‘पेन्टिङ राम्रो गर्न नलेज भर्दैछु’

लुकेको कला –२ 

‘पालिस लाइकन हात विगाड्न्या काम क्यालै गद्दो (गर्छस्)। खुरूखुरू पढ। मास्टर जति (शिक्षकहरू) सबै तेरो पढाइ राम्मै छ भुन्दाछुन्। साइन्स पढ। म्याथ जानेकै छै। भोलि ठूलो इन्जिनियर बनलै। नाम कुमालै। दाम पुनि राड्रै कुपाउन्या होइ। रिन दान गरी पढाउन्या मो छुनैछु। क्यान यो भुटो गद्दो?’ 

इन्जिनियर बन्छ भनेको छोरो पेन्टिङ गर्न लागेपछि बुबा कल बहादुर नेपालीले आफ्नो छोरालाई सम्झाउन ओकलीरहने वाक्य हुन यी। ‘बोक्या सामल र लायाको अत्तोले (अर्ति) पुग्दैन’ भने झैं बाबु र घर परिवारले दिने अर्तिले खासै असर गरेको छैन, जुम्ला चन्दननाथ नगरपालिका सिंहाचौरका दिपेश नेपालीलाई। 

‘जान्ने भएदेखि पेन्ट गर्न लागेको हुँ। मेरो मनमा विभिन्न आकृतिका चित्र खेलिरहेका हुन्छन्। म प्यासिनेट छुँ जस्तो लाग्छ। विभिन्न आकृतिका पेन्टहरु मेरो मनमा नाचेका नाच्यै छन्। अनि म सोच्छु पेन्टिङमा केही गर्न सक्छु,’ उनले भने। 

‘घर परिवारकाले पेन्ट भनेको घरका भित्ता रंगाउने काम हो सोच्नुभएको छ। सायद पेन्टको महत्व र दर्शन बुझ्ने मान्छेको कमी छ, हाम्रोतिर। तर मैले एक दिन राम्रो गरे भने घर परिवारले कस्सो नबुझ्ला? मलाई विश्वास छ परिवारले बुझ्नेछ। समाजले पनि विस्तारै बुझ्ला नी,’ उनको मुखबाट एक मुठी साससँगै आश पनि पोखिन्छ।

हामी भेटिँदा उनको हातका नङमा निलो पालिस लागेको थियो। मतलव उनी पेन्टिङ गर्दै थिए। उनको योजना भविष्यमा नामी पेन्टर बन्ने छ। त्यसैले उनी अहिले देखि नै पेन्टिङमा लागेका छन्। पेन्टिङमा लाग्ने मात्र होइन, पेन्टिङबारे अध्ययन पनि गर्न थालिसकेका छन्। 

एसईई परीक्षा दिने युद्वस्तरको तयारी गरिरहेको बेला अन्तिम आवरमा परीक्षा स्थगित भएको सूचना आयो। कारण थियो कोरोना भाइरसको डर। सरकारले कोरोनाको डर मानिरहेको बेला विद्यार्थीहरु परीक्षा होला की नहोला, ढिलो भयो भने यतिका पढेको बिर्सी पो जाने हो कि? परीक्षा भयो भने प्रश्न कस्ता आउलाउन जस्ता डर पिलो झैं गढेर बसेको थियो र बेलाबेलामा त्यसले चड्काइरहन्थ्यो। 

डर दिनदिनै बढिरहेको थियो। आकार बढेर हजार वर्ष लागेर हुर्कने देवद्यारको रुख जत्रो भइसकेको थियो। तर डरको रुख देवद्यारको थिएन। त्यसैले यसले ‘हजार वर्ष खडी, हजार वर्ष पडी र हजार वर्ष सडी’ जस्तो समय लाग्न वाला थिएन। (देवद्यारको रुख हुर्कन, सुक्न र कुहिन गरी तीन हजार वर्ष लाग्छ।) त्यसैले जतिसुक्दो चाँडो डरको पिलो फुटाउनु थियो। दिपेशले फुटाए। त्यसपछि उनको मन चंगा सरी भयो। 

