सुशान्त आत्महत्या प्रकरणः ४ वर्षमा ५० करोड रुपैयाँ झिकेको बिहार प्रहरीको दावी

बिहार प्रहरी प्रमुख गुप्तेश्वर पाण्ड्येले मुम्बई प्रहरीले अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा आर्थिक पक्षको छानवीन नभएको आरोप लगाएका छन्। 

उनले पछिल्लो ४ वर्षमा सुशान्तको खाताबाट ५० करोड रुपैयाँ झिकिएको आरोप लगाएका छन्। यसमा १५ करोड रुपैयाँ एक वर्ष भित्र निकालिएको देखिएको छ। 

मिडियासँग कुराकानी गर्दै पाण्ड्येले भने, ‘४ वर्षमा सुशान्तको खाताबाट लगभग ५० करोड रुपैयाँ झिकिएको देखिएको छ। यस्तै, पछिल्लो एक वर्षमा १७ करोडमध्ये १५ करोड निकालिएको छ। के यो बिन्दुबाट छानवीन हुनुपर्ने थिएन? हामी चुप लागेर बस्दैनौं। हामी मुम्बई प्रहरीसँग यस विषयमा कुरा उठाउने छौं।’

सुशान्त आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले ५० दिनसम्म पनि राम्रो छानवीन गर्न सकिरहेको छैन। मुम्बई प्रहरीले छानवीनको दायरा अर्केतर्फ मोड्न थालेपछि सुशान्तका बुवाले बिहारको उच्च अदालतमा मुद्धा दायर गरेका थिए। यो मुद्धामा सुशान्तकी प्रेमिका रेया चक्रवर्तीलाई मुख्य अभियुक्त बनाइएको छ। 

सुशान्तको मुद्धा अदालतमा पर्ने वित्तिकै सक्रिय भएको बिहार प्रहरीले आफ्नो छानवीन टोली मुम्बई पठाइसकेको छ। तर, मुम्बईमा आफ्नो टोलीलाई छानवीनका लागि सहयोग नभएको पाण्ड्येले आरोप लगाएका छन्। 

पटनाका एसपी विनय तिवारीलाई ‘क्वारेन्टाइन’ का नाममा मुम्बई प्रहरीले १४ दिन आफ्नो नियन्त्रणमा लिएको छ। 

उनी हवाईजहाज मार्फत मुम्बई पुगेका थिए। छानवीनका लागि सडक मार्गबाट गएका अन्य अधिकारी मुम्बई प्रहरीको असहयोगका कारण लुकेर छानवीन अगाडि बढाईरहेको बिहार प्रहरीले बताएको छ। सुशान्तको आत्महत्या १४ जुनमा भएको थियो।

प्रकाशित मिति: : 2020-08-04 18:09:03

प्रतिकृया दिनुहोस्