कविता

विवरण

शुभ चन्द्र राई

काठमाडाै‌ं

छन लाई मंसग सिंगो जिन्दगि थियो
तर 
सकियो यसरी नै,त्यसरी नै उज्यालोको खोजिमा । 

अलिकति
विस्वास थियो 
त्यो पनि पोखिएरै सकियो
- अलिकति नाराहरूमाथि
- अलिकति घोषणापत्रहरूमाथि 
र अलिकति मतपत्रमाथि खन्याएर । 

यी आँखाहरूसंग
जोशिलो सपनाहरू थिए
केही छुटिगए जंगलतिरै समयको मार्चपासमा
परेड खेल्दा खेल्दै
केहि खिया लागेर थन्किए
समयको शिविरभित्र । 

यी ओठहरूसंग
बुलन्द आवाज थिए
- अलिकति खर्चियो     
हजुरकै लागि बोलिदिन्छौँ भन्नेहरूको लागि कराईदिँदा !
- अलिकति सकियो भक्तिगान गाउँदा गाउँदै
- अलिकति अल्झियो तानाशाहको विरुद्दको गितमा
- अलिकति सकियो निरङ्कुसताको विरुद्धको कवितामा
- अलिकति सकियो बेतिथिको विरुद्धको नारामा
- थोरै खर्च भो गणतन्त्रको पक्षको जयजयकारमा
- थोरै सकियो प्रतिगमनको विरोधि भाषणमा । 

यी हातहरूसंग 
दह्रिलो मुठ्ठि थियो
तर
- घरी भाँचिए जहानिया शाशनको विरूद्द उठ्दा
- घरी बाङ्गिए प्रजातन्त्रको लय सोझ्याउँदा 
- कहिले बाँधिए विभेदको गाँठो फुकाउन खोज्दाखोज्दै
- कहिले झण्डा उचालेर उठ्यो
- कहिले कन्दुक समातेर तेर्सियो
हातहरूले अझैसम्म राहत खोजिरहेछन्।


यो छाति संग
आत्मासम्मानको टाकुरा थियो
- अलिकति भत्कियो स्वाभिमानको व्यापारले
- अलिकति धस्कियो अराजकताको पहिरोले
- अलिकति पहिरो गयो हुकुमि शाशनको बाढीले
अहिले
पिडाको गहिरो खाडल मात्रै बाँकि छ। 

यी पइतालाहरूसंग 
अविचलित यात्राको प्रतिवद्दता थियो।
- केही हिँडिपठाईयो गन्तव्यको खोजिमा
- केही टेकिपठाईयो ईतिहासप्रतिको समर्पणमा
- केही पछ्याईपठाईयो  आश्वासनको पछि पछि
- केही कुदिपठाईयो पक्ष विपक्षको झडपमा। 


अहिले ठिक यो समय
रगतले लेखेको समर्पणको रक्तिम बहिखाता बोकेर 
सपनाहरूको ठेगाना खोज्दै
म 
आईपुगेको छु सिंहदरवार अगाडि 

हेर्नू छ
पाईलाहरू रोक्न
पानिको फोहरा हानिरहेको सिंहदरबारसंग
बिचारको आगो निभाउने
कुन हतियार रहेछ ?

प्रकाशित मिति: : 2021-02-13 13:34:00

प्रतिकृया दिनुहोस्