स्यामुयल इटो भन्छन्– मेसीले बार्सिलाेना छाडे हामीले क्लबको नामै फेर्नुपर्छ

बार्सिलोनाका पूर्व खेलाडी स्यामुयल इटो कुनै पनि हालतमा कप्तान लियाेनल मेसीले बार्सिलोनामै करियर टुंग्याउने वातावरण तयार हुनुपर्ने बताएका छन्।

नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यान बार्सिलोना आउने चर्चा चलेसँगै मेसीले क्लब छाड्नसक्ने अनुमान लगाइरहेकाे बेलामा उनले उक्त कुरा बताएका हुन्। 

‘बार्सिलोना नै मेसी हो र मलाई लाग्छ यदि मेसीले क्लब छाड्ने निर्णय लिए भने हामीले क्लबको नामै फेर्नुपर्छ,’ उनले भने, ‘उनले बार्सिलोनामै करियर टुंग्याउने विषय सुनिश्चित गर्नका लागि हामीले सम्भव सबै गर्नुपर्छ।’ 

उनले  मेसी बार्सिलोनाका सर्वकालिन उत्कृष्ट खेलाडी भएकाे समेत बताए।  ‘हामी भाग्यमानी छौं किनकि बार्सिलोनामा हामीसँग सर्वकालिन उत्कृष्ट खेलाडी छन्,’ उनले भने। 

बार्सिलोनाको निरन्तरको खराब प्रदर्शन र क्लबको बोर्डसँगको खराब सम्बन्धका कारण कप्तान लियोनल मेसी अहिले चिन्तित छन्। 

बार्सिलोनाका प्रशिक्षक किके सेतियन र खेलाडीबीच तालमेल मिल्न नसक्दा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा वार्यन म्युनिखसँग टोली ८–२ ले पराजित भयो। 

यसपछि सेतियन बर्खास्तीमा परे। 

यसअघि बार्सिलोनाका पूर्व प्रशिक्षक इर्नेस्टो भाल्भार्डेको बर्खास्तीको विषयलाई लिएर स्पोर्टिङ डाइरेक्टर इरिक अबिदालसँग मेसीको जुहारी नै परेको थियो। ३३ वर्षीय मेसीलाई क्लबमा भित्र्याउनका लागि इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माइनले चासो दिएका छन्। 

३९ वर्षीयले इटोले २००४ देखि २००९ सम्म बार्सिलोनामा बिताएका थिए, 

इटो भन्छन्, ‘म मेसीलाई त्यसरी माया गर्छु, जस्तो ऊ मेरो छोरा होस्। म उनका लागि राम्रो चिताउँछु।’ 

२००९ मा बार्सिलोनाले च्याम्पियन्स लिग, ला–लिगा र कोपा अमेरिका समेत गरी ऐतिहासिक ‘ट्रिबल’ जित्दा मेसीले ३८ र इटोले ३६ गोल गरेका थिए। 

प्रकाशित मिति: : 2020-08-18 19:23:10

प्रतिकृया दिनुहोस्