट गर्न भने कठिन थियो। न उनले काम गरेकी थिइन न कहीबाट जान्ने माैका पाएकी थिइन। अनि दाङमा विशुद्ध चिया मात्र पाउने ठाउँ पनि थिएन।

चिया मात्र पिउनका लागि चिया घरसम्म मानिस आउँछन् भन्ने सोच्न पनि कठिन थियो हिमानीलाई। खाजा घरसँगै चिया पिउन मानिसहरु साँझ विहान बसेको देखिएको भए पनि चिया मात्र पाइने ठाउँ हुन्छ भन्नेसम्मको उनलाई जानकारी थिएन्।

तर, गरे के हुन्न र भन्ने आँट भने उनमा थियो। अनि केही नयाँ त गर्ने भन्ने हिमानीमा अर्को आँट पनि थियो। यही बीचमा जन्मियो एउटा चिया मात्र पाउने चिया घर– किट्ली टि टाउन।

‘केही नयाँ त गरौँ भन्ने सोच थियो, तर के गर्ने भन्ने पनि थियो,’ हिमानीले भनिन्, ‘अनि चियाका बारेमा जानेका दाइहरुसँग सल्लाह लिएर यो चिया मात्र पाइने किट्ली टि टाउन सञ्चालनमा लियौँ।’

उनले चिया पसल सञ्चालन गर्ने सोच भइरहँदा चिया मात्र पाइने पसलका बारेमा जानकारी नै नभएको बताइन्। पछि मात्र काठमाडौं, पखरा, विराटनगरलगायत ठाउँमा चिया मात्र पाइने चिया पसल भएको थाहा भएको बताइन्।

दाङमा भने चिया ५० बढी चिया मात्र पाइने ठाउँ किट्ली टि टाउन मात्र रहेको हिमानीले जानकारी दिइन। ‘अन्य ठाउँमा चिया मात्र पाइने। अझ ५० बढी चिया पाइने भनेर सञ्चालनमा ल्याएको चिया घर भएको मलाई थाहा छैन,’ उनले भिनन्, ‘सायद छैन होला। महिलेले नै सञ्चालनमा ल्याएको चिया घर त छैन न होला।’

किट्ली टि टाउन सञ्चालनमा ल्याएसँगै आफू विहानदेखि साँझसम्म व्यस्त रहने गरेको हिमानीले बताइन्। घरमा खाना पकाउन समेत फुर्सद नहुने उनको भनाई छ। विहान ढिला भने पनि ६ बजे चिया पसल खोल्ने र ७/८ बजेसम्म चिया पसलमा रहने उनले जानकारी दिइन।

हिमानीले चिया पसलमा अहिले एक जनालाई रोजगार पनि दिइकी छन्। चिया पसलबाट आम्दानी ठिकै हुने गरेको उनको भनाई छ। खर्च कटाएर नै मासिक ४० हजार बढी बचाउने गरेको उनले बताइन्।

अपुग थिएन तर खाली बस्न मनले दिएन

हिमानी सम्पन्न परिवारकी सदस्य हुन्। माइतमा पनि लाहुरेकी एक्ली छोरी हुन उनी। घरमा श्रीमान कमाउने छन्, बसेरै खाम भने पनि पुग्ने हिमानी बताउँछिन्। तर, मनले भने सधै व्यस्त बन भन्ने धारणा बनाइरहने उनले सुनाइन।

‘अपुग भन्ने त त्यस्तै छैन नि, पुग्छ घरमै बसे पनि,’ उनले भनिन्, ‘तर सधैं व्यस्त बनौँ भन्ने लाग्छ। अहिले घरमा घरमा बस्ने समय पनि छैन।’

हिमानीले सबै दिदी बहिनीहरुलाई घरमा मात्रै नबस्न आग्रह गर्दै केही न केही गर्न आग्रह गरिन। ‘आजभोलि त्यत्तिकै बस्ने दिदीबहिनीहरु पनि छन्। म त भन्छु त्यत्तिकै नबस्नुहाेस्। जे सक्नुहुन्छ त्यही गर्नु।’ उनले भनिन्।

दिदीबहिनीहरु घरमा मात्र बस्नुपर्छ भन्ने मान्यताहरु चिर्नुपर्ने उनको धारणा छ। आधुनिकता बढिसकेको भन्दै उनले आधुनिकतासँग आफूलाई व्यस्त बनाउने कोशिस गर्नुपर्ने बताइन्। घरबाट स्वतन्त्र रुपले काम गर्न दिएपनि समाजमा महिला प्रतिको धारणा अझै घरमै चुलोचौको नै गर्नुपर्ने रहेको हिमानी बताउँछिन्। उनले आफ्नो घरबाट सहयोग रहेको बताइन्।

हिमानीले चिया पसल सञ्चालन गरेपछि आफूले अनेकन नकारात्कम कुराको सामाना गर्नु परेको बताइन्।

‘अझै छ नि महिनीले केही गर्न सक्दैनन् भन्ने। गरिहाले भने पनि राम्रो गर्न सक्दैनन् भन्ने छ,’ उनले भनिन्, ‘मैले पनि यस्ता नकारात्कम कुरा त सुन्नु परेको छ।’

तर, यस्ता कुराहरुबाट आत्तिन नहुने उनको धारणा छ। हिमानीले आफूहरुलाई नकारात्मक कुरा गर्ने भन्दा हौसल्लाह दिनेहरु धेरै रहेको सुनाईन।

पर्यटकको रोजाइँ

दाङ जिल्ला यसै पर्यटकीय क्षेत्र हो। जसमा घोराही क्षेत्र अझ बढी पर्यटकको रोजाइँमा पर्ने ठाउँ पनि हो। किनभने दाङको घोराही क्षेत्रमा एसियाकै अग्लो त्रिशुलसहितको धारापानी धाम छ। अम्बिकेश्वरी मन्दिर, बाह्रकुने दह, चरिङ्गे दह आदि यहि क्षेत्रमा छन्।

यहाँ घम्न आउने पर्यटकहरु किट्ली टि टाउनसम्म आउने गरेको हिमानी बताउँछिन्। काठमाडौं, पोखरा लगायतका ठाउँबाट आउनेहरु पनि चिया घरसम्म आएको उनले जनाइन। दाङकै तुलसीपुर, लमही क्षेत्रबाट घोराहीमा काम हुँदा आउनेहरु पनि यस चिया घरसम्म आउने गरेका छन्।

चिया पिउनका लागि मात्र आउने नियमति ग्राहकहरु पनि छन्। शनिबारका दिनहरुमा कहिले त बस्नका लागि ठाउँकै अभाव समेत हुने गरेको हिमानी बताउँछिन्।

समाज सेवामा ‘किट्ली टि टाउन’

‘किट्ली टि टाउन’ सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ। ०७६ मंसिर १२ गतेबाट घोराही उपमहानरपालिका १५ मेनरोडस्थित नेत्रलाल चोकको दक्षिण तर्फ यो चिया पसल सञ्चालनमा आएको थियो।

दुई वार्षिक उत्सव किट्ली टि टाउनले मनाइसकेको छ। समाज सेवामा जोडिदै दुई वार्षिक उत्सव यस चिया घरले मनाएको छ। पहिलो घरमा अशक्त, असायलाई खाद्यान्न वितरण गरेर र यस वर्ष रक्तदान कार्यक्रम गरेर वार्षिक उत्सव मनाइएको सञ्चालिका हिमानीले बताइन्।

उनले आफ्नो समाज सेवासँग जोडिने ठूलो इच्छा रहेको भन्दै यस्तै कुनै अवसरर पारेर सामाजिक काम गर्न गरेको बताइन्। समाज सेवा मनदेखि नि:स्वार्थ भावले हुने सेवा रहेको भन्दै सधै गर्न नसके पनि कुनै अवसर पारेर गरिरहने बताइन्।

प्रकाशित मिति: : 2022-02-06 20:13:00

प्रतिकृया दिनुहोस्