प्रहरीबाट बच्न आलमको चलाखीः एसिड हानेपछि युवतीको मोबाइलमा फोन

बिहिबार साँझ काठमाडौंको सितापाइला, बाफलमा २२ वर्षीया युवतीमाथि एसिड हान्ने दुई जनालाई प्रहरीले राति ११ बजेभित्रै पक्राउ गरेको छ। उनीहरूले प्रहरीमा आफूहरूले अपराध गरेको स्वीकारेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले बिहीबार राति नै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन्।

आलम काठमाडौंमा कपडाको झोला बनाउने कारखानाका मालिक हुन्। मुन्ना त्यही कारखानाका काम गर्ने कामदार। आलमको काठमाडौंमा घर परिवार नै छ। ४० वर्षीय उनी विवाहित पुरूष हुन्।

सिसी क्यामरा फुटेजलगायतका सूचनाको आधारमा उनीहरूलाई प्रहरीले राति नै डल्लु क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।

अलामले मुन्नालाई एसिडसहित युवतीको कोठा नजिकै पुर्‍याएको देखिएको छ। त्यसपछि दही किन्न हिँडेकी युवतीलाई उनैले चोकसम्म मोटरसाइकलमा लिफ्ट दिएका थिए। आलम र युवतीबिच ३-४ वर्षअघिदेखि नै चिनजान थियो। त्यति मात्र होइन उनको परिवारसँग पनि राम्रो सम्वन्ध थियो।

बिहिवार साँझ आलमले युवतीलाई फोन गरेर खाजा खान भन्दै बोलाएका थिए। पटक पटक फोन गरेर बोलाएपछि युवति भेट्न गएकी थिइन्। खाजा खाएर फर्किदै गर्दा युवतीमाथि एसिड हानिएको थियो।

नागार्जुन नगरपालिका ४ सिर्जना टोलमा युवतीमाथि मुन्नाले एसिड प्रहार गरेका थिए। एसिड आक्रमण सबै योजनाहरू आलम र मुन्नाले बनाएका थिए। युवतीले अरू नै केटासँग प्रेम रहेको थाहा पाएपछि आलमले आक्रमण योजना बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

आक्रमणका लागि आलमले एसिडसहित मुन्नालाई मोटरसाइकलमा राखेर युवती कोठा फर्किने बाटोमा छोडेका थिए। त्यसपछि उनी युवतीलाई लिएर खाजा खाना गए। युवती फर्किएपछि बाटोमा कुरेर बसेका मुन्नाले एसिड हाने।

त्यसपछि मुन्नाले आलमलाई मोटरसाइकलमा हालेर डल्लुमा रहेको डेरातिर लागेको देखियो। त्यति मात्र होइन आलमले आफूमाथि शंका नहोस् भनेर आक्रमणपछि पनि  युवतीलाई फोन गरेका थिए। तर फोन उनकी दिदीले उठाएकी थिइन्। फोनमा उनले आफूलाई प्रहरीले चेक गरेको भन्दै बच्ने बाटो रोजेको प्रहरीले जानकारी दिएको छ।

आलमको फोनमा भएको कुरा उनकी दिदीले प्रहरीलाई सुनाएपछि प्रहरीले आलममाथिनै शंका गर्दै अनुसन्धान अगाडि बढाएको थियो।

घटनास्थल वरपरको सिसिक्यामराको रेकर्ड र पीडित परिवारको जानकारी अनुसार उनीहरूलाई प्रहरीले केही समयभित्रै नियन्त्रणमा लिएको हो।

सीसी टिभी फुटेज र युवतीले दिएको बयान तथा प्रतक्षदर्शीको भनाइलाई आधार बनाउँदै प्रहरीले राति ११ बजे डल्लुस्थित उनीहरुको कोठा पुगेर पक्राउ गरेको हो। उनीहरुले 'प्रेम अस्वीकार' गरेपछि एसिड प्रहार गरेको प्रहरीलाई मौखिक बयानसमेत दिएका छन्।

प्रकाशित मिति: : 2020-07-24 10:08:23

प्रतिकृया दिनुहोस्