थानकोटका प्रहरी भन्छन्ः कोरोना लाग्ला भन्दा पनि भित्रिएला भन्ने डर छ (भिडियो)

भिडियो र फोटोः शनिराज शाक्य/बिएल नेपाली सेवा


कोरोना भाईरसको संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकासहित मुलुकभर चैत ११ गतेदेखि करीव ४ महिना  लकडाउन गर्‍यो

लामो समयको लकडाउनले आम नागरिक वाक्क दिक्क भए। जनजीवन अत्याधिक प्रभाविक भयो। बिस्तारै लकडाउनको उलंघन गर्ने बढ्न थाले र सरकारले बाध्य भएर १२० दिन पछि केहीमा प्रतिबन्ध लगाएर लकडाउन अन्त्य भएको घोषणा गर्‍यो। 

लकडाउन खोलेको केही दिनमै फेरि कोरोना संक्रमित बढ्न थाले। दिनदिनै कोरोना संक्रमित बढेपछि सरकारले हरेक स्थानीय तहलाई लकडाउन गर्नसक्ने गरि अनुमति दियो। काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले ‘सटडाउन’ को घोषणा गरे। 

यो सँगै काठमाडौं भित्रने सबै नाकामा पूर्ण रूपमा बन्द भयो। अत्यावश्यक खाद्यन्य र एम्बुलेन्सलाई कडा चेकजाँच गरेर छोडिन थालियो।

यता उपत्यकामा कोरोना बढेको बढ्यै हुने र उता जिल्ला प्रशासनले पास वितरण गरेको गर्‍यै हुन थालेपछि गृह मन्त्रालयले देशभरीका ७७ वटै प्रशासन कार्यालयलाई पत्राचार गरि पास वितरण बन्द गर्न निर्देशन दियो।

यसपछि पासबाहकहरू समेत काठमाडौं भित्रन नपाउने भए। प्रहरीले सीमामा कडाई गर्‍यो। 

गृह मन्त्रालयले २७ गतेदेखि पास रद्द भने पनि काम विषेशले अग्रिम पास लिएकाले केही भने काठमाडौं फर्कने मौका पाए। तर २७ गते यता पास वितरणनै बन्द भएपछि भ्याली छिर्नेको उल्लेख्य कमी भयो। 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी धनश्याम श्रेष्ठका अनुसार साउन २७ गते यता काठमाडौं उपत्यकामा १ हजार ७ सय ६४ सवारी साधन भित्रिएका छन्। 

सुरूका दिनमा अग्रिम पास लिएका केही भित्रिए पनि २७ गतेपछि पास जारी बन्द भएपछि काठमाडौं भित्रनेको संख्यामा कमी भएको डीएसपी श्रेष्ठले बीएल नेपाली सेवालाई जानकारी दिए। 

उनका अनुसार साउन २७ गते ४ सय ७७ सवारी साधन काठमाडौं भित्रिएका थिए। भने साउन २८ गते ४२४, साउन २९ गते ४०४, साउन ३० गते २५९ ३१ गते १२२ र साउन ३२ गते ७८ वटा मात्र सवारी साधन भित्रिएका छन्। 

‘सुरूका दिनमा अग्रिम पास लिएर भ्याली बाहिर गएकाहरू फर्कँदा धेरै देखिएपछि पछि पास वितरणनै बन्द भयो। हामीले पछि कडाई गर्‍यौ, अहिले शून्य जस्तै छ’, डीएसपी श्रेष्ठले भने।

अटेरी गर्दै भ्याली छिर्न खोज्नेलाई नाकाबाटै फिर्ता

सरकारको निणर्यलाई अटेर गरी भ्याली छिर्न खोज्ने सवारी साधनलाई प्रहरीले जहाँबाट आएको हो त्यहिँ फिर्ता पठाउने गरेको छ।

साउन २७ यता त्यसरी अटेर गरी काठमाडौं भित्रन खोज्नेलाई प्रहरीले थानकोटबाटै फिर्ता पठाउने गरेको हो। 

थानकोट प्रहरी वृत्तका प्रमुख डीएसपी धनश्याम श्रेष्ठका अनुसार अटेर गरी भित्रन खोज्ने ६ सय २६ सवारी साधनलाई  फिर्ता गरेको प्रहरीले जनाएको छ।

कस्तो अवस्थामा भ्याली प्रवेश पाईन्छ? 

काठमाडौं प्रवेशमा पूर्ण प्रतिबन्द लगाए पनि अत्यावश्यक सेवा, बिरामी बोकेका एम्बुलेन्स, विदेश जान हवाई टिकट काटेका तथा रमाना बुझेर कार्यालयमा हाजिर हुने आउनेलाई प्रहरीले प्रवेश दिइएको छ। 

त्यसरी आउनेलाई प्रहरीले कडाईका साथ कागजपत्र हेरेर भित्रन दिने गरेको डीएसपी श्रेष्ठले जानकारी दिए। 

भ्याली भित्रिने सवारी साधनलाई सेनिटाईज

अत्यावश्यक काममा हिँडेका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्स तथा मालबाहक ट्रकहरुलाई काठमाडौं भित्रिने नाका नागढुंगामै सेनिटाईज गरेर पठाइने गरेको छ।

थानकोटका प्रहरी उच्च जोखीममा 

प्रहरीमा एक त अहिले कोरोनाको उच्च जोखिम छ। अझ त्यसमाथि थानकोट नाकामा रहेका प्रहरीमा झनै जोखिम छ। 

भ्याली भित्रीने नाकामा कडाईका साथ चेकिङ गर्नै पर्‍यो, खुला ठाँउ छ, फेरि वर्षाको समय छ, जोखिम नभएको होन, तर जोखिम छ भन्दैमा पछि हट्ने कुरा नभएको थानकोट वृत्तका प्रमुख डीएसपी श्रेष्ठले बताए। 

‘हामीले सक्दो सावधानी अपनाएका छौं, ड्यूटीमा खटिएका हाम्रा कर्मचारीलाई स्वाथ्य सावधानीका बारेमा दिनदिनै ब्रिफिङ गर्दै आएका छौं, हामीलाई कोरोना लाग्ला भन्दा पनि कोरोना भ्यालीमा छिर्ला भन्ने डर छ’, डीएसपी श्रेष्ठले भने।

प्रकाशित मिति: : 2020-08-17 17:41:46

प्रतिकृया दिनुहोस्