अमेरिकी चुनाव २०२४ मा नेपाली

अमेरिकामा डा. ह्यारी भण्डारीको क्षेत्रमा ६ उम्मेद्वार, जन युसँग सोझो प्रतिस्पर्धा

प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकी कंग्रेसका लागि  निर्वाचन दौडमा रहेका नेपाली मुलका डा. ह्यारी भण्डारीको डेमोक्रेटिक प्राइमरीमा पाँचजना उम्मेद्वारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। उम्मेद्वारी दिने निर्धारित समयसम्म यो क्षेत्रबाट ६ जना डेमोक्रेट्सको उम्मेद्वारी परेको छ । उम्मेद्वार दिनेमा उनीसहित जन जनी ओ ओल्जेवस्की जुनियर, सिया किरियाकाकोस, स्यारोन रिड-बर्न्स, जेसिका स्जोबर्ग र क्लिन्ट स्पेलवर्ग रहेका छन् ।

कस्ता छन् प्रतिस्पर्धी?

जोनी ओ ओल्जेवस्की जुनियर


जोन युका नामले परिचित उनी बाल्टिकोर काउन्टी एक्ज्युकेटिव हुन् । डन्डक क्षेत्रबाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्य रहिसकेका उनी राजनीतिका पुरानै खेलाडी हुन् । कुनै समय शिक्षक रहिसकेका उनी मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ का बासिन्दा भने हैनन् ।

सिया किरियाकाकोस

बाल्टिमोर काउन्टीकै पब्लिक स्कूलकी कला शिक्षिका सिया एक पेन्टर हुन्। राजनीतिमा डेब्यु गरिरहेकी उनी कला शिक्षकका रूपमा भने स्थापित छिन्। उनी हिस्पानिक मूलकी हुन् । 

स्यारोन रिड-बर्न्स


बाल्टिमोर काउन्टीकी पब्लिक नोटरी उनी राजनीतिमा नयाँ प्रवेशी हुन्। अफ्रिकन- अमेरिकी मूलकी स्यारोन कम्प्युटर साइन्स अध्ययन गरेकी छिन्।

जेसिका स्जोबर्ग


पेशाले एक स्वास्थ्यकर्मी क्लिनिकल एशोसियट्स जेसिका मेरिल्याण्डको क्याटोन्सभिलमा बस्छिन्। उनी पनि राजनीतिमा नवप्रवेशी हुन्। 

क्लिन्ट स्पेलवर्ग


अलस्टेट बिमामा कार्यरत् उनी मेरिल्याण्डको रिसस्टर टाउनमा बस्छन्। उनी पनि राजनीतिमा नव प्रवेशी हुन् ।

को सँग हुन्छ प्रतिस्पर्धा ?

यो क्षेत्रमा उम्मेद्वार दिने ह्यारी र जोन यु  लामो समयदेखि राजनीतिमै छन् । जोन यु बाल्टिकोर काउन्टी एक्ज्युकेटिव रहनुपूर्व नै मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका सदस्य रहिसकेका छन् भने ह्यारी २०१८ देखि  मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका सदस्य रहदैआएका छन् । 

अरू उम्मेद्वार भने राजनीतिमा नवप्रवेशी हुन् । मतदाताले उनीहरूलाई जित्ने उम्मेद्वारका रूपमा सिरियस्ली हेरेका पनि छैनन् ।

त्यसैले यसपटकको मूल प्रतिस्पर्धा डा. भण्डारी र जोन यु बीचमै हुने देखिन्छ। लामो समयसम्म सँगै काम गरेका उनीहरूले २०२२ को चुनावमा पनि सहकार्य गरेका थिए । यसपटक भने उनीहरू मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् ।

कहिले हुन्छ प्राइमरी ?

मेरिल्याण्डमा मे १४ मा प्राइमरी भनिने अन्तरपार्टी चुनाव हुन्छ। यो चुनावमा जो विजयी हुन्छ उसले रिपब्लिकन पार्टीका उम्मेद्वारसँग नोभेम्बर ५ मा हुने आमचुनावमा प्रतिस्पर्धा गुर्नुपर्ने हुन्छ। 
रिपब्लिकन प्राइमरीमा भने दुईजना उम्मेद्वार छन्। जसले जिते पनि उसले डेमोक्रेटिक उम्मेद्वारलाई जित्ने स्थिति नै छैन । डेमोक्रेटिक पार्टीको दबदबा रहेको यस क्षेत्रमा नोभेम्बर ५ मा हुने आमचुनाव डेमोक्रेटिक उम्मेद्वारलाई विजयी घोषणा गर्ने एक औपचारिकता मात्रै हुने छ ।

प्रकाशित मिति: : 2024-02-11 23:53:00

प्रतिकृया दिनुहोस्