वीरगञ्जका घरघरमा ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ सूचना !

वीरगञ्ज महानगरपालिकाले होम आइसोलेशनमा बस्न बाध्य भएकाहरुको पहिचानका लागि सूचना टाँसेको छ।

‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन्। कोरोना संक्रमितको घरमा स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसिएकाे महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो जानकारी दिए।

आज अपरान्हसम्म ४१ वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। 

यसअघि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल सञ्चालनमा आएको भएपनि त्यहाँ विरामी चाप थेग्न नसकिने स्थिति आएकाे छ।

वीरगञ्जमा आजसम्म कूल १ सय ८४ संक्रमितहरु भेटिएका छन्। ती मध्ये ६२ जना गण्डक अस्पतालको आइसोलेशनमा रहेका छन्। तर, १ सय २२ जना अस्पतालमा राख्ने ठाउँ नभएपछि घरमै होम आइसोलेशनमा बस्न बाध्य भएका छन्।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको भार कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेसनमा राखिएको हो।

पछिल्लो समय वीरगञ्जमा ‘मिश्रित केस’ देखिएको छ। कसैमा कोरोना संक्रमणको लक्षण देखिएको छ भने कसैमा लक्षण देखिएको छैन।

लक्षण नभएकालाई घरमै आइसोलेसनमा राख्दा कोभिड अस्पतालको लोड कम हुन्छ। 

होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

वडा अध्यक्ष, नजिकका प्रहरी कार्यालय र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्। संक्रमितसँग प्रत्येक दिन बिहान र साँझ स्वास्थ्यकर्मी सम्पर्कमा आउने स्वास्थ्य महाशाखाका प्रमुख महतोले बताए।

वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन हुने

नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने गरी वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आउने भएको छ।

वीरगञ्ज हेल्थ केयर अस्पताल संचालक समितिले बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्र पर्सालाई अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि दिने निर्णय गरेको हाे।

वीरगञ्जमा कोरोना संक्रमितहरु उपचार नपाएर होम आइसोलेशनमा बस्नु पर्ने बाध्यता सृजना भएपछि स्वास्थ्य मन्त्रालयले निर्णय गरे बमोजिम नारायणीको व्यवस्थापनमा रहने गरी वीरगञ्ज हेल्थ केयर अस्थायी रुपमा कोरोना संक्रमितको उपचारको लागि उपलब्ध गराइएको अस्पतालका कार्यकारी निर्देशन डा.अबुलेश अन्सारीले बताए।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालय र केन्द्रिय संकट व्यवस्थापन केन्द्र समक्ष निर्णयका लागि सिफारिस गरि पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए।

नारायणी अस्पतालको व्यवस्थापनमा संचालन हुने गरी स्वास्थ्य मन्त्रालयको पत्र चाँडै आउने समेत प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।

प्रकाशित मिति: : 2020-07-30 20:42:23

प्रतिकृया दिनुहोस्