ऋषि पञ्चमीको धार्मिक कथा होइन मर्यादित महिनावारीको कथा सुरु गर्ने कि?

शोभा कार्की

अधिवक्ता

अब पञ्चमीको पूजा होइन रजश्वलाको समयमा छाउगोठमा बस्न बाध्य बनाइएका सामाजिक कुरीति विरुद्ध लड्ने समय आएको छ। यदि सृष्टिको सृजना त्यहिँ  रजश्वलाबाट मात्र सम्भव छ भने किन ऋषि पुकार्दे हिँड्नु? म मेरी आमाको रजश्वलाको कारणबाट मात्र यस संसारमा छु भने रजश्वला हुँदा मेरी आमामाथि गरिने भेदभाव किन नहटाउने? तसर्थ अब छोरी बुहारीलाई पञ्चमीको कथा होइन रजश्वला वा महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने कथा सुनाउने बेला आएको छ।


तीजको अन्तिम दिन ऋषि पञ्चमी। भाद्र शुक्लपक्षको पञ्चमीका दिन वरिष्ठ ऋषि–पत्नी ‘सती–शीरोमणि’ अरुन्धती लगायतका सप्तऋषिको पूजाअर्चना गर्दै तीज पर्वको समापन गरिन्छ। 

विगत वर्षहरुमा दुई महिनाअघिदेखि तीजको दरखाने रौनक हुन्थ्यो। तीजका गीतसंगीतले शहरबजार गुञ्जयमान हुन्थे तर यसपटक कोरोनाको कहरका कारण छिमेकीलाई समेत घरआँगन बन्द भएको छ। पूजाआजा तथा सांस्कृतिक अनुष्ठान घरभित्र नै सीमित बन्न पुगेको छ। 
पञ्चमीको विशेष पूजा पनि विश्वव्यापी महाव्याधिका कारण यसपालि खुम्चिएको छ। 

रजस्वला अवस्थामा स्त्री–जातिले वर्षभरि जानी–नजानी भोजन, अन्न, पानी, बोटबिरुवामा गरेका छुवाछुतहरुबाट दोषमुक्त हुन यो पूजा गरिने धार्मिक विश्वास छ। वैदिक कालमा धर्मराज युधिष्ठिरले भगवान कृष्णसँग सारा पापबाट मुक्त हुने, परमात्मासँग जोडाउने  जानी–नजानी भएका कर्मबाट क्षमा दिने कुनै कथा छ भने सुनाउन अनुरोध गरे। 

युधिष्ठिरलाई सम्बोधन गर्दा भगवान श्रीकृष्णले भनेका छन्, ‘स्त्रीहरु जब रजश्वला हुन्छन्, त्यतिखेर चारै वर्णका पुरुष वर्गले सावधान रहनुपर्ने हुन्छ।’ यसमा देवराज ईन्द्रलाई बम्हहत्याको दोष लागेको थियो। त्यसलाई चार ठाउँमा बाँड्दा स्त्री–जातिले पनि बह्महत्याको एक अंश लिएको धार्मिक कथा छ। ईन्द्रको ब्रम्हहत्याको एक भाग जिम्मा लिएको हुँदा उनले वरदान दिए, ‘जब रजश्वला हुन्छ, त्यसपछि सन्तान उत्पन्न हुन्छन्।  

तब यो बरदानलाई सार्थक तुल्याउनू।’ यो वरदानको प्रसंग समेत यस व्रतकथासँग जोडिएर आएको पाइन्छ। यस प्रकार पञ्चमीको व्रतकथा सुन्दा महिला र रजश्वलासँग प्रत्यक्ष रुपमा जोडिएको छ। 

तीज भन्नासाथ सानो छँदा मेरो बाल–मष्तिस्कमा परेको छापले याद दिलाउँछ– रातो लुगा लगाउने, मन्दिर जाने, नाँच्ने–गाँउने,  मीठो–मीठो परिकारको दर खाने, अनि सबै जना भेला भएर रमाइलो गर्ने। घरधन्दाले कहिल्यै फुर्सद नहुने हजुरआमा र आमाले आराम गर्ने दिनको हो जस्तो लाग्दथ्यो– यो चाड। 

बिस्तारै मेरो मनमा तीज (ऋषि पञ्चमी) प्रतिको धारणा त्यसबेला परिर्वतन हुनपुग्यो, जब ममा पहिलो पटक रजश्वला भयो। त्यसपछि छोरी भएर जन्मिएपछि प्रत्येक महिना मासिकश्राव हुन्छ, त्यो अवधिमा जानी–नजानी गरेका पाप मोचन गर्न तीजको अन्तिम दिन ऋषि–पञ्चमीमा घरनजिकको मनोहरा खोलामा स्थान गर्न जान्थ्यौँ। 

तीन सय ६५ वटा दतिवन दाँत माझ्थ्यौँ। रातो माटो, गोवर, तुलसीको माटोसमेतले नुहाइधुवाई गरी कुशले बारेर चोखो हुन्थ्यौँ। उक्त पापबाट मुक्त हुन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेर सम्पूर्ण कथा वाचन गर्नुपर्दछ भन्ने कथा सुनेँ। 

त्यसपश्चात् तीजसँगको मेरो रातो  गाढा रंगको प्रगाढ सम्बन्ध प्रत्येक वर्ष पाप पखाल्नकै लागि गर्नुपर्ने पञ्चमीको पूजा सम्झेर फिका बन्दै गयो। मेरालागि प्रत्येक तीज दर खाने, नाँच्ने, गाउँने अनि हजुरआमा र आमाको डरले पञ्चमी नुहाउने र ऋषिको पूजा गर्ने बाध्यात्मक कार्यमा सीमित हुन पुग्यो। 

बिस्तारै बुझ्ने हुँदै गएँ। रजस्वला हुनु कुनै पाप हैन, यो प्राकृतिक मासिक श्राव हो भन्ने थाहा हुँदै गयो। रजश्वलाबिना संसारको सृष्टि संभव छैन भन्ने चेत खुल्यो। तत्पश्चात मलाई लाग्न थाल्यो– ऋषि पञ्चमीको पूजा धर्मशास्त्रको आडमा महिलालाई हेप्ने, होच्याउने र दमन गर्ने गरेको विभेदको एकस्वरुप हो।

पुरातन समाजमा हाम्रो धर्म, संस्कृति र समाजले महिलालाई रजश्वला हुनुपुर्व कन्या अथात् कुमारीलाई शुद्ध र पवित्र मान्थ्यो। त्यस कालमा रजश्वला हुनुपूर्व नै छोरीको विवाह गरिदिएमा अधिक धर्म मिल्ने भएकोले मासिकश्रावअघि नै विवाह गरी दिने चलन थियो। 

बिस्तारै उक्त चलनमा परिर्वतन आउन थाल्यो तथापि रजश्वला पश्चात महिलाहरु अपवित्र हुने भने कायमै रह्यो। नारीलाई रजश्वला हुँदा नछुने भएको, पर सरेकोजस्ता उपमा दिइन थालियो। अनि मासिकश्रावको अवधिभरिको चार–पाँच दिन कसैले नछुने गरी छाउगोठहरुसमेत बनाएर राखिने प्रथाको थालनी भयो। 

अहिले छाउपडी प्रथालाई एउटा कुरीतिका रुपमा कानूनले समेत व्यवस्था गरेको छ। यसविरुद्ध आवाज र अभियान उठाउँदै आएको पाइन्छ। थुप्रै छाउगोठहरु भत्काइएका समाचार पनि आउने गरेका छनु तर पनि हाम्रो मनभित्र रहेको छाउगोठ भत्किन सकेको छैन। 

वाल्यकालदेखि नै रजश्वला पाप हो भनेर घरमा शिक्षा दिइन्छ। रजश्वलाको अवधिभरि पुरुषलाई नछोऊ, मन्दिर छुन हुन्न भनेर सिकाइन्छ। रजश्वला भएको बेलामा फलफूलका बोटविरुवाहरुलाई छोइयो भने बोटविरुवाहरु मर्छन् भनी करेसाबारी तथा बगैँचाहरुमा जानसमेत बञ्चित गरिएको रोक लगाइँदै आएको छ। त्यही  सिकाइएको कारण सबै कुराहरु थाहा हुँदाहुँदै पनि अहिले पनि भित्री मनमा कता–कता पाप भन्ने शब्दले गडेर बसेको छ। त्यसैको प्रभावले हामीजस्ता पढेलेखेका, जाने बुझेका महिला पनि अहिलेसम्म त्यस पापमोचन गर्न पञ्चमीको ब्रत गर्छौँ। पञ्चमी नुहाउँदै पूजा लगाउने गर्दै आइरहेका छौँ।

अहिले सरकारले नै रजश्वलालाई प्राकृतिक प्रक्रियाका रुपमा मानेको छ। महिनावारी पाप नभएकाले पञ्चमीको दिन महिलालाई दिदै आएको बिदासमेत कटौती गरेको छ। त्यसैले अब कानूनी रुपमा नै ऋषि पञ्चमी फेरिएको छ। ब्रतलाई पापमोचन गर्ने पर्वको रुपमा होइन, महिनावारीलाई महिलाको शारीरिक अवस्था र प्रकृतिसँग जोडेर हेर्नुपर्छ। यसलाई समयानुकूल कसरी मर्यादित बनाउन सकिन्छ भन्नेतर्फ बहस केन्द्रित हुन थालेको  देखिन्छ। 

दैलेख जिल्लाको छाउगोठमा राखिएकी तुलसी शाहीको २०७४ सालमा मृत्यु भएपश्चात कानूनको अभावमा जाहेरी हाल्न निक्कै कठिन भएको थियो। त्यसपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको ‘मुलुकी अपराध संहिता’ (२०७५ भदौ १ देखि लागू) ले  महिनावारी वा रजश्वलाको समयमा कुनै पनि महिलालाई अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने भनी यसलाई कसुरको दायरमा ल्याउन सफल भयो। 

संहिताको दफा १६८(३) मा महिलाको रजश्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन। यसको उपदफा (४) मा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। उपदफा (५) मा ‘राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने’ भनी स्पष्ट उल्लेख छ। 

कानूनले कसूरको दायराभित्र ल्याए पनि यसको कार्यान्वयन पक्षलाई हेर्दा निक्कै जटिल देखिन आउँछ। यस्तो कार्य एकाघर परिवारका व्यक्तिहरुबाट नै हुने हुनाले यसलाई सजायको दायरमा ल्याउनु ठूलो चुनौतीको रुपमा देखिन्छ। 

वास्तवमा धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा भनेको हाम्रो सम्पत्ति हो। त्यसलाई जर्गेना गर्न सकिएन भने भोलिका पुस्तालाई हामीले हाम्रो संस्कार र संस्कृतिको बारेमा के बताउने ? के सिकाउने? तसर्थ हामीले हाम्रा संस्कृति, संस्कार र परम्परालाई जर्गेना गर्न पनि संस्कार र परम्पराको राम्रा पक्षहरुलाई जोगाउनुपर्छ, नकरात्मक विकृत पक्षलाई विस्थापित गर्दै जान सक्नुपर्दछ। 

संस्कार, संस्कृति भनेको व्यवहार हो। व्यवहारहरु, विचारहरु परिवर्तनशील छन्। धर्म र संस्कृतिको नाममा समाजमा जरो गाडेर बसेका कुरीति र परम्पराकाविरुद्ध अहिले पनि आवाज नउठाए कहिले उठाउने ? धर्मकै नाममा सात वर्षकी गोमा बाम्हणीको ७० वर्षको शिव भट्ट वाम्हमणसँग भएको अनमेल विवाहको स्वस्थानी व्रतकथा कहिलेसम्म अपनाई रहने ?
विज्ञानले प्रमाणित गरिसकेको छ– रजस्वाला कुनै पाप होइन, यो प्राकृतिक प्रकृया हो। 

यदि रजश्वला नहुने हो भने सृष्टिको निरन्तरता संभव छैन। यदि रजश्वलालाई पाप मान्ने हो भने सम्पूर्ण मानव समाज त्यही पापको ‘पिण्ड’ हो। त्यही भएर अब पञ्चमीको पूजालाई पापमोचनको साधन होइन, रजश्वलाको समयमा छाउगोठमा बस्न बाध्य बनाइएका सामाजिक कुरीतिविरुद्ध चेतनामूलक अभियानको अंग बनाएर लड्ने समय आएको छ। रजश्वलाको समयलाई छुवाछुत बार्ने भन्दा पनि सरसफाईलाई प्राथमिकता दिने र त्यस अवधिभर महिलाहरुलाई आराम गर्ने बातावरणको सृजना गर्ने समय आएको छ। आज संसारका धेरै देशहरु लगायत हाम्रै देशका केही संघ सस्थाहरुले पनि रजस्वलाको समयमा कम्तिमा ३ दिन बिदा दिने नियम बनाएका छन। 

यदि सृष्टिको सिर्जना त्यही रजश्वलाबाटै संभव छ भने किन सप्त ऋषि पुकार्दै हिँड्नु ? म मेरी आमाको रजश्वलाको कारणबाट संसारमा छु भने रजश्वला हुँदा मेरी आमामाथि गरीने भेदभाव किन नहटाउने ? तसर्थ अब छोरी बुहारी तथा हाम्रा नया पुस्ताहरुलाई पञ्चमीको कथा पढाउने होइन, रजश्वलालाई कसरी सुरक्षित र मर्यादित बनाउने भन्ने कथा सुनाउने कि ? आज ऋषिपञ्चमीको दिन हामीले यसबारे सोच्नुपर्छ। 

प्रकाशित मिति: : 2020-09-11 08:00:00

प्रतिकृया दिनुहोस्