चिउडी साँघुमा राजारानी ठड्याउने कालो तिरुवा

 लुकेको कला –३ 

देशमा राजतन्त्रको अत्य भइ गणतन्त्रको स्थापना भएको दशक बितिसकेको छ। गणतन्त्रले काठमाडौंको सिंहदरबारलाई फोटोकपी गरेर गाउँगाउँ पुगाएको छ। फोटोकपी डुब्लिकेट भएपनि ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनि नोटरी हुने भएकाले यसलाई आधिकारिक नै मानिएको छ। 

तलदेखि माथिसम्मका सबै दरबारहरु हेर्दा उस्तै छन्। तिनका आनिबानी र चरित्रमा कुनै फरक देखिदैनन्। अपवाद बाहेक अधिकांश फोटोकपी कार्टेजमा टोनर सकिएको बेलाका जस्ता मधुरा छन्। त्यसैले उनीहरुका धेरै काम अपुरा र अधुरा मात्र कहाँ हो र, चरम निराशाजनक छन्। 

खिया लागेको सिंहदरबारको फोटोकपी गाउँमा पुगेकै हुनाले यस्तो भएको हो। तर माथिका नेता देखि तलका कार्यकर्ता र तिनका झोलेहरु सम्मले गफ लाउन छोडेका छैनन्, ‘गणतन्त्र हाम्रो बलले आएको हो।’ 

राजतन्त्रको समयमा देशका चोक चोकमा उभिएका राजारानीका शालिकहरु र सिंगो राजतन्त्रलाई प्रतिगमन विरोधि आन्दोलनद्वारा ढालियो। तर देशभरका शालिकहरुको जगमा उभिएको राजतन्त्र ढलिसक्दा जुम्लाको हिमा गाउँपालिका –७ चिउडी साँघुमा भने राजारानी शालिक बनेर जस्ताका तस्तै उभिएका छन्।

अझ अनौठो संगोग त यो छ कि, जुन दिन नारायणहिटीमा राजा विरेन्द्रको वंश नाश भएको खबर आयो। त्यसै दिन राजा विरेन्द्र र रानी ऐश्वर्यसँगै उनका गार्डहरु सिंजा चिउडीको साँघुमा शालिक बनेर उभिएका थिए। त्यस यता चिउडी साँघुको चर्चा चुलिएको चुलिएै छ। 

राजारानी उभिदा साँघु आकर्षक देखिएको छ। यसले चिउडीलाई मात्र होइन समग्र हिमा गाउँपलिकाकै आकर्षण  बढाएको छ। सिंजालाई सुहाएको छ।

०००

वर्षौं जसो साँघुको चर्चा चुलिँरदा कालीगढको भने कुनै नामनिशान आएन। तसर्थ त्यो बनाउने कालिगडलाई चिन्न मन लाग्यो।

साँघुको छेउमा झुण्ड्याइएको सानो बोर्डले त भन्छ निर्माणकर्ता कालो तिरुवा। तर उनी कस्ता र कुन अवस्थामा छन् कसलाई के थाहा? त्यसैले हामी उनलाई भेट्न चिउडीस्थित उनको घरमै पुगेका थियौं।  

साउन १७ गते शुक्रबारका दिन सन्ध्याकालीन समय हुनै आँटेको थियो । हामी (म र रतन नेपाली) हिमा गाउँपालिकाको चिउडीको उकालो लागेका थियौं। त्यो उकालोमा  हामीसँगै थिए, हिमा गाउँपालिका –५ का वडा सचिव काली बहहादुर रोकाया। उनीसँग परिचय गर्दा हामीले ‘पत्रकार हौं’ भनेका थियौं। तर उनले पत्रकारको भन्दा कडा शैलीमा हामीलाई प्रश्न गरे ‘कालो तिरुवाई भेट्नुको भित्री रहस्य के होला?’

उनको प्रश्नले अक्मकिएका हामीले कालो तिरुवाको कलाबारे बुझ्न चाहेको कुरा गर्दा उनले भनेका थिए, ‘वास्तवमा काल दाई कलात्मक बड्डा हुन्। न्यौना (यतातिरका) मै हुँ भुन्या देउता, लाटिबजु देखि पित्तका थान खोपासम्म राख्ने मुर्ती, मर्काट्टा सबैमा काल दाईको सीप लागेको छ।’

उनले घर देखाइदिएपछि हामी सोझियौं, कालो तिरुवाको घर। बर्खाको बादललाई दुई फ्याक बनाएर उदाएका जुन भर्खर उज्यालो छर्ने बेला उनी दिनभरको कामबाट विश्राम लिने तयारीमा थिए। 

उनी तीनै कालो तिरुवा थिए, जसले चिउडी साँगुमा (काठेपुलमा) उभिएका राजारानी, उनीहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समेतलाई काठे मुर्तीमा कुँद्ने काम गरे। उनकै करामत स्वरुप हाल चिउडी साँगुको चर्चा देश, विदेश फैलीसकेको छ। तर उनी गुमनाम भएर घरको आगनमा काठमा फुलबुट्टा भर्दैछन्। उनको कलाको बेनामे चर्चा भने चुलिएर सगरमाथा छुन आँटेको छ। 

हामी भने कयौं पछि उनको घर पुगेका छौं। गणतन्त्र आएको एक दशक बढी र काठे मुर्ती बनाएको दुई दशक हुनै लाग्दा। उनले खुइया गर्दै लामो सासमा भने, ‘सरहरुलाई धेरै धेरै धन्यवाद, मकन (मलाई) सम्झि आउनु भयो।’ 

त्यसपछि सुरु भयो चिउडी साँगुमा राजारानी उभ्याउन उनले के के गरे? माओवादीको बिगबिगी भएको बेला राजारानी उभ्याउनलाई खेपेको सास्ती के थियो? अनि हाल आएर तीनै राजारानी उभिएको आडमा सुतिसुति गरिने मस्ती के के छ?

००० 

२०५७ साल फागुनको महिना चिउडीका सबै गाउँलेको भेलाले साँघुमा राजारानी उभ्याउने निधो गरेको थियो। काठमाडौंमा ऐस आराम साथ वंश शासन चलाइरहेका राजारानी चिउडी आइदिन सम्भव थिएन। उनीहरु लभ थिए। लभको दुरुस्तै कुश बनाउन जरुरी थियो।

रामायणमा कुश बनाउने ऋषि बाल्मिकीको भए जस्तै राजारानीको शालिक बनाउन सक्ने ऋषि फेला परेनन्।  फलाम र सुनमा लागेको मयल पखाल्दा पखाल्दा आफै मैलिएका कालो तिरुवाले हात उठाए । उनले माओवादीको जर्जर शासनदेखि डराएर आत्मसमर्पण गर्न हात उठाएका थिएनन्। 

राजारानीको कुश बनाउन तयार ऋषि मै हुँ भनेर हात ठडाएका थिए। उनको हात ऋषिको कुटीबाट निस्किएको थिएन कामीको खाब्डोबाट निस्किएको थियो, फुल कन्फिडेन्टका साथ। त्यसपछि जिम्मा पाए कुश अर्थात राजारानीको काठे शालिक निर्माणको।

सुरु भयो काठका काचा मुडामा बिरेन्द्र, ऐश्वर्या, सुरक्षा गार्ड, जो ‘मैले देखेको दरबार’ होइन ‘मैले सुरक्षा गरिरहेको राजारानी’ लेख्ने तयारीमा जुट्नेवाला थिए। यी सबैलाई कुश मुहारवाला बनाउन घोत्लिए। उनी हातका औंला भाँच्दै ती दिन सम्झिछन्, ‘फागुन एक, चैत दुई, बैशाख तीन, जेठ चार... मुइना (महिना) लाग्यो हजुर, ती सबै बनाउन।’ 

०००

चार महिनाको अवधिमा तोकिएको काम पुरा भयो। राजारानीको एक सगोल शालिक तयार भयो। सबैको सल्लाहमा तीनलाई ठड्याउने तयारी भयो। त्यहि बेला आन्दोलनलाई चरम उत्कर्षमा पु¥याएका तातो रगतवाला माओवादी आए। बीस पच्चिस जना माओवादीको समुहले उनलाई अपहरणशैलीमा एक होटलमा लग्यो। त्यसपछि ताँती लाग्यो प्रश्नहरुको। डरको परमाणु बमले गाउँलेको मनमा भुँचालो ल्यायो, नौ रेक्टर स्केलको। 

माओवादीको प्रश्नलाई उनले यसरी सम्झिए। “कमरेडहरुले भन्नुभयो, ‘बुबा तपाई त राजाको धेरै प्यारो हुनुहुँदो रहेछ। राजभक्त हुनुहुने रहेछ। राजाको परिवार आफ्नो घर नजिक बनाइदिनु भयो। कुन कारणले बनाउनु भयो?,’ मैले भने, ‘गाउँलेहरुले सबैको सर–सल्लाहले बनायौं। हामीले केही चिनारी दिने कोसिस गरेका हौं। मैले आफ्नो सीप देखाएको मात्र हुँ’।” 

त्रासपूर्ण ती दिनको सम्झना गर्दा उनी हालसम्म पनि डराय जस्ता देखिन्थे। माओवादीले उनलाई कारबाही गर्ने कुरा गरे। भए नभएका डर देखाए। राजारानी बनाउनुका फाइदा सोधे। ‘हामी राज्य सत्तालाई ध्वस्त गरेर नयाँ निर्माण गर्ने अभियानमा छौं। सबै जनतालाई सुख शान्ति हुने व्यवस्थाका लागि लडिरहेको बेला कस्तो प्यास लागेर राजारानी बनाउनुभयो? तपाईहरुलाई जनकारबाही गरिनेछ।’

उनीहरुका धम्कीले गाउँलेका मुटु कलेजोलाई माखाको पित्त जत्रो सानो बनाइदियो। 

त्यही बीचबाट भिड भन्दा अलग रहेका कमरेडले उनलाई नजिक बोलाए। ‘जे हुन भइहाल्यो। अब तपाईले यस्तो नगुर्न होला। पछि प्रचण्ड कामरेडको मुर्ती बनाउने काम तपाईको भयो’ भनेर छोडे। त्यसबेला बचेपछि निस्सासएिको सासलाई लामो गरी तान्दै भन्छन्, ‘मलाई अहिले लाग्छ, उहाँ कमरेड कमाण्डर हनुहुन्थ्यो हो। उहाँले भन्नुभयो भोली हाम्रो सत्तामा तपाईहरु जस्ता मान्छे चाहिन्छ। त्यो बेला हाम्रो लागि तयार हुनुहोला। त्यसपछि मलाई कारबाही भएन।’ 

काम अगाडि बढाउने बाटो खुल्यो। तर जुन दिन साँघुमा राजारानी ठड्याउने योजना तय भयो, त्यही दिन राजदरबार हत्या काण्ड भएको थियो। तर गाउँले निर्णय ग¥यो, ‘लभ’ नरहे पनि कालो तिरुवा नामको ऋषिले तयार पारेका ‘कुश’ राजारानी ठड्याउने हो। त्यस यता चिउडीमा राजतन्त्र चलिरहेको छ, सायद हिजो राजाको शासन र आजको दलीय व्यवस्थामा खास फरक छैन भनेर देखाउने काम कालो तिरुवाको कलाले गरेको छ।

०००

यसबेला उनी ६७ वर्षका भए। आँखा बसेका छन्। चस्मा नलाए सम्म उनी आफ्नो काम पुरा गर्न सक्दैनन्। कान पुरा सुन्दैनन्। पञ्चायतकाल देखि हालसम्म उनको कलाले समाज सजिएको छ। तर उनी समाजको बलमा अगाडी आउन सकेका छैनन्।  कारण उनको कलाले माओवादीको ‘जनताकन सुख शान्तिको लागि लडेको’ भन्ने ढोंगको भविष्यवाँणी उती बेलै भइसकेको थियो। 

यही बीचमा उनलाई प्यारालाइसिस भयो। स्थानीय सरकारका कर्मचारीले १० हजार सहयोग गरे। साँघु बनाउने बेला गाउँलेले आफ्नो भाग कटाएर पनि उनलाई १० हजार सम्मान स्वरुप दिए। त्यस बाहेक कालो तिरुवा एक आम मान्छे जसरी वेवास्ता गरिएका पात्र हुन। तर अहिले चिउडी साँघुको पुनःनिर्माणमा केही लोभि पापीहरुले बिल मिलाउने काम गरिरहेका छन्। 

०००

‘रोडै नजिकै भयो र हजुरले त्यति देख्नु भयो। अरु नदेखिन्या त कति बनाए बनाए। मैले जति पनि खासै कसैले देख्यानुन। हजरुहरुले खोजी गर्नुभयो धेरै आभारी छु। नत्र हाम्रा दिन त यसै बाइग्या, उसै। मेरो शेषपछि समाजकन नासो यहि हो।’ नदेखिएका उनले देखिने कला बनाउने दुई हात जोडेर हस्त नमस्कार भन्दै बिदा गर्दा हामी लाइट बाली ओरालो लाग्यौं। 

‘ओरालो हँड्न (हिड्न) सजिलो (सजिलो), अरुन (आरुलाई) भुन्न सजालो।’

श्रृंखलामा थप

प्रकाशित मिति: : 2020-08-05 05:55:00

प्रतिकृया दिनुहोस्