परीक्षाको भूत मनमा चढाएर ज्वरो निकाल्नु भन्दा स्वतन्त्र चरी भएर खुला आकाशमा कावा खानु ठिक भन्दै उनी पेन्टिङको लागि दिमागमा नलेज भर्न लागे, जसरी बेलुनमा हावा भरिन्छ। उनले नलेज भर्ने स्रोत भेटाए, गुगुल, विभिन्न साइटहरु तथा युटुब च्यानलहरु। त्यहाँ उनले भेटाए भ्यान गग। लियोनार्दोदा भिन्चि, पिकासोलगायत सयौं कलाकार र हजारौ किताबहरु। 

पेन्टिङका विभिन्न तरिका, तीनले देखाउने समाजको चित्र, बोक्ने दर्शन। विश्वका नामुद कलाकारहरुका आइडिया सबै थाहा पाउँदा उनको दिमाग भरिदै गयो। त्यसैले उनी निर्धक्क भन्छन्, ‘सयौं किताबले दिन नसकेको शिक्षा एउटै पेन्टिङले दिन सक्छ।’ 

नलेज भर्ने क्रममै उनले चिनेको हुन, भ्यान गग। भ्यान गग जसले आफ्नो पेन्टिङ कहिल्यै बेचेनन्। बरु कसैले पनि कला बुझेन भनेर आफ्नो कान काटिदिए। आत्महत्याको बाटो रोजे। तर विश्वलाई एक अद्भूत कला दिएर गए। 

भिन्चि जसले हालसम्म पनि बहस भइरहने मोनालिसालाई सबै माझ पुगाइदिए। यस्ता थुप्रै कलाकारहरुसँगको संगतले दिपेशको बाटो उतै मोडिएको छ। त्यसैले घर परिवारले ‘यो जैर्‍या हात विगाड्न्या काम छोड्डे’ भन्दा टसमस हल्लिन्न्। भन्छन्, ‘एक दिन घर परिवार मात्र होइन, सारा दुनियाँलाई बुझाइदिनेछु।’

उनी भर्खर सोह्र वषै लागे। उनले नेटमार्फत विश्वका नामुद कलाकासँग संगत गरिसकेको छन्। उनीहरुको संगतबाट केही बनाउन पनि सिकेका छन्। अब उनको सोच छ एउटै मात्र पेन्टिङ बनाउने, जो उत्कृष्ट होस्। 

‘आजभोलि एउटा सेक्रेट पेन्टिङमा लागेको छु। बनाइसके भने सबैलाई देखाउनेछु। हेरौं त्यसमा प्रतिक्रिया के आउँछ? त्यसपछि एक्जिबेसन गर्छु,’ उनले मनको गाँठो फुकाए।  

उनी सुरुसुरुमा रियललिष्टिक पेन्टिङमा लागे। त्यो बेला कक्षामा वाह! वाह! गर्दिने साथी थिए। 

‘साथीहरुले मलाई बुझे। मेरो रुचिमा सहमति जनाए। तारिफ गरे। मेरो हौसला बढ्यो। मेरो मनमा लागेका पेन्टिङ बनाउन लागे,’ उनले भने, ‘केही अरुले बनाएका कपि पेष्ट गरे। केही आफूले देखेको र चिनेको मान्छेलाई आफ्नो पेन्टिङमा उतार्ने कोशिस गरेँ।’

यसरी केही मान्छेका आकृति बनिसकेको छन्। अब उनको यात्र एब्सट्रयाक्ट पेन्टिङ हो। जसको जिन्दगीमा छुट्टै मजा छ। 

‘एब्सट्रयाक्ट पेन्टिङले दर्शन बोकेको हुन्छ। एउटै चित्रमा विभिन्न आकृति बन्छ। एउटा कोणबाट हेर्‍यो भने मान्छे, अर्को कोणबाट हेर्‍यो भने भगवान, जनावर आदि इत्यादि, मनले जस्तो सोच्यो उस्तै देखिन्छ,’ उनले भने, ‘मेरो उद्देश्य यहि हो। मैले सोचे अनुसारको पेन्टिङ बनाउनलाई मेहेनत गरिरहनेछु।’

उनले नेट, विभिन्न साइटहरुको सहायताले दिमागमा नलेज भरिरहँदा प्रयोगात्मक रुपमा नलेज बढाउन चाहिने सामग्री पाउन सकेका छैनन्। पेन्टिङको लागि चाहिने कलर, पालिस, ब्रस जुम्ला बजारमा उपलब्ध छैनन्। चाहिने समान छैन। तर पनि उनको पेन्टिङ यात्रा ‘हजार माइलको लामो बाटोमा’ पाइला गनिरहेको छ। स्लो मोसनमा। 

उनले जुम्ला बजारका केही होटलमा पेन्टिङ गरिदिएका छन्। बदलामा उनले पारिश्रमिक नलिएर काठमाडौंबाट कलर मगाउने गरेका छन्। दाइ तिर्थ नेपालीले पनि सहयोग गरिरहेका छन्, कलर आयात गर्नको लागि। जसले उनलाई थप आकर्षक पेन्टिङ गर्न उर्जा मिलिरहेको छ।

उनले थियटरका कलाकारहरुले खोलेको ‘अन्नि घर’ अगाडि बनाएको रियलिष्टिक पेन्टिङले सबैको ध्यान खिचेको छ। अन्नि घरका कलाकार गोविन्द सुनारले काठमाडौंबाट पेन्टिङका लागि चाहिने सबै सामग्री ल्याइदिने बचन दिएका छन्। ‘दाइले मलाई चाहिने सामान ल्याइदिनु भयो भने अझ राम्रा पेन्टिङको बनाउन सहयोग मिल्छ।’  

कक्षा नौंमा पढिरहेको बेला उनी जुम्लाको प्रतिनिधित्व गरी सुर्खेत गएका थिए, प्रदेश स्तरीय पेन्टिङ प्रतियोगितामा। प्रदेश प्रथम भए। पुरस्कार थियो २५ हजार नगद। आते, जाते भाडा प्लस। त्यो रकम उनले कलर किन्न खर्चे। 

प्रथम हुने पेन्टिङमा नयाँ कन्सेप्ट थियो। दुईवटा हातको बीचमा आँखा थियो। माथि परेको हातले हिमाल देखाएको थियो भने तल परेको हातले पहाड देखाएको थियो। जसले कर्णाली प्रदेश चिनाइरहेको थियो। आँखाले समग्र कर्णाली प्रदेशलाई हेरिरहेको थियो। त्यहि थियो पहिलो पटक उनले आफ्नो दृष्टिकोण अनुसार बनाएको पेन्टिङ।

उनले हाल संकलन गरिरहेको जानकारी पुग्दो नभएको आफै स्वीकार्छन्। पुग्दो जानकारीको लागि पढ्नुपर्ने बुझेका छन्। उनी भविष्यमा फाइन आर्ट पढ्न चाहन्छन्। त्यसैमा उनले भविष्य देखेका छन्। 

‘११, १२ मा म्याथ, साइन्स पढ्छु। त्यसपछि काठमाडौं जान पाए भने फाइन आर्ट पढ्ने विचार गरेको छु,’ उनले जिज्ञासा राखे, ‘११, १२ मै आर्ट पढन पाइन्न है? अहिले अरु विषय पढेर पछि आर्ट पढ्न पाइन्छ होला त?’

ओठ निचोरे दुध आउने दिपेश नामुद पेन्टर बन्ने जिन्दगीको सगरमाथा चड्न फेदमा उभिएका छन्। उनको लगाव र मेहेनत हेर्दा चाँडै चुचुरोमा पुग्ने खालको छ। हेरौं, उनका पाइला सफलताको शिखर चुम्न लम्किन्छन् वा अक्सिजन नपाएर ओरोलो लाग्छन्!

यो पनि हेरौं

लुकेको कला –१  विराजको विराट कला (भिडियो)
प्रकाशित मिति: : 2020-07-29 10:20:00

प्रतिकृया दिनुहोस्