हालेपले पनि त्यागिन् युएस ओपन, अरु स्टार खेलाडी पनि सहभागी नहुने

एजेन्सी

काठमाडौं

कोरोना भाइरसका कारण न्युयोर्कमा हुन लागेको युएस ओपनमा स्टार खेलाडीहरु एकपछि अर्को गर्दै आफ्नो नाम फिर्ता लिने क्रम रोकिएको छैन।

चर्चित ग्रान्डसलाम प्रतियोगिताबाट रोमानियाकी विश्व नम्बर दुई सिमोन हालेपले पनि नाम फिर्ता लिएकी छिन्।

२८ वर्षीय हालेपले ट्वीट गर्दै कोरोना महामारीबीच न्युयोर्कमा हुने प्रतियोगितामा आफू नखेल्ने निर्णयमा पुगेको जनाएकी छिन्।

प्रतियोगिता ३१ अगस्ट बाट १३ नोभेम्बर सम्म हुने कार्यतालिका रहेको छ।

यसअघि मेन्स र वुमेन्स दुवैतर्फको साविक च्याम्पियन राफेल नाडाल र यिबांका एन्द्रस्कुले नाम फिर्ता लिएका थिए। विश्व नम्बर एक एश्ले बार्टीले पनि नखेल्ने जानकारी दिएकी थिइन्।

 त्यस्तै स्वीस स्टार रोजर फेडेरर चोटका कारण यो वर्ष कुनैपनि प्रतियोगिता खेल्ने छैनन्। उत्कृष्ट खेलाडीले निरन्तर नाम फिर्ता लिएसँगै युएस ओपन खल्लो हुने आँकलन गरिएको छ।

न्युयोर्क जान सक्दिनँ

हालेपले ट्वीट गर्दै भनिन् ‘कोरोना भाइरसका कारण विश्वभरमा जुन अवस्था भइरहेको छ। यो अवस्था देखेर मैले न्युयोर्क नजाने निर्णय गरेको छु। मैले संधै भन्दै आएको छु मेरो लागि स्वास्थ्य भन्दा ठुलो कुरा अर्थोक हुँदैन। म युरोपमा रहेरनै अभ्यास गर्ने छु।’  

यद्यपि उनले प्रतियोगितामा युनाईटेड स्टेट टेनिस एसोसिएसन तथा डब्ल्यूटीए (वुमेन्स टेनिस एसोसिएशन)ले प्रतियोगिता सुरक्षित रुपमा सम्पन्न गर्न राम्रो काम गरेको बताइन्।

हालेपले १६ अगस्टमा चेक रिपब्लिकमा भएको प्राग ओपन टेनिस प्रतियोगिता जितेकी थिइन्।

उनले फाइनलमा तेस्रो बरियताकी बेल्जियमकी एलिसी मार्टेसलाई ६–२, ७–५ ले हराउँदै उपाधि जितेकी थिइन्।  

यसअघि उनले दुबईमा भएको डब्ल्यूटीए प्रीतयोगिता पनि जितेकी थिइन्।

हालेपले २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डन जित्दै दुई ग्रान्डसलाम आफ्नो नाममा पारेकी थिइन्।

 जोकोभिचले खेल्ने

यद्यपि प्रतियोगितामा धेरै स्टारले नाम फिर्ता लिए पनि विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिचले भने खेल्ने जनाइएको छ। १७ ग्रान्डस्लाम जितेको जोकोभिच १८ औं ग्रान्डसलाम जित्ने धुनमा छन्।

 त्यसैले उनी स्टार फेडेरर र नाडाल नभएको फाइदा उठाउने सुरमा समेत छन्। जोकोभिचले वर्षको सुरुवातमा रेर्कर्डेड रुपमा ८ औं ग्रान्डसलाम जितेका थिए।

विम्बल्डन रद्द, फ्रेन्च ओपन २७ सेप्टेम्बरमा

यो वर्षको पहिलो ग्रान्डसलाम अस्ट्रेलियन ओपन कोरोना भाइरसको महामारी अघिनै सम्पन्न भयो। जबकी यो वर्ष हुने चर्चित विम्बल्डन भने कोरानाकै कारण रद्द भइसकेको छ।

२४ मे मा हुने फ्रेन्च ओपन भने अब २७ सेप्टेम्बर देखी ११ अक्टोबर सम्म हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: : 2020-08-17 23:00:38

प्रतिकृया दिनुहोस्