शेयर बजारमा सकारात्मक माहौल, साताको अन्तिम दिन हरियो भएर बन्द भयो नेप्से

साताको अन्तिम दिन बिहीबार शेयर बजार १ अर्ब ३० करोडभन्दा बढीको कारोबार सहित हरियो भएर बन्द भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले खरिदबिक्री रकम राम्रो देखिएको हो । लगानीकर्ताले सस्तो ब्याजदरमा सजिलै शेयर कर्जा पाउने वातावरण बनिरहेको छ । यसले पनि खरिदबिक्रीमा उत्साह जारी छ ।

केन्द्रीय बैंकको पुँजी बजारमैत्री मौद्रिक नीति पनि अर्को सकारात्मक पाटो हो । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड तथा नेप्सेका पछिल्ला काम–कारवाही पनि शेयर बजार सुधार गर्ने किसिमका छन् । लगानीकर्ताको मनोबल उकास्न नियामकले विभिन्न काम गरिरहेको छ । यसबाट पनि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको अनुमान गरिएको छ । 
 
शेयर बजारका लागि अधिकांश पक्षहरु सकारात्मक देखिएका छन् । यति हुँदाहुँदै पनि लक डाउनपछि बजार राम्रैसँग बढेकाले यतिबेला अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय भइरहेका छन् । उनीहरुले नाफा भएपछि बिक्री चाप बढाइदिने गर्छन् । 

मौद्रिक नीतिपछि बढेको बजारमा कारोबारीहरु सक्रिय भएको पनि पाइएको छ । त्यसले केही दिनयता नेप्सेमा थोरै चाप भने परेको देखिन्छ । 
 
शेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको सामान्य नियम पनि हो । सूचक भन्दा पनि आफूले लगानी गरेको कम्पनीतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था अध्ययन गर्नुपर्छ । 

यसैगरी, दोस्रो बजारमा कायम भाउ,  मूल्य आम्दानी अनुपात लगायतका सूचकहरुलाई पनि लगानीकर्ताले ध्यान दिन आवश्यक छ । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गरिहेको हुन्छ । 
 
नेप्से सूचक बिहीबार १०।१३ अंकले बढेर १४४२।६१ विन्दुमा आइपुगेको छ । १८७ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

खरिदबिक्री भएका १२ उपसमूहमध्ये २ वटा बाहेक बाँकी सबै उपसमूहका सूचकमाथि लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक ३ अंकले बढेको छ ।

प्रकाशित मिति: : 2020-07-23 15:42:18

प्रतिकृया दिनुहोस्