नेकपा विवाद:

प्रचण्ड निकट सांसदहरुलाई संसदमा भेला हुन निर्देशन, ओलीनिकट सांसदहरु भने बालुवाटार जाने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बालुवाटारमा बोलाएका छन्। सोमबार बिहान ९ बजे भेला बोलाइएको हो।

भेलामा सहभागिताका लागि ओलीले आफू पक्षीय सचिवालय सदस्य, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सांसदलाई खबर गरिएको छ।

आफ्नो आगामी रणनीतिबारे छलफल गर्न र जानकारी गराउन उनले आफू निकट नेताहरूलाई बालुवाटार बोलाएका हुन्।

उता संसदको ल्होत्से हलमा ओलीविरोधी खेमाका सांसदहरुले आगामी रणनीतिहरुबारे छलफल गर्ने भएका छन्।

नेकपाका १७४ मध्ये ९० जना सांसदहरु प्रस्ट रुपमा ओलीविरुद्ध देखिएका छन्। आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित ९० जना सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासकाे प्रस्ताव आउनुअघि नै प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गरेका थिए। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि चुनाव घाेषणा गरिएकाे छ। जसकाे चौतर्फी आलोचना भइरहेको छ।

संवैधानिक कानुनका ज्ञाताहरुले भने संविधानले प्रधानमन्त्री ओलीलाई संसद विघटनको अधिकार नदिएको बताइरहेका छन्।

आइतबार नै सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन्। अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन्।

उनीहरूले बहुमत प्राप्त सरकारले तीन वर्ष नबित्दै संसद् विघटन गर्नु संविधानविपरीत भएको जिकिर गरेका छन्। सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्ने उनीहरुको मत छ।

यता आइतबार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। नेकपाले केन्द्रीय कमिटी बैठक पुस ७ गतेको लागि बोलाएको छ।

प्रकाशित मिति: : 2020-12-21 07:41:00

प्रतिकृया दिनुहोस्