कुशे औंसीको अवसरमा नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’

कोरोना महामारीको कारणले आफ्ना सन्ततीहरुको पठनपाठनका विषयमा चिन्तामा रहेका अभिभावकहरुका लागी नेपाल टेलिकमले सस्तोमा अफर ल्याएको छ । आफ्ना सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक टेलिकमले बुधबार अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।  

सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५ सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । 

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।  

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ । 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । 

विद्यार्थी अफर अन्तर्गत *१६००# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *१४४१# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सकिनेछ । 

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट कोरोना महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न/गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: : 2020-08-19 08:24:44

प्रतिकृया दिनुहोस्