हेटौँडामा निषेधाज्ञा थप भदौ ९ गतेसम्म

रासस

वाग्मती

मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो।

 हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो। 

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। निषेधाज्ञा विगतका तुलनामा कडा पारिने उनको भनाइ छ।
 
निषेधाज्ञा समयमा बिहान ५ देखि  ८ बजेसम्म पसल खुला रहने छ। त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ। 

साथै उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ।

 त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ। जिल्ला बाहिरवाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: : 2020-08-16 17:27:06

प्रतिकृया दिनुहोस्