संसद विघटन: तरगिंत प्रदेश २, कतै विरोध, कतै समर्थन

लोकतन्त्रलाई जरैदेखि उखेल्ने काम भयोः प्रदीप गिरी

संसद विघटन भएपछि प्रदेश–२ तरंगित बनेको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र तरूण दलले सडक आन्दोलन गर्ने भएको छ।

हाल सिरहा दौडाहामा रहेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले संसद विघटन लोकतन्त्रलाई जरैदेखि उखेल्ने काम भएको प्रतिक्रिया दिएका छन् ।

लहानका नेविसंघका केन्द्रीय सदस्य मनोज कोइरालाले सम्पूर्ण नेता कार्यकर्तालाई सडक संघर्षमा उत्रन आग्रह गर्दै भने, ‘संसद विघटन असंबैधानिक कदम भएकाले सबैलाई सडक आन्दोलनमा उत्रन आब्हान गर्दछु।’

कांग्रेसका लहान नगर सभापति सुनिल कुमार महतोले संसद विघटन असंबैधानिक भन्दै विरोध गरे। त्यस्तै नेपाली कांग्रेस सिरहा जिल्ला उपसभापती विष्णु गुप्ता बनियाँले संसद विघटनप्रति आफ्नो विमती भए पनि चुनावसँग कांग्रेस नडराउने प्रतिकृया दिए।

नेकपाका प्रदेश–२ इञ्चार्ज सत्यनारायण मण्डलले संसद विघटन बाध्यात्मक परिस्थिति सिर्जना गरिएको बताए।

संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई टेकेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिश सदर गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान अपर्झट मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पेश गरेका थिए।

प्रकाशित मिति: : 2020-12-20 16:00:00

प्रतिकृया दिनुहोस्