एक दशक सिटीबाट खेलेका सिल्भाकाे इतिहाद स्टेडियम बाहिर ‘स्ट्याचु’ राखिने

एक दशक प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट खेलेका स्पेनिस मिडफिल्डर डेविड सिल्भा स्पेनमै फर्किएका छन्।

३४ वर्षीय सिल्भालाई फ्रि–ट्रान्सफरमा रियल सोसिडाडले दुई वर्षका लागि अनुबन्ध गरेको हो।

सिल्भाले सोसिडाडमा २१ नम्बरको जर्सी लगाउनेछन्। सिल्भाले सिटीका लागि गत शनिबार अन्तिम खेल खेलेका थिए।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको सो खेलमा सिटी फ्रेन्च क्लब लियोनसँग पराजित भएको थियो। उक्त खेलमा ३–१ ले पराजित हुँदै सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।

सिटी छाड्ने घोषणापछि नै सिल्भा इटालियन सिरी ए क्लब लाजियो जाने चर्चा चलेको थियो।

सिल्भालाई तीन वर्षको सम्झौता गर्ने प्रस्ताव गरेको थियो। तर उनी स्पेन नै फर्किएका छन्।

मार्टिन ओडेगार्ड एक वर्षको लोनपछि रियल मड्रिडमा फर्केकाले सोसिडाड नयाँ प्लेमेकरको खोजीमा थियो र त्यसैका लागि सिल्भालाई क्लब भित्र्याएको हो।

सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियबाट सिटीमा आएका उनले १० वर्षको दौरान सिटीबाट ४३६ खेल खेल्दा १४ वटा ट्रफी उचाले। 

जहाँ उनले ४३६ खेल खेल्दै ७७ गोल गरेका छन्। सिटीमा रहँदा उनले चार प्रिमियर लिग, २ एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड उपाधि जितेका छन्।

सिल्भाले प्रिमियर लिगमा मात्र सिटीका लागि ३०९ खेल खेले। जसमा उनले ६० गोल गरे।

सिटीले २०१२, २०१४, २०१८ र २०१९ मा सिटीले प्रिमियर लिगको उपाधि जित्दा उनको महत्वपूर्ण योगदान दिए।

यस्तै उनले प्रिमियर लिग बाहेक अन्य प्रतियोगितामा पनि उत्कृष्ट खेले।

उनले सिटीका लागि सर्वाधिक युरोपियन खेल खेल्ने रेकर्ड बनाए।

उनले एक दशकमा सिटीबाट ७० च्याम्पियन्स लिगका खेलमा प्रतिस्पर्धा गरे।

स्पेनले २०१० को विश्वकप जित्दा तथा २००८ र २०१२ को युरो कप जित्दा उनी राष्ट्रिय टिममा थिए।

सिल्भाको सम्मानस्वरुप सिटीले इतिहाद स्टेडियम बाहिर सिल्भाको ‘स्ट्याचु’ राख्ने घोषणा गरेको छ भने ट्रेनिङ पिच पनि सिल्भाको नामबाट रहनेछ।

सोसिडाड सिजनको ला लिगामा छैटौं भएको थियो। २०२०–२१ को ला लिगा १२ सेप्टेम्बरबाट सुरू हुँदैछ।

प्रकाशित मिति: : 2020-08-18 13:01:15

प्रतिकृया दिनुहोस्