सुशान्त आत्महत्या प्रकरणमा बिहार पुलिसले भन्यो, ‘मुम्बई प्रहरीबाटै हामी असुरक्षित छौं’

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न गएको बिहार पुलिस मुम्बई पुलिसबाटै आफूलाई असुरक्षित महसुस गर्न थालेको छ। 

सुशान्तका बुवाले यसै साता आफ्नो छोराको निधनमा उनको प्रेमिका रेहा चक्रवर्तीको ठूलो हात भएको आरोप लगाएका थिए। उनले मुम्बई प्रहरीले छोराको मुद्धामा राम्रोसँग अनुसन्धान नगरेको भन्दै बिहार उच्च अदालतमा मुद्धा दायर गरेका थिए। 

सुशान्तको मुद्धा बिहारमा परेपछि बिहार पुलिस अनुसन्धानका लागि सोमबार मुम्बई पुगेको थियो। तर, अनुसन्धानमा मुम्बई प्रहरीले सहयोग नगरेको बिहार पुलिसका प्रमुख गुप्तेश्वर पाण्डेयले बताएका छन्। 

उनले अनुसन्धानका लागि मुम्बई पुगेका बिहार प्रहरीका चार अधिकारीलाई ‘क्वारेन्टाइन’ को नाममा कब्जामा राखेको आरोप पाण्डेयले लगाएका छन्। ‘हाम्रो आइपीएस अधिकारी विनय कुमार तिवारीलाई जबरदस्ती क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने। 

सुशान्तको निधन भएको ५० दिन वितिसक्दा पनि मुम्बई प्रहरीले राम्रोसँग अनुसन्धान गर्न नसकेको भन्दै विरोध सुरु हुन थालेको छ। सुशान्तको निधन भन्दा अगाडि उनको मेनेजर दिशा सालियानको आत्महत्याको घटना पनि यतिबेला खुब चर्चामा छ। 

अहिले दिशा र सुशान्तको आत्महत्या प्रकरणमा एउटै व्यक्तिको हात हुन सक्ने भन्दै मुम्बई प्रहरीलाई दबाब पर्न थालेको छ। 

तर, मुम्बई प्रहरीले दिशाको आत्महत्या अगाडि नै भएको भन्दै त्यो घटनालाई सुशान्तको मुद्धामा जोड्न चाहिरहेको छैन। यसमा मुम्बई प्रहरीप्रति पनि आशंका व्यक्त गरिएको छ। 

बिहारबाट अनुसन्धानका लागि गएको प्रहरीको अर्को विशेष टोली मुम्बई प्रहरीबाट असुरक्षित भएको भन्दै लुकेर काम गरिरहेका छन्। ‘हामीलाई मुम्बई प्रहरीले सहयोग गरेको छैन। किन गरेन, यो खोजीको विषय हो,’ बिहार प्रहरी प्रमुख पाण्ड्येले बताएका छन्। 

यस्तै, बिहार सरकारले तानातानका बीच सुशान्तको मुद्धामा सीबीआईलाई छानवीन गर्न दिने सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2020-08-04 16:53:02

प्रतिकृया दिनुहोस्