ग्वार्डिओला चौथो वर्ष पनि असफल, लिओनद्धारा सिटी ३–१ ले पराजित

बार्सिलोनालाई दुई पल्ट च्याम्पियन्स लिगको उपाधि दिलाएका पेप ग्वार्डिओला फेरि एकपल्ट इंग्ल्सि क्लब म्यानचेस्टर सिटीलाई युरोपेली क्लब फुटबलको प्रतिष्ठित उपाधि दिलाउन असफल भएका छन्। 

सन् २०१६ मा इंग्ल्याण्ड प्रवेश गरेयता लगातार चौथो वर्ष उनी असफल भएका हुन्। च्याम्पियन्स लिगअन्तर्गत लिओनविरूद्ध शनिबार राती भएको क्वाटर फाइनल खेलमा ३–१ ले पराजित हुँदै उनको टिम म्यानचेस्टर सिटी बाहिरिएको छ। 

पोर्चुगलको लिस्बनमा भएको क्वाटर फाइनलमा मोउसा डेम्बेलेको दुई गोलको सहयोगले लिओन विजयी भएको थियो। 

कोरोनाका कारण यसपालि क्वाटर फाइनल र सेमिफाइनलको खेल नकआउटको आधारमा हुँदैछ। यसअघि ‘होम एण्ड अबे’ नियम अनुसार दुबै टोलीले आफ्नो घर तथा विपक्षी टोलीको गृह मैदानमा खेल्दै आइरहेका थिए। 

शुक्रबार राती बार्सिलोना ८–२ गोल अन्तरले जर्मनीको वायर्न म्युनिखसँग पराजित भएको अवस्थामा सिटीको बर्हिगमनले पनि सबैलाई चकित तुल्याएको छ। 

बार्सिलोनामा हुँदा ग्वार्डिओलाले २००८–०९ तथा २०१०–११ को सिजन गरि दुई पल्ट च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। 
लिओनका लागि पहिलो हाफको २४ मिनेटमै म्याक्सवेल कर्नेटले गोल गर्दे अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा केभिन डि ब्रोयनले ६९ मिनेटमा गोल फर्काएर खेललाई १–१ को बराबरीमा त ल्याए तर अन्तिम २० मिनेट सम्हालिन नसक्दा सिटी पराजित भयो। डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-08-16 08:48:23

प्रतिकृया दिनुहोस्