जब इन्द्रचोकमा विपिनलाई भरिया सम्झेर फ्रिज लगिदिन भनियो

काठमाडौंको पुरानो बजार इन्द्रचोक। यो भरियाहरुको कर्मथलो पनि हो। त्यही इन्द्रचोकमा टि–सर्टमाथि इस्टकोट, कट्टु, प्लास्टिकको चप्पल लगाएर नमिलेका कपालसहित नाम्लो बोकेर बसेका थिए, अभिनेता विपिन कार्की।

त्यतिबेलै एक जना उनकाे नजिक आएर सोधिहाले, ‘मेरो फ्रिज पुर्याईदिने हो?’

अभिनेता विपिन र त्यहाँ छायाँकन चलिरहेकोबारे अनजान ती व्यक्तिले आफूलाई साँच्चिकै भरिया ठान्दा विपिन मनमनै गदगद् भए। किनकि ‘रिल’मा उनले अभिनय गर्न लागेको पात्रलाई मान्छेले ‘रियल’ ठानेका थिए।

‘मेकअप गरेर म मन्दिर परिसरमा बसेको थिएँ। विभिन्न व्यक्तिहरु आएर कामकै अफर गर्नुभयो,’ विपिनले भने, ‘म अभिनय गरिरहेको पात्रलाई उहाँहरुले साँच्चिकै ठानेर कामका लागि बोलाउँदा निकै खुसी लाग्यो। मैले गरेको काम साकार भएजस्तो ठानेँ।’

त्यसदिन विपिनलाई फ्रिज बोक्नेमात्रै हैन, कपास लाने र थान कपडा थहिटीसम्म पुर्याइदिने प्रस्ताव पनि आएका थिए।

‘त्यहाँ भरियाहरु अरु पनि थिए। मानिसहरुले खै के ठानेर मलाई नै कामका लागि बोलाए,’ विपिनले थपे, ‘साँच्चिकै बोक्नुपरेको भए म सक्दिन थिएँ होला। काम दिने मान्छेहरुलाई अप्ठ्यारो नलागोस् भनेर म अभिनय गरिरहेको छु भनेर भनिन। बरु ज्याला बढी मागेर उहाँहरुलाई अरुकोमा जान बाध्य बनाएँ।’

प्रकाशित मिति: : 2020-08-08 23:25:13

प्रतिकृया दिनुहोस्