कोरोनाका कारण क्रिस वोक्सले आइपीएलबाट नाम फिर्ता लिए

इन्डियन प्रिमियर लिग (आइपीएल) सुरु हुनुभन्दा ठिक एक महिनाअघि कोरोना भाइरसको कारण देखाउँदै इंग्लिस अलराउण्डर क्रिस वोक्सले आफ्नो नाम फिर्ता लिएका छन्। उनी दिल्ली क्यापिटल्समा आवद्ध थिए। 

नाम फिर्ता लिएपछि उनको स्थानमा दक्षिण अफ्रिकाका एनरिच नोत्र्जेलाई दिल्लीले आफ्नो टिममा समावेश गरेको छ। 

यसपालि आइपीउल युनाइटेड अरब इमिरेट्स (युएई) मा १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ। प्रतियोगिता १० नोभेम्बरसम्म सञ्चालन हुनेछ। 

वोक्सले नाम फिर्ता लिएको कारण दिल्लीले स्पष्ट पारेको छैन। तर, उनीसँग नजिक रहेका व्यक्तिहरूले कोरोनाका कारण उनले नाम फिर्ता लिएको बताएका छन्। 

दिल्लीले वोक्सका लागि १ करोड ५० लाख रुपैयाँ खर्चिएको थियो। उनको स्थानमा दिल्लीमा समावेश भएका अफ्रिकी तीब्र बलर नोत्र्जे गत सिजन कोलकातामा देखिएका थिए। 

तर, चोटका कारण उनले डेब्यु गर्न पाएनन्। यसपालि उनलाई प्लेइङमा मौका दिने सम्भावना बलियो छ। 

नोत्र्जेले गत वर्ष भारतविरूद्ध टेस्टमा डेब्यु गरेका थिए। उनले ६ टेस्टमा १९ तथा ७ एकदिवसीयमा १४ विकेट लिएका छन्। टि–२० मा उनको नाममा २ विकेट रहेको छ।

प्रकाशित मिति: : 2020-08-19 17:34:54

प्रतिकृया दिनुहोस